शौचालय गएकी बालिकामाथि सामूहिक बलात्कार
राजविराज : शौच गर्न रातको समयमा घरबाट बाहिर गएकी १६ वर्षीया एक बालिकालाई छिमेकमै रहेका युवाहरुले सामूहिक बलात्कार गरेका छन् ।
ट्याक्टरमा काम गर्ने दुई युवकले घरबाट ५ सय मिटर टाढा एकान्त बगैंचामा लगेर सामूहिक बलात्कार गरेको बताइएको छ । बालिकालाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मो. इद्रिस र अर्का १५ वर्षीयमाथि प्रहरी समक्ष उजुरी दिएको छ ।
शौचालय गएकी छोरी अवेरसम्म कोठामा नफर्केपछि खोज्दै गएका पीडितका बुवाले टर्च बालेपछि दुवैजना फरार भएको बताइएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी महेन्द्रकुमार मिश्रा अनुसार दुवैजनाको खोजी कार्य भइरहेको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।