तीजको दर
म त्यो बेला १२ वर्षको थिएँ। दुई दिदीको एउटा मात्र भाइ। घरको एउटा मात्र छोरो। हाम्रो गाउँको मुखिया उमेश गिरीको वंशजको बिँडो थाम्ने भार बोकेको केटो केशव गिरी म।
रेडियोमा तीजका गीत घन्किरहेका थिए। आमाले घरमा उर्दी सुनाउनुभयो- माइली दिदी र म गएर ठुल्दिदीलाई दर खान माइती लिएर आउने।
धेरै शिक्षक महिला भएरै होला सायद, विद्यार्थीलाई पनि तीजको छुट्टी मिल्यो। ठुल्दिदीको घर जम्माजम्मी चार घण्टाको दूरीमा थियो। दिदीको घरमा लैजाने तीजको भेटी आमाले साँझमै तयार पार्नुभयो। सेलरोटी, मालपुवा, पोते, हरिया राता चुरा, अनि अरू सामग्री राखेर भेटीको पोको तयार भयो। घर छेउकै बाटोमा बस आउँथ्यो। माइली दिदी र मलाई बुवाले भोलिपल्ट खाना खाइवरी बसमा चढाइदिनुभयो।
बस यात्रा रूख गन्दै बित्यो। अल्लारे उमेर, दुई वर्षको मात्र फरक भएर होला, दिदीभाइभन्दा बढी साथीजस्तो थियौं हामी। उमेरमा मभन्दा दुई वर्ष जेठी भए पनि माइली दिदी मभन्दा सानी नै देखिन्थी। धेरैजसो माइली दिदीलाई म हरेक कुरामा जित्ने गर्थें। हिसाबमा त झनै गोल थिई दिदी। मैले सजिलै बिठ्याइँ गर्दा पनि थाहा पाउन्नथिई दिदी। रूख त उसैले बढी देखेकी थिई होला तर मैले फेरि जितेको भन्दै १० रुपैयाँ नि उल्टै मागेँ। यस्तै गर्दागर्दै बस यात्रा टुंगियो।
ठुल्दिदीकी सासूआमा त्यसै बिहान आफ्नो माइत हिँडिसकेकी रै’छिन्। सासूका लागि भनी ल्याएको भेटी ठुल्दिदीका ससुरा बाको सामुन्ने राखिदिई माइली दिदीले। गमक्क पर्दै बूढाले पोको खोल्न थाले। भिनाजु भने केही महिनादेखि कतारमा थिए। हरेक दिनजसो फोन आउँछ, सन्चै छन् रे भन्ने कुरा सुनाई ठुल्दिदीले। चार जहानको परिवार, जान चैं किन गएका होलान् अरब भन्ने धेरै चोटि मलाई लागिरहन्थ्यो। सायद ठुल्दिदीलाई अरू सुख दिऊँ भनेरै त होला !
साँझको खानपिन गरी ससुरा बालाई काँडापानी दिँदै भोलि सबेरै माइती जाने कुरो सुनाइन् ठुल्दिदीले।
‘लौ त नि, एक दुई दिन म बूढो नखाई बस्न त सक्छु होला’ भन्दै बूढा ससुराले व्यंग्य हाने पनि दिदीले सुनेको नसुनेझैं गरी सुत्ने बन्दोबस्त मिलाउन थाली।
उमेरमा निकै अन्तर थियो ठुल्दिदी र मबीच। खासै कुराकानी हुन्नथ्यो। किन हो कुन्नि, आमाको भन्दा ठुल्दिदीको डर लाग्थ्यो मलाई। सानो बेला एक फेर चुट्नु चुटेकी थिई ठुल्दिदीले मलाई, कुन्नि के बिराएर मैले। रिस नाकको टुप्पोमै हुन्थ्यो ठुल्दिदीको।
बतासिँदै रुँदै आएको सानो भाइ देखेर ठुल्दिदीले आँखा मिच्दै सोधिन्, ‘ओइ, के भयो ? नराम्रो सपना देखिस् कि के हो ? ’
हत्तपत्त आँखा नि जुधाउन सक्तिनथेँ म ठुल्दिदीसँग। सायद त्यही भएर होला, ठुल्दिदीले जे जे भन्थी, म लुरुलुरु एक वचन नकाटी मान्थेँ। दिदीले ओछ्यान निकाल्न गाह्रो हुन्छ, बरु ससुरा बासँगै गएर सुत भन्दा मैले चुपचाप टाउको नउठाई हुन्छ भनेँ। दिदीलाई अप्ठ्यारो वा गाह्रो हुने कुनै कुरा नगर्नू भनेर आमाले बिहान पनि सम्झाउनुभएको थियो।
कोठा सानो थियो। टुकी मन्द मन्द बलिरहेको थियो। दिदीका ससुरा घुर्न थालिसकेका रहेछन्। म लुसुक्क एक छेउमा गएर पल्टिएँ। ओल्टेपल्टे गर्दा पनि निद्रा पटक्कै लागेन।
भोलि घर फर्केपछि सब आइमाईहरू दर पकाउन व्यस्त भएको मौकामा साथीहरूसँग त्यो अस्ति आएको विदेशी म्यागेजिन पल्टाउने ठूलै व्यग्रता जाग्यो मलाई। गाउँका ठूला दाइहरू, स्कुलका दाइहरू सबै भीड लगाएर त्यो पत्रिका हेर्दै रातोपीरो भएको आफैंले देखेको थिएँ। कुतुहलताको सीमा भत्काएर एक चोटि पुलुक्क हेर्न भ्याइटोपलेको थिएँ। के देखेँ ठ्याक्कै भन्न नसके पनि बढ्दो उमेरको उत्तेजना थामिनसक्नु भएको आभासचाहिँ थियो।
कुन बेला सुतेँ, कुन बेला सपना देखेँ, सपना थियो कि विपना।
त्यो नि पत्तो थिएन तर अचानक स्खलन भएको आभासले निद्राबाट ब्यूँझिएँ। आनन्द र भयको मि िश्र्रत अनुभव एकै चोटि भयो। बल्ल पो झस्किएँ— औंलाहरू लिंगमा सलबलाइरहेका थिए। मेरा औंलाहरू त ठण्डा थिए, ओठ सुकिसकेको थियो। फेरि ती औंलाहरू कसका थिए मेरो लिंगमा ?
अखम अखम गर्दै ठुल्दिदीका ससुरा बा उता कोल्टे फर्केपछि बल्ल बुझेँ के भएको भनेर। सातोपुत्लो उडेर हो कि, डाँको छोडेर रुन मन लागेर हो कि किन हो कुन्नि म एक्कासि कुदेर ठुल्दिदीको कोठामा पुगेँ। त्यसरी बतासिँदै रुँदै आएको सानो भाइ देखेर ठुल्दिदीले आँखा मिच्दै सोधिन्, ‘ओइ, के भयो ? नराम्रो सपना देखिस् कि के हो ? ’
अवाक् थिएँ म, के गरूँ कसो गरूँ, के भयो, किन भयो, के भन्ने, कसरी भन्ने त्यो नि आफ्नै दिदीलाई उसकै बूढो ससुराको कुरा। सोच्न पनि सकिनँ, बोली नि फुरेन। कडा स्वभावकी दिदीले उल्टै मलाई नै गाली गर्छिन् कि ? मेरो त्रास बुझ्छिन् कि बुझ्दिनन् होला भन्ने डरले मेरो सास झन् फुल्यो, ओठबाट न बोली फुर्यो न त आँखाबाट झरेका आँसु नै थामिए।
मेरो के गल्ती थियो र ? मैले किन डराउनुपर्ने ? के त्यो मेरो उमेरको दोष थियो ? वा नमीठो तर्साउने सपना ? त्यो पाको उमेरको बूढो मान्छेले गर्नचाहिँ के खोजेको भन्नेसमेत बुझ्न सकिनँ मैले। मनमा चिसो थियो एक किसिमको। म नहुँदो हो त के यी बूढाले मेरी दिदीलाई नि यसरी नै दुव्र्यवहार गर्थे होलान् ? केटोलाई नछोडेको यो पातकी कतिसम्म गिरेको रहेछ भन्ने सोचेरै मेरो आङ जिरिंग हुन थाल्यो। घँक्क घँक्क गर्दै बाँकी रात रोएरै बित्यो। कपाल सुम्सुम्याउँदै दुवै दिदीले ‘सुत भाइ सुत, भोलि सखारै हिँड्नु छ’ भन्दै लोलाए।
कतिखेर मेरो आँसु सुक्यो याद छैन, याद छ त केवल त्यो तीव्र गतिको जुन गतिले म दिदीहरूभन्दा पहिले नै झोला बोकी बसपार्क पुगेँ। एकै सासमा, खाली पेट, कसैको मुखमा नहेरी, कोहीसित आँखा नजुधाई।
बसभरि निदाएको बहाना गरेँ। दुई दिदीहरू पनि किन हो कुन्नि चुपचाप नै थिए। तीजको गीत घन्किरहेको बसमा तीजको लहरजस्तो केही उमंग देखिएन। सायद बिहानैको झिसमिसेले हो वा निद्राकै झोक भएर हो, सारा संसार शून्यजस्तै लाग्यो मलाई।
घरैअघि बस रोकियो। झोला आँगनमै मिल्काएर, आँगनको गुन्द्री नाघेरै भित्र भान्सामा बत्तासिएँ म। आमाको पछ्यौरीमा मुख छोपेर डाँको छोडेर रोएँ म फेरि।
‘के भयो तँलाई कान्छा ? ’ आमाले अत्तालिँदै सोध्नुभयो। म झनै डाँको छोडेर रुन थालेँ।
‘हैन के भयो भन्या ? को मरेको छ र यसरी एकाबिहानै रुन ? दिदीहरूले केही भने ? कि पैसा खोसिदिए ? के भयो भन् त झट्टै कान्छा’ भन्दै आमाले आफूसामु तानेर आँसु पुछ्दै सोध्नुभयो।
कसरी भनेँ, के के भनेँ याद छैन मलाई तर सारा ब्रह्माण्डका तारा झिलिमिली हुने गरी दुवै गालामा दुई थप्पड बज्रिएको याद छ।
‘दिदीको घर भाँड्ने कुरा गर्न लाज लाग्दैन तँलाई ? के बोलेको त्यस्तो ? हैन मेरै कोखबाट निस्केको सन्तान होस् तँ ? कुन साइतमा जन्माएछु यो कुजातलाई ! लौन प्रभु ! यस्तो पतीत कुसन्तान हुनुभन्दा बरु मरेकै बेस्। यस्तो अनर्थ सुन्नुअघि म किन मरिनछु प्रभु’ भन्दै आमा बिलौना गर्न थाल्नुभयो।
बर्बर आँसु वर्षाको झरीझैं बर्सिरहे मेरा आँखाबाट। दिदीहरू लुगा फेरेर आमालाई भान्सामा सघाउन आइपुगे। म हामफाल्दै, हुत्तिँदै बाहिर निस्किएँ। आमा भने माथा पिट्दै, छाती पिट्दै, मलाई सरापिरहनुभएको दृश्य आँखासामु नै छ अझै पनि।
मैले त्यो दिन कहिल्यै बिर्सिन सकिनँ। जति कोसिस गर्दा पनि मेरो आमालाई माफी दिन सकिनँ मैले। जसले मेरो शोषण गर्यो, त्यो त पापी नै थियो तर त्योभन्दा पापी त मेरी आमा नै भइन् जसले ममताको सागरलाई एक कुनामा थन्क्याएर कुरीति र कुकर्म ढाकिदिइन्। मेरो छरिएको आत्मसम्मानलाई समेट्नुको साटो, मेरो चहर्याइरहेको आलो घाउमा मल्हम लगाउनुको साटो उल्टै मलाई छताछुल्ल हुने गरी मिल्काइदिइन्। ममताको खानी भनी चिनिने आमा किन मेरो लागि श्रापतुल्य भइन् ? मेरो आत्मा रोएको बेला मेरी आमाको छाती पोलेन होला र ?
किन चड्काइन् मलाई आमाले थाहा भएन। तर यति थाहा छ, मैले फेरि कहिल्यै उनलाई विश्वास गर्न सकिनँ। एउटा निश्चल, निष्कपट, विवश र कमजोर केटालाई त यस्तो शोषण गर्छ, पीडा खप्नुपर्छ भने के होला गाउँसमाजका दिदीबहिनीको अवस्था ? कैयौं निर्मला पन्तहरू यसै मिल्काइएका छन् यहाँ, मजस्ता कैयौं केशव गिरी नि :शब्द बनाइएका छन् यहाँ। कैयौं आमा, बाबु, ससुरा, दिदी, बहिनीहरू नै न्यायको मुख बन्द गरिरहेका छन् यहाँ। इज्जतको नाममा लत्याइएका कैयौं सन्तान अन्यायको सिकार भई मरिरहेका छन् यहाँ।
आज म एक छोरीको पीता भएको छु। धेरै संवेदनशील अभिभावक छु जस्तो लाग्छ। सायद त्यो तीजको दरको नमीठो स्वाद मेरो जिब्रोमा अझै अड्किएको छ। आफ्नी छोरीको हरेक अभिव्यक्ति ध्यानपूर्वक सुन्छु म। जुन गल्ती मेरी आमाले त्यो दिन गरिन् मेरो कुरा सुन्न नचाहेर, त्यो म कदापि दोहोर्यााउँदिनँ भन्ने अठोट लिएको छु आफैंसँग।
सधैं सोचेर घोत्लिरहन्छु। के सबै पीडित छोराछोरीको पीडासँग अबुझ भइदिन्छन् आमाबाबुहरू ? त्यो दिन आमाले किन केही सुन्नै चाहनुभएन ? किन सोध्नुभएन मलाई बिस्तारमा ? बुझेरै पनि किन अबुझ बनिदिनुभयो आमा त्यो दिन ? मेरो लागि साँध भएर किन उभिइदिनुभएन आमा ? मेरो बचाउमा किन अघि सर्नुभएन आमा ?
म सोच्दै गर्छु, अझै अनि मेरी छोरीको निश्छल अनुहारमा झल्किने भरोसा र सुरक्षा देखेर ढुक्क हुन्छु। अहँ, म कदापि पनि मेरी आफ्नी आमाजस्तो अभिभावक बन्न चाहन्नँ।
नर्सिङ क्षेत्रमा अध्यापनरत @UshRebel अनेक विषयमा कलम चलाउँछिन्।