महिलाको बजारभाउ
‘तिम्रो मोल कति हो ? ’ भनेर दलाल अथवा उपभोक्ताले सोधेन भने स्वाभाविक मानिँदैन, देहव्यापार केन्द्रमा। वर्ण, कपाल, कानको लोती, आँखीभौं, ओठ, चिउँडो, घाँटी, स्तन हुँदै नाइटोदेखि नितम्बसम्मको मोल गणना गरेर एकमुष्ठ तोक्ने गरिन्छ; महिलाको बजारभाउ। मानव अंग तस्करले महिला–पुरुष दुवैका अंगमा आँखा बराबर गाड्ने गरे पनि अंग विच्छेद नगरीकनै तिनको परख गर्ने, मोल तोक्ने र खरिद्ने काम मूलत : महिलामाथि गरिन्छ। ठूला सहरका गल्लीपिच्छे महिला देहव्यापार केन्द्र भेटिनु र ‘एडल्ट फिल्म इन्डिस्ट्री’मा महिला ‘ श्रमिक’ले आकर्षक मूल्य पाउनुले पनि महिलाको बजारभाउ ‘उच्च’ छ भन्ने देखाउँछ।
दासप्रथाको बाछिटा
महिलाको मोलबारे चर्चा गर्दै गर्दा मानव बेचबिखनको इतिहाससँग जोडेर यसलाई हेर्नुपर्ने हुन्छ किनकि मानव बेचबिखन दासप्रथाबाट नि :सृत प्रथा हो।
हरुवाचरुवा, हलियालगायत नेपालमा आजका मितिसम्म फाट्टफुट्ट अभ्यास हुने व्यवस्थालाई दासप्रथाको अवशेष मानिन्छ। कुनै बेला दासप्रथा संसारभरि व्याप्त थियो। युनान, चीन, रोम, बेबिलोन, पर्सिया, इजिप्टलगायत सबै प्राचीन सभ्यतामा दासप्रथा अभ्यास हुन्थ्यो। प्राचीनतम सभ्यतामध्येको एक हुनुको नाताले भारतीय उपमहाद्वीपमा पनि दासप्रथा थियो। यसको प्रमाण प्राचीन हिन्दू धर्मग्रन्थमा यत्रतत्र पाइन्छन्।
प्राचीनतम् ग्रन्थ मानिएको ऋग्वेद र वैदिक कालका ब्राह्मण, उपनिषद्लगायत ग्रन्थमा दासप्रथाबारे विभिन्न सन्दर्भमा चर्चा गरिएका छन्। ऋग्वेद (८।५६।३) को एउटा सन्दर्भमा भनिएको छ, ‘तिमीले मलाई एक सयवटा गधा, उन भएका एक सयवटा भेडा र एक सय दास भेटी चढायौ।’ ऐतरेय ब्राह्मण (३९।८), कठोपनिषद् (१।१।२५), वृहदारण्यकोपनिषद् (४।४।२३), तैत्तिरीय संहिता (२।२।६।३) लगायत ग्रन्थमा पनि दासप्रथाबारे उल्लेख छ (पाण्डुरंग वामन काणे, धर्मशास्त्र का इतिहास–भाग १, सन् १९९२, पृ. १७२–७३)। यी सन्दर्भले हामी बसोबासरत भूखण्डमा दासप्रथाको इतिहास अत्यन्तै पुरानो रहेको पुष्टि गर्छन्।
दासप्रथा प्रचलनमा रहेको युगमा मानिस मूलत : दुई सामाजिक श्रेणीमा विभाजित थिए— दास र स्वामी। स्वामीले निर्विघ्न उपभोग गर्ने वस्तुसरहको हैसियत थियो, दासको। कुनै बेला स्वामीसरहकै सामाजिक हैसियत भएका मानिस विभिन्न प्रक्रियाबाट दास बनाइए। उनीहरूले तल्लो सामाजिक हैसियत हासिल गरे।
चन्द्रशमशेरले मंसिर १९८१ मा करिया अमलेख गर्न किन आवश्यक छ भन्नेबारे विवेचना गरिएको लामो भाषण आफ्नो नाममा प्रकाशित गराएका थिए। भाषणको मस्यौदा बडाकाजी मरीचिमान सिंह र नायब बडागुरुज्यू हेमराज पण्डितले तथा साफी खरदार रुद्रप्रसाद राजभण्डारीले गरेका थिए। भाषणमा चन्द्रशमशेरले हिजोका दिनमा मानिस कुन तरिकाबाट दास बनाइए भन्नेबारे संक्षेपमा चर्चा गरिएको छ।
पहिलो, लडाइँमा हार्ने मानिस र उनीहरूका सन्तान दरसन्तानलाई जित्नेले करिया (दास) बनाएको उल्लेख गर्दै भाषणमा भनिएको छ, ‘लडाइँ हारी हरुवाहरूको करिया गरिएका हुन् भनी पुराणहरूमा कहिएको छ।’
दोस्रो, ‘दामको लोभले होइन कि पेट पाल्न नसकी प्राणान्त भइरहेका गरिब आमाबाबुले छोराछोरी भन्न नपाई बेच्ने गर्दा’ ती बेचिएका छोराछोरी दास बनेको भाषणमा उल्लेख छ। कतिपय हरितन्नम धन जोहो गर्न आफैंलाई बिक्री गरेर दास बन्न मञ्जुर गर्ने गर्थे। इतिहासकार डा. महेशराज पन्तले अंग्रेजी संवत्को १५औं र १६औं शताब्दीताका तिरहुतमा आफैंलाई बिक्री गरेर मानिसहरूले दास बन्न मञ्जुर गरेका संस्कृत भाषाका केही लिखत प्रकाशमा ल्याएका छन् (द स्टेट, द ल, एन्ड एडमिनिस्ट्रेसन इन क्लासिकल इन्डिया (१९९७)मा प्रकाशित पन्तको लेख ‘सिक्स फिफ्टिन्थ एन्ड सिक्टिन्थ–सेन्चुरी डिड्स फ्रम तिरहुत रेकर्डिङ द पर्चेस अफ स्लेभ्स’, पृ. १५९–१९४)। तीमध्येको एउटा लिखतमा मणि नाम गरेकी एकजना शुद्र महिलाले आफूसहित छोरी मणिकीलाई चार टंकमा साधुपाध्याय उपाधिधारी रूपधरा महाशय नाम गरेका व्यक्तिलाई बिक्री गरेको उल्लेख छ (उही, पृ. १६६–१६८)।
माथि उल्लेख गरिएका दुईवटा ‘ज्यू मासिनाको बाटो’ अर्थात् दास बनाइने तरिकाबाहेक अन्य तरिका पनि रहेको, तर ती तरिका साह्रै निषिद्ध किसिमको रहेको चन्द्रशमशेरले उल्लेख गरेका छन्। ती तरिकाबारे भाषणमा उनले खुलाएकाचाहिँ छैनन् (१९८१ सालको करिया अमलेख गर्ने स्पिच, नेपाल कानुन आयोग, पृ. ४)।
चन्द्रशमशेरले भाषणमा छुटाएका दास बन्ने अन्य बाटोबारे प्राचीन ग्रन्थहरूमा प्रशस्तै चर्चा गरिएको छ। यस्तो चर्चा गर्नेहरूमध्ये आचार्य कौटिल्य एक हुन्। उनले पाँच प्रकारका दासबारे चर्चा गरेका छन्।
पहिलो, ध्वजाहृत अर्थात् युद्धमा पराजित भएर बन्दी बनाइएकाहरू। दोस्रो, आत्मविक्रयी अथवा आफूलाई राजीखुसीले बेच्नेहरू। तेस्रो, उदरदास अर्थात् दासदासीबाट जन्मिएका गर्भदासहरू। चौथो, आहितिक अर्थात् ऋण तिर्न नसकेपछि दास बनेकाहरू। र पाँचांै, दण्डप्राणित अर्थात् निश्चित अपराध गरेबापत राज्यबाट सजाय पाएर दास बनेकाहरू (उही, पृ. १७४)।
सबै प्रकारका दासलाई स्वामीले आफ्नो सेवासु श्रुवामा निरन्तर खटाउने, इच्छा लागेको मानिसलाई दान दिने अथवा बिक्री गर्ने अधिकार राख्थे। आर्यवत्र्यमा आजका मितिसम्म जारी मानव बेचबिखनको लहरो खोज्दै जाँदा हामी वैदिक साहित्यले वर्णन गरेको युगसम्म पुग्छौं।
दासप्रथासँग गाँसिएको मानव बेचबिखनलाई ठूलो आयतनमा अत्यन्तै क्रूरतम ढंगले दोहन गर्ने काम युरोप र अमेरिकाका शासक तथा व्यापारीले पछिल्लो समय गरे। उनीहरूले अफ्रिकी मुलुकहरूमा उपनिवेश कायम गरे। बन्दुकको आडमा त्यहाँका रैथानेलाई दास बनाएर खानी, कृषि, उद्योगधन्दा आदिमा काम लगाउने र ठूलो संख्यामा दासहरूलाई विभिन्न ठाउँका हाटबजारमा लगेर बिक्री गर्ने काम गरे। ल्याटिन अमेरिकामा पनि उनीहरूले त्यस्तै गरे।
उदाहरणका लागि बोलिभियामा चाँदीको अथाह खानी भएको पहाड पत्ता लागेपछि स्पेनले त्यहाँ उपनिवेश जमाएर खानी सञ्चालन गरेको प्रसंगलाई लिन सकिन्छ। खानीमा पारोलगायत घातक रसायनको अधिक प्रयोग हुने भएकाले त्यहाँ काम गर्न जोखिमपूर्ण थियो। उपनिवेशवादीले खानीमा काम गर्न स्थानीयवासीलाई जोरजुलुम गरे। रसायनको आघातबाट रैथाने श्रमिक सखाप हुने अवस्था आएपछि अफ्रिकाबाट हजारौं दास भित्याए। अमेरिकी इतिहासकार निल फर्गुसनले बँधुवा मजदुर र दास बन्न बाध्य पारिएका बोलिभियाली र अफ्रिकीहरूले भोगेको त्रासदीको भयावह झलक आफ्नो किताब ‘द एसेन्ट अफ मनी’ (२००८) मा प्रस्तुत गरेका छन्। सन् २०१३ मा उत्कृष्ट फिल्म विधातर्फ ओस्कार अवार्ड जित्न सफल फिल्म ‘१२ इयर्स अ स्लेभ’मा पनि मानव बेचबिखन र दासप्रथाको विगतलाई कहालीलाग्दो ढंगले प्रस्तुत गरिएको छ।
दासप्रथा र महिला
दासयुगमा स्वामीहरू दासीप्रति बढी आसक्त हुने गर्थे। दासीले घरायसी काम र खेतीपातीमा पाखुरा बजार्न सक्थे। यसका अतिरिक्त यौनसुख पस्किने र नयाँ दासदासी जन्माएर स्वामीको वैभव बढाउन पनि सक्थे। त्यसैले विजेताले प्रतिशोध भावबाट वशीभूत भएर युद्धमा पराजित पुरुषको कत्लेआम गर्ने गरे पनि उनीहरूका स्त्रीलाई दासी बनाउने चलन यत्रतत्र थियो।
ध्वजाहृत दासप्रथाबाट महिला बढ्ता प्रताडित हुन्थे भन्ने विभिन्न उदाहरणबाट पुष्टि हुन्छ। सन् २०१८ मा सार्वजनिक भएको भारतीय फिल्म ‘पद्मावत’मा पनि यसको झल्को दिइएको छ। दिल्लीको खिल्जी राजवंशका शासक अलाउद्दिनले उत्तर भारतका रजपुतद्वारा शासित मुलुक सर गर्दा पुरुषको हत्या गरी उनीहरूका स्त्रीलाई दासी बनाउन खोजेका थिए। अलाउद्दिनको योजना विफल तुल्याउन त्यहाँका महिलाले सामूहिक आत्मदाह गरेको (सती गएको) दृश्य फिल्ममा देखाइएको छ, जुन जेम्स टोड्सले सम्पादन गरेको राजस्थानको वंशावलीलगायत विवरणसँग मिल्दोजुल्दो छ।
पराजित क्षेत्रका स्त्रीप्रति चाँगेज खाँको नियत पनि खिल्जीकै जस्तो थियो। ‘शत्रुपक्षमाथि विजय हासिल गर्दा, उनीहरूलाई लखेट्दा, उनीहरूको जायजेथामाथि लुटपाट मच्चाउँदा, उनीहरूका प्रियजन आँसुमा डुबेको देख्दा, उनीहरूका घोडा कुदाउँदा, उनीहरूका स्वास्नी र छोरीहरूलाई अँठ्याउँदा जत्तिको आनन्द मलाई अरू केही गर्दा पनि आउँदैन’ भनी खाँले भनेको कुरा स्मरण गर्नु यहाँ वाञ्छनीय हुन्छ (फ्रान्सिस फुकुयामा, द ओरिजिन्स अफ पोलिटिकल अर्डर, सन् २०११, पृ. ७६)।
युद्धमा पराजित योद्धा मारिन र स्त्री दासी बनाइन योग्य छन् भन्ने संकेत प्राचीन हिन्दू धर्मग्रन्थमा पनि पाइन्छन्। उदाहरणका लागि महाभारतको मौसलपर्वमा अर्जुनको सुरक्षामा रहेका द्वारकाका स्त्रीलाई डाँकाले लुटेर लगेको प्रसंगलाई लिन सकिन्छ। यदुवंशीले काटमार गरेर एकअर्कालाई सिध्याएपछि र द्वारका समुद्रमा डुबेपछि त्यहाँका अनाथ बालबालिका, वृद्धवृद्धा र स्त्रीलाई लिएर अर्जुन हस्तिनापुर फर्किंदै हुन्छन्। बाटोमा पञ्चनन्द भन्ने देशमा वि श्राम गर्न भनेर रोकिन्छन्।
अर्जुन र उनका केही सैनिकको सुरक्षाघेरामा रहेर ठूलो संख्यामा स्त्रीहरू आएको चाल पाएपछि डाँकाले लुटपाट मच्चाउने निश्चय गर्छन्। स्त्रीहरूलाई वेष्ठित गरेको सुरक्षा घेरामा हमला गरेर उनीहरूले अर्जुनलाई निरीह साबित गरिदिन्छन्। त्यसपछिको घटनाबारे महाभारतमा भनिएको छ, ‘(अर्जुनलगायत) सबै योद्धाको आँखैअगाडिबाट डाँकाहरूले ती सुन्दरी स्त्रीहरूलाई चारैतिरबाट घिसार्दै लगे। डाँकुहरूको स्पर्शको भयले (घिसारिने भयले) अन्य स्त्री चुपचाप उनीहरूसँग गए (मौसलपर्व, ७।५९)।’
ध्वजाहृत दासप्रथाबाट सर्वाधिक पीडित महिलाहरू दासप्रथाका अन्य रूपबाट पनि बढ्तै पिल्सिएका थिए। कुनै पुरुष आत्मविक्रयी दास हुनुअघि उसले आफूसँग भएका मूल्यवान् वस्तु त्यसअगावै बिक्री गरिसकेको हुनुपर्छ। यसो गर्ने क्रममा उसले आफ्नी स्त्रीलाई बिक्री गरेर दासी बन्न पठाइसकेको हुनुपर्छ। आफैंलाई धितो राख्नुअघि पुरुषले आफूसँग भएका जायजेथा धितो राख्ने क्रममा आफ्नी स्त्रीलाई पनि लिलाम गरिसकेको हुनाले आहितिक दासको सन्दर्भमा पनि महिलाले आत्मविक्रयी दासकै नियति भोग्नुपर्छ। उदरदासको सन्दर्भमा भने महिला र पुरुष दुवै बराबर पीडित हुने गर्थे। दण्डप्राविण दास बनाइने सन्दर्भमा चाहिँ पुरुष महिलाभन्दा बढ्ता प्रताडित हुन्थे भन्ने लख सजिलै काट्न सकिन्छ।
प्राचीन ग्रन्थहरूमा पनि दान दिइने अथवा बिक्री गरिने दासदासीबारे चर्चा गर्दा दासीकै प्रसंगलाई बढ्ता महत्व दिइएबाट दासप्रथाको केन्द्रमा महिला थिए भन्ने अझ पुष्टि हुन्छ। छान्दोग्योपनिषद् (७।२४।२) मा भनिएको छ, ‘यो संसारमा मानिसहरू गाई र घोडा, हात्ती र सुन, पत्नी र दासी, खेत र घरको महिमा गाउने गर्छन्।’ ऐतरेय ब्राह्मण (३९।८)मा एकजना राजाले आफ्नो राज्याभिषेक गराउने पुरोहितलाई १० हजार दासी र १० हजार हात्ती दान दिएको वर्णन गरिएको छ (पा.वा. काणे, उही, पृ. १७३)। कुरुक्षेत्रको युद्धमा कर्णले आफूलाई अर्जुन भएको ठाउँ देखाइदिने व्यक्तिलाई ‘अपार धनसहित सुनको हारमा सजिएका मगध देशका सयजना दासी दिन्छु’ भनी लोभ्याएको प्रसंग महाभारतमा छ (कर्णपर्व, ३८।२ र १८)।
दासीको दोहन
दासप्रथामा दासहरूका निम्ति विभिन्न जिम्मेवारी छुट्ट्याइएका हुन्थे। नारद (अभ्युपेत्याशु श्रूषा)का अनुसार दासले घर बढारकुँढार गर्ने, फोहोर सफा गर्ने, बाटो र गाईगोठ सफासुग्घर राख्ने, स्वामीको गुप्तांग कन्याउने अथवा स्पर्श गरिदिने, मलमूत्र फ्याक्नेलगायत काम गर्नुपर्थ्यो (६।७)। पाखुरा बजार्ने र नंग्रा खियाउने काम दास र दासी दुवैले गर्न सक्छन्। तर स्वामीको गुप्तांग स्पर्श गर्ने कामका लागि दासी बढ्ता उपयुक्त हुन्थे। स्वामीहरूले दासीको श्रमसँगै यौनिकता पनि दोहन गर्न पाउँथे। त्यसैले दासयुगमा दासीको बजारभाउ स्वाभाविक रूपमा बढी थियो।
घरमा काम गर्ने दासीले बहुस्त्रीगामी स्वामीलाई यौन तृप्ति दिन आफूलाई हरदम तयार राख्नुपर्थ्यो। महाभारतमै यस्ता अनेकन उदाहरण पाइन्छन्। गान्धारी गर्भवती भएको बेला ठूलो पेटका कारण उनलाई असहज भएपछि धृतराष्ट्रले खोपीमा काम गर्ने एउटी वैश्य सेविकामार्फत यौन तृप्ति हासिल गरेका थिए। ती सेविकाबाट जन्मिएको छोरा पछि युयुत्सु भनेर कहलिए (आदिपर्व, ११४।४१–४४)। सेविकाले त आफूलाई स्वामीसामु पस्किन तत्पर रहनुपर्ने समयमा दासीहरूको अवस्था कस्तो थियो होला भन्ने अनुमान सहजै लगाउन सकिन्छ।
दासीसँग स्वामीको मैथुनलाई वैधानिकता दिलाउन तदनुरूपको आचार र कानुन तय गरिएका थिए। आफ्नो शरीर भोग्न स्वामी आइलाग्नु दासीका निम्ति एक किसिमले सुखद हुन्थ्यो। स्वामीसँगको समागमबाट सन्तान जन्मिए दासीलाई दासत्वबाट छुट्कारा मिल्थ्यो। यसको संकेत कौटिल्य (३।१३) र कात्यायन (७२३)ले गरेका छन्। उनीहरूका अनुसार स्वामीले दासीबाट सन्तान जन्माएमा दासी र सन्तान दुवैलाई दासत्वबाट मुक्ति मिल्थ्यो (पा.वा.काणे, उही, पृ. १७४)। चन्द्रशमशेरले पनि आफ्नो भाषणमा नेपालमा समेत यस्तै कानुन अभ्यासमा रहेको बताएका छन्। ‘मालिकबाटै जन्मेको बालक ता ऐनले सरासर त्यसै पार भइहाल्दछ’ (पृ. १५) भनी उनको भाषणमा उल्लेख भएबाट नेपालमा अभ्यास हुने करियाप्रथामा प्राचीन दासव्यवस्थाको प्रभाव प्रस्टसँग झल्किएको देखिन्छ।
दासीको यौनिकतालाई मनलाग्दी उपभोग गर्ने स्वामी घरका स्त्री र दासको यौन जीवनमा चाहिँ निर्मम भएर कडाइ गर्ने गर्थे। दासले मालिकको घरका स्त्रीसँग शारीरिक सम्बन्ध राखे मृत्युदण्ड दिइन्थ्यो। जंगबहादुर प्रधानमन्त्री भएको बेला जारी मुलुकी ऐन, १९१० को ‘कमाराको’सम्बन्धी महलको दफा १ मा पनि यस्तै भनिएको छ, ‘कमाराले आफ्ना षसम्का स्वास्नि छोरि वुहारिको करणि गरेछ भन्या जवरजस्तिले भया पनि षुसि राजिले भया पनि तेस्ता कमारलाइ काटि मारि दिनु।’
यौन सन्तुष्टि लिनुका अतिरिक्त दासीलाई स्वामीले वेश्यावृत्ति प्रतीत हुने व्यवहारमा पनि सरिक गराउँथे। अन्य पुरुषसँगको समागमबाट दासीले सन्तान पाए त्यस्ता सन्तानलाई ती पुरुषले ऐनबमोजिम मोल तिरी अमलेख गराउन पाउने व्यवस्था चन्द्रशमशेरले करिया प्रथा उन्मूलन नगर्दासम्म थियो। यसबारे चन्द्रशमशेरले भाषणमा भनेका छन्, ‘तिनबाट जन्मेको बालक करियाको करियै रही आफूले बेचबिखन गर्न पाइने हुन्छ भन्ने क्षुद्रबुद्धिले कमारीलाई त्यस्तो (गरिब) लोग्ने खोजी दिने पनी कोही मालिकहरू गर्दा रहेछन्... कमारीहरूलाई वेश्याको चालमा लाग्नुपर्ने गराउँदा रहेछन् (पृ. १५)।’
त्यति बेला दासदासी उत्पादन गर्ने कारखानाका रूपमा समेत दासीको दोहन हुन्थ्यो। दासीले जति बेत जन्माइन्, मालिकलाई उति फाइदा ! बेतैपिच्छे छोरी जन्माइन् अझ काइदा हुन्थ्यो। यसका लागि कमारीलाई धेरै पुरुषसँग समागम गर्न बाध्य पारिन्थ्यो भन्ने लख स्वयं चन्द्रशमशेरले काटेका छन्। ‘यस्तो हुन लागे पछि कमारीबाट धेरै छोराछोरी होऊन् भन्नाका लागि गाईलाई साँढे लाएझैं कमारीलाई पनी जोडा फेरी फेरी दिने पनी कहिलेकाहीँ मालिकहरू गर्दा हुन् भन्नामा के आश्चर्य ? ’ उनले भनेका छन् (पृ. १५)।
स्वामीलाई दासीबाट बढी मुनाफा हुने भएकाले नेपाली बजारमा दासीको दरभाउ बढ्ता थियो। मुलुकी ऐन, १९१० मा कमारा–कमारीसम्बन्धी विवाद चर्किएमा उनीहरूको मोल भराएर मुद्दा सल्टाउने विकल्प प्रस्तुत गर्ने क्रममा दासदासीको दरभाउ तोकिएको छ। मुलुकी ऐनको ‘ज्यू मासन्या बेचन्या’सम्बन्धी महलको दफा ४ मा तीन वर्षभन्दा मुनिको कमाराको २० र कमारीको २५ रुपैयाँ; तीन वर्षदेखि छ वर्षसम्मका कमाराको ३० र कमारीको ३५ रुपैयाँ; छ वर्षदेखि १२ वर्षसम्मका कमाराको ५० र कमारीको ५५ रुपैयाँ; १२ वर्षदेखि ४० वर्षसम्मका कमाराको सय र कमारीको १२० रुपैयाँ; ४० वर्षदेखि ५० वर्षसम्मका कमाराकमारी दुवैको जनही ६०÷६० रुपैयाँ; ५० वर्षदेखि ६० वर्षसम्मका कमाराकमारी दुवैको जनही ५०÷५० रुपैयाँ दरभाउ तोकिएको छ। बजारले स्वतन्त्र रूपमा तोक्ने दासीको बजारभाउ राज्यले तोकेभन्दा निकै बढी हुन्थ्यो भन्ने तथ्य अन्य दस्तावेज अध्ययन गर्दा स्पष्ट हुन्छ (महेशचन्द्र रेग्मी, थ्याच्ड हट्स एन्ड स्टको प्यालेसेस, सन् १९७८, पृ. १२७–२८)।
बजारभाउका पीडित
मानव बेचबिखनविरुद्ध विश्व समुदाय बढी संवेदनशील हुन थालेको छ। गरिब देशका मानिसलाई ‘आधुनिक दास’ बनाउन गैरकानुनी रूपमा सम्पन्न देशतिर लैजाने प्रवृत्ति निरुत्साहित गर्न विभिन्न मुलुकबीच सामूहिक प्रयत्न हुन थालेको छ।
मानव बेचबिखनसम्बन्धी तथ्यांकमा आँखा लगाउने हो भने यसभित्रको मूल समस्या छर्लंग हुन्छ। उदाहरणका लागि राष्ट्रिय मानव अधिकार आयोगले सन् २०१८ मा निकालेको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन ‘ट्राफिकिङ इन पर्सन्स इन नेपाल’लाई लिन सकिन्छ। यसले पनि मानव बेचबिखनका वास्तविक पीडित महिला हुन् भन्ने किटान गरेको छ।
प्रतिवेदनअनुसार सन् २०१३÷१४ मा उद्धार गरिएका कुल दुई सय ९६ मानव बेचबिखन पीडितमध्ये सबै महिला थिए। त्यसपछिका वर्षहरूमा यस्ता पीडितमध्ये महिला ८७.१ प्रतिशत (२०१४÷१५), ९९.४ प्रतिशत (२०१५÷१६), ९९ प्रतिशत (२०१६÷१७) र ७८.२ प्रतिशत (२०१७÷११८) थिए। प्रतिवेदनले महिला बेचबिखनभित्रका विभिन्न जोखिमबारे पनि संकेत गरेको छ। सन् २०१२ यता यौन हिंसा गर्ने नियतका साथ भारततिर बेचबिखन गरेर लगिने नेपाली चेलीको संख्या उल्लेख्य वृद्धि भएको चित्र यसले प्रस्तुत गरेको छ। यसका अतिरिक्त नेपाली महिला काम गर्ने सिलसिलामा मकाउ, हङकङ, जापान, टर्की, जोर्डन, लेबनान, साइप्रस, अफगानिस्तान, माल्दिभ्स र मरिसस बढी जाने गरेको देखिएकाले महिला बेचबिखनलाई निरुत्साहित गर्न तत् मुलुक जाने महिलालाई प्रवेशाज्ञा दिँदा अतिरिक्त होशियारी अपनाउन आवश्यक देखिन्छ। बेचबिखनपीडित महिलाको जातीय संरचना हेर्ने हो भने सबैभन्दा बढ्ता पीडित जनजाति (४९ प्रतिशत) छन्। उनीहरूलाई बाहुन÷क्षेत्री (२९ प्रतिशत), दलित (१५ प्रतिशत) र मधेसी (६ प्रतिशत) महिलाले पछ्याएका छन्। महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दा तत् समुदायका महिलाको आर्थिक र संस्कृति जीवनलाई बढ्ता ध्यान दिन आवश्यक छ।
महिला बेचबिखनलाई निरुत्साहित गर्न तारो बनाउनुपर्ने मूल समस्याचाहिँ यौनिकतालाई लक्षित गरेर तोकिने महिलाको बजारभाउ नै हो। खरिद गर्न योग्य महिलाको वस्तु उसको शरीर मात्र हो भन्ने मान्यताले समाजमा दह्रोसँग जरा गाडेकाले महिलामाथि आकर्षक बजारभाउ लगाउने क्रमले प्राचीन कालदेखि निरन्तरता पाइरहेको छ। यस्तो मानसिकतालाई धराशायी बनाउन महिलाको यौनिकता बिक्री हुने वस्तु होइन भन्ने मान्यता स्थापित गराउन आवश्यक छ। यसका लागि महिलाको सुरक्षित आर्थिक जीवन र सम्मानित सांस्कृतिक जीवन सुनिश्चित गरिनुपर्छ। पैत्रिक सम्पत्तिमा महिलाको समान अधिकार व्यावहारिक रूपमै सुनिश्चित गरेर तथा महिलालाई हीन करार गर्ने संस्कृति, मूल्यपद्धतिमाथि प्रहार गरेर महिलाको बजारभाउ तोक्ने प्रवृत्तिको दीर्घकालीन समाधान खोज्न सकिन्छ।
@sujitmainali ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तकका लेखक हुन्।