हायातका कर्मचारी आन्दोलित
काठमाडौं : हायात रिजेन्सीमा व्यस्थापनले सहमति गरेका र खाइपाइ आएको सुविधा पनि कटौती गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । हायात होटलले भर्खरै सम्पन्न गरेको वार्षिक साधारणसभाबाट कर्मचारीलाई दिने व्यवस्था गरिएको आवास सुविधा कोषमा रकम जम्मा गर्ने व्यवस्था हटाएको, विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने बिमा, विदा सञ्चिती, सुत्केरी विदा सुविधा नदिएको भन्दै बिहीबारदेखि कर्मचारी आन्दोलित भएका हुन् ।
हायात होटलअन्तर्गतको होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालका अनुसार विगतमा गरिएका सहमति र श्रम ऐन २०७४ मा भएको व्यवस्था कार्यान्वयन हुनुपर्ने माग कर्मचारीले राखेका छन् । उनका अनुसार विगतको सहमतिअनुसार कर्मचारीले आवास सुविधा पाउने व्यवस्था छ । यो व्यवस्था अनुसार होटलले मजदुरको आवास कोषमा करिब १६ करोड रुपैयाँ जम्मा गर्नुपर्नेछ । तर, त्यो रकम जम्मा नगरेको र अब कोषमा कुनै रकम नै नपठाउने निर्णय गरेकाले यसको विरोध गरिएको हो । होटलले नाफाको ५ प्रतिशत रकम उक्त कोषमा पठाउने व्यवस्था छ ।
मजदुरलाई होटलले दिन्छु भनेको र दिने सहमति गरेको सुुविधा पनि कार्यान्वयन नगरेपछि बाध्य भएर कर्मचारी आन्दोलित हुनुपरेको दाहालको भनाइ छ । उनका अनुसार बिहीबारदेखि तीन सय कर्मचारीले काम रोकेका छन् । अब माग पूरा नभएसम्म कर्मचारीले काम नगर्ने उनको भनाइ छ ।
होटलले कुल नाफाको ५ प्रतिशतभन्दा बढी रकम मजदुर कोषमा राख्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म यसलाई बेवास्ता गरिरहेको हायातका मजदुरको दाबी छ । होटलले हरेक वर्ष प्रकाशित गर्ने वार्षिक प्रतिवदेनमा यस्तो सुविधा जम्मा गरेको देखाउने, सरकारी निकायमा पेस गर्ने कागज पनि मिलाउने तर व्यावहारिक कार्यान्वयन भने नगरेकोे कर्मचारी बताउँछन् ।
कर्मचारीका अनुसार होटलले हालको वार्षिक ग्रेड ५ प्रतिशतलाई ९ प्रतिशत बनाउने, लामो समय बिरामी भएर कार्यालय आउन नसक्ने अवस्थामा एकमुष्ट पाँच लाख उपचार रकमबापत दिने, सञ्चित विदा र हाल पाउने ३ दिनको पुरुष सुत्केरी विदालाई १५ दिन पुर्याउनुपर्ने माग कर्मचारीको छ । यस्तो सेवा र सुविधा होटलले दिने भने पनि कार्यान्वयन नै नगर्ने समस्या बढेकाले दबाब सिर्जना गर्न आन्दोलित हुनुपरेको कर्मचारीको भनाइ छ ।