नाटकमै मनमगन
काठमाडौं : तीस कटेपछि कुनचाहिँ बाबुआमालाई छोराछोरीको बिहेको चिन्ताले नसताउला र ? रंगकर्मी केदार श्रेष्ठको हकमा पनि त्यही लागू हुन्छ । तीस कटेका उनका अभिभावकले उनलाई विवाहका लागि तीव्र दबाब दिएका छन् तर रंगकर्मले उनलाई बिहेबारे सोच्नै दिएको छैन ।
बिहेबारे प्रसंग झिकेपछि केदार मुसुक्क मुस्काउँदै भन्छन्, ‘नाटकले होइन, मेरो कामले बिहेको बाजा बजाउने चाँजोपाँजो मिलिरहेको छैन ।’ हालै उनीसँग भलाकुसारी गरिरहँदा ‘जुनुको जुत्ता’ नामक सर्ट फिल्मका लागि सोलुखुम्बु जाने तयारीमा व्यस्त थिए उनी । बढीमा बीस मिनेटको यो सर्ट फिल्मको छायांकन उनले सात दिनमा सकाउने योजना बनाए । ‘नयाँ तरिकाले कथा भन्ने रहर लागेर सर्ट फिल्ममा पनि हात हालेको हुँ, नभए मेरो रुचिको विषय नाटक नै हो’, केदार भन्छन् ।
११ वर्षअघि २०६५ सालमा उनले ‘भानुस’ नाटकमा पहिलो पल्ट अभिनय गरेका थिए । अलेक्जेन्डर पुस्किनको द्रुवोवस्की उपन्यासमा आधारित यो नाटक रसियन कल्चर सेन्टरमा प्रदर्शन भएको थियो । शैली थिएटरको प्रस्तुति रहेको त्यो नाटकपछि उनले अन्य नाटकमा पनि अभिनय गरे । तर २०६९ सालपछि उनी नाटक निर्देशनमा बढी केन्द्रित छन् ।
विभिन्न स्कुल, संस्था आदिका लागि तयार गरिएको एक सोको नाटक उनले दर्जनभन्दा बढी निर्देशन गरेका छन् । व्यावसायिक रूपले निर्देशन गरेको नाटक भने पाँचवटा छ । ‘बदरंग’, ‘मान भर्सेस मति’, ‘भोको घर’, ‘भित्ताको नमस्ते’, ‘उपियाँको निबन्ध’ उनले निर्देशन गरेका नाटक हुन् । मान भर्सेस मति नाटकको लेखन उनी आफंैले गरेका थिए ।
केदारको विशेषता भनेको उनका प्रायः सबै नाटक बालकेन्द्रित छन् । भविष्यका नाटक पनि बालबालिकाकै लागि हुने उनी बताउँछन् । उनको विचारमा बालबालिकालाई नाटकमार्फत पढाउनु कहिल्यै नबिर्सिने तरिका हो । त्यसैले उनी विभिन्न स्कुलमा केटाकेटीलाई नाटकबारे प्रशिक्षण गराउन कुदिरहन्छन् । अहिले कीर्तिपुरस्थित राराहिल स्कुलले आफ्नो परिसरमा उपलब्ध गराएको भवनमा नाटकघर बनाएपछि बाल रंगमञ्चका लागि साथीहरु तयार पार्दै छन् केदार । ती उनीहरुले विभिन्न स्कुलमा अभिनयको क्लास गराइरहेका छन् ।
२०६६ सालदेखि सुरु गरिएको राष्ट्रिय बालनाटक महोत्सवको चार संस्करण परियोजनाका संयोजक उनै केदार थिए । शैली थिएटरमा आबद्ध केदारले शैली छाडेपनि बालनाटक महोत्सव चलिरहेको छ । केदारले राष्ट्रिय स्कुल थिएटर महोत्सव सुरु गरेका छन्।
शैली छाडेपछि उनले सुन्धारास्थित काठमाडौं मलको टपमा थिएटर मल (२०७१) स्थापना गरे । सात वर्षको सम्झौता भए पनि त्यहाँ नाटक साढे तीन वर्ष मात्रै मञ्चन हुन सक्यो । नयाँ व्यवस्थापनले घरभाडा दोब्बर बनाएपछि केदारको युवा टिमले व्यवस्थापन गर्न नसकी थिएटर मल बन्द गर्ने निर्णयमा पुग्यो । २०७४ जेठ १५ मा नेपाली रंगमञ्चको समस्या विषयक गोष्ठीसँगै थिएटर मल सदाका लागि बन्द भयो ।
केदार भन्छन्, ‘थिएटर मल भूतले खाजा खाने बेलामा बन्द भयो जस्तो लाग्छ ।’ तत्कालीन संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले काठमाडौंका प्रत्येक थिएटरलाई व्यवस्थापनका लागि १५ लाख रुपैयाँ दिने निर्णय गरे । तर त्यो रकम हात नपर्दै थिएटर बन्द भयो । जब कि केदारको टोलीलाई थिएटर मल चलाउँदा १२ लाख रुपैयाँ घाटा लागेको थियो ।
अहिले उनी कीर्तिपुरको राराहिल स्कुल परिसरमा नाटक कर्मका लागि डेरा सरेका छन् । राजधानीको दूरदराजको कुनामा कसरी चल्ने छ त नाटकघर ? केदार भन्छन्, ‘नाटकघरको चिनारीका लागि केही समय अवश्य लाग्ला तर हामी पूरापूर आशावादी छौं ।’