प्रहरीलाई १० हजार घुस दिन खोज्ने पक्राउ
भैरहवा : प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धान अगाडि नबढाउन भन्दै रुपन्देही मर्चवारी गाउँपालिका १ सेमराका रामराज यादवले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक उमेश जोशीलाई १० हजार रुपैयाँ घुस दिन खोज्दा यादवलाई पक्राउ गरिएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।
प्रहरीका अनुसार यादवले १० हजार रुपैयाँ खाम हालेर दिन खोजेको थिए । केही हप्ताअघि सवारी चेकजाँचको क्रममा प्रहरीले कागजपत्र र भन्सार कागज नभएको दुई वटा युपी ५३ एच २५४५ र युपी ५१ एच ४१६९ नम्बरको भारतीय नम्बरको मोटरसाइकल भैरहवाबाट नियन्त्रणमा लिएर चोरीको गाडीको आशंकामा अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा पक्राउ परेका यादवले मोटरसाइकलको कागजपत्र प्रहरीलाई उपलब्ध गराएका थिए । प्रहरीले अनुसन्धानको पूरा गर्न सम्बन्धित सवारी धनी आवश्यक रहेकोले सवारीधनीलाई उपस्थित गराएर सवारी साधन लैजान भनेको थियो । तर, यादवले प्रहरी निरीक्षक जोशीलाई १० हजार रुपैयाँ घुस दिँदै मोटरसाइकल छाड्न भनेपछि उनी पक्राउ परेका हुन् । यादवलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलमा बुझाइएको एसपी थापाले बताए ।
यादव नापी कार्यालय भैरहवाका पूर्व कर्मचारी हुन् । नापी सर्वेक्षकको रुपमा कार्यरत रहेको बेला यादवले जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियारले उनलाई यसअघि पनि पक्राउ गरेको थियो ।