विद्यालयको जग्गा मिचेर निजी घर
बर्दिबास : जनता मावि बर्दिबास महोत्तरीको ढेड अर्ब बढी मूल्य पर्ने जग्गा अतिक्रमणमा परेको छ। तत्कालिन विद्यालय व्यवस्थापन समिति र स्कूल प्रशासनको लापरवाहीले ९ विघा ९ कठ्ठा जग्गा अतिक्रमणमा परेको हो। अतिक्रमित जग्गामा बस्ती बसेको छ। त्यहाँ ठूलाठूला पक्की घर ठडिएका छन्। ‘२०६२—०६३ को मधेश आन्दोलनपछी बर्दिबास बसोबासको दृष्टिकोणले सबैको केन्द्रविन्दु भयो’, विद्यालयका प्रधानाध्यापक दिलिप तिवारीले भने, ‘जग्गाको मूल्य आकासियो। विद्यालयको जग्गा पनि अतिक्रमणमा पर्यो।’
माओवादी द्वन्द्वकालमा सार्वजनिक जग्गामा झण्डा गाड्ने अभियानले पनि विद्यालयको जग्गा अतिक्रमणमा परेको तिवारीको भनाइ छ। २०१६ सालमा स्थापित यस विद्यालयको जग्गा अतिक्रमणमा परेपछी आर्थिक अभावले विद्यालय सञ्चालनमा समेत समस्या भइरहेको छ। विद्यालयको नाममा साँढे बीस विघा नम्बरी जग्गाको लालपूर्जा छ। शहर र बजार क्षेत्रका बहुमूल्य जग्गाबाट आम्दानी नआउँदा विद्यालय सञ्चालनमा कठिनाई भएको छ।
बर्दिबास नगरपालिका—१ स्थित ३ (क) को कित्ता नम्बर ८ मा पर्ने ५ विघा ७ कठ्ठा साँढे सात धुर र ३ (क) कित्ता नम्बर ९ मा पर्ने १ विघा ४ कठ्ठा १० धुर जग्गा अतिक्रण गरि बस्ती बिस्तार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताए। बर्दिबास नगरपालिका—१४ स्थित २ (क) कित्ता नम्बर १३ को १४ कठ्ठा ४ धुर, कित्ता नम्बर २८ मा पर्ने १ विघा ६ कठ्ठा १५ धुर जग्गा गैरकानुनी रुपमा अतिक्रमण गरी पक्की घर, सटर बनाएको छ।
बर्दिबास बजार क्षेत्रमा पर्ने यस जग्गामा व्यवसायिक प्रयोजनको लागि बिरौटीमा दिएको जग्गामा ठूलाठूला पक्की घर बनेको छ। बिचौलियाले विद्यालयको जग्गा किनबेच गरिरहेका छन्। विद्यालयको जग्गामा पक्कीघर, अर्धपक्की घर र टहरा बनाएर जग्गा हडपिएको छ। बर्षमा मुश्किलले एक हजार रुपैयाँ दिएर विचौलियाले सटर बनाएर सार्वजनिक सम्पती दोहन गरीरहेका छन्।
विद्यालयको जग्गामा १० वटा पक्की दुई/तीन तले घर, १सय २३ वटा अर्धपक्की भुँइतले घर र ७२ वटा टहरा निर्माण गरिएको छ। विद्यालयको जग्गा अतिक्रमण गरेर बजार क्षेत्रमा निर्माण गरिएको पक्की र अर्धपक्की घरको सवालमा घरको मूल्यांकन गरि आउने रकम विद्यालयमा धरौटी स्वरुप रहने छ। विद्यालयले लगाएको शुःल्क तिरी व्यापार गर्न सक्ने प्रावधान बनाइएको छ। विद्यालयले संरचना भत्काउन ३५ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ।
व्यक्तिले भोगचलन गर्दै आएको बर्दिबास नगरपालिका—८ हात्तिलेटमा पर्ने १ (ख) को १३ कठ्ठा ७ धुर जग्गा विद्यालयले हालै खाली गराउन सफल भएको छ। विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको कानुनी स्वामित्व रहेका जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ। जग्गा खाली नगरिए स्थानीय प्रहरी÷प्रशासन र स्थानीय तहको समन्वयमा संरचना भत्काउने तयारी विद्यालयले गरेको छ।