अपांगलाई परिचयपत्र पाउन सकस
बैतडी : दशरथचन्द नगरपालिका–१ का राजेन्द्र भट्टले गत पुस महिनामा अपांगता परिचयपत्रका लागि निवेदन दिए। तर अहिलेसम्म उनले न परिचयपत्र पाएका छन् न कागजपत्र अपुग भएको खबर आएको छ। ‘मेरो दुबै आँखामा समस्या छ। मैले परिचयपत्रका लागि आवेदन दिएको ५ महिना बढी भइसक्यो,’ उनले भने,‘ तर, अहिले सम्म अपांग परिचयपत्र पाएको छैन्। लोकसेवा आयोगले विज्ञापन खोलेको छ।
परिचयपत्र भएको भए आरक्षण कोटामा फारम भर्ने थिए। ’ पुरचौंडी नगरपालिका भूमिराजकी अमृता साउँद अशक्त अपांग छिन्। तर उनले पनि परिचयपत्र पाउन सकेकी छैनन्। उनले भनिन् ‘परिचउपत्र कहाँबाट पाइन्छ भन्ने कुरा नै थाहा छैन्। केही सीपमूलक कामका लागि तालिम दिए म पनि गर्थे तर मसँग परिचयपत्र नै छैन्।’ महिला तथा बालबालिका कार्यालयले विगतमा अपांगता परिचयपत्र वितरण गर्ने गर्दथ्यो। अहिले अधिकार स्थानीय तहमा गएको छ। तर त्यहाँबाट परिचयपत्र पाउन सकस हुने गरेको छ
। ‘पहिला प्रत्येक महिनाको ५ गते जिल्लामा बैठक बस्थ्यो। महिनाभरी आएका निवेदन उपर छलफल भएर अपांगता परिचयपत्र वितरणमा सहज हुन्थ्यो ’ जिल्ला अपांग संघकी उपाध्यक्ष लक्ष्मी बिष्टले भनिन्,‘ डाक्टरको रिपोर्ट अनिवार्य चाहिन्छ। तर स्थानीय तहमा डाक्टर नै छैनन्। त्यसैले समस्या भएको छ। ’
प्रत्येक स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय अपांगता परिचयपत्र वितरण समन्वय समिति गठन गर्ने प्रावधान छ। पुरचौंडी नगरपालिकाका महिला विकास शाखा प्रमुख सरिता अवस्थीले डाक्टर नभएकै कारण नियमित परिचयपत्र वितरण गर्न नसकिएको बताइन्। ‘हामीले शिविरको आयोजना गरेर पनि परिचयपत्र दिएका हौं’ उनले भनिन्। सदरमुकाम मै नियमित रुपमा परिचयपत्र वितरण गर्न समस्या छ। जिल्लामा अपांगता भएका व्यक्तिहरुको एकिन तथ्यांक समेत छैन्।