जहाँ शिशु फालिन्छन्, त्यहाँ सत्यनारायण

जहाँ शिशु फालिन्छन्, त्यहाँ सत्यनारायण

जनकपुरधाम : ४६ वर्षीय सन्त सत्यनारायण आलोक अविवाहित छन्। तर, उनी १३ सन्तानका ‘बुवा’ हुन्। भन्छन्, ‘हाम्रा ११ छोरी छन्, दुई छोरा छन्। कसैलाई नालीमा भेट्टाएँ त कसैलाई झाडीबाट उठाएँ। यो मेरो ठूलो सम्पत्ति हो।’

फालिएका बच्चाको उद्धार गरी उनले एक दशकदेखि पालनपोषण गर्दै आएका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका–८ ज्ञानकुपमा उनको अनाथ आ श्रम सञ्चालनमा छ। आ श्रम चलाउन कठिन छ। मनकारीले आफ्नो विवाहोत्सव, जन्मोत्सवमा केही सहयोग गर्छन्। सरकारी निकायबाट सहयोग नपाएको उनको गुनासो छ। ‘सरकारले गर्नुपर्ने काम मैले गरिरहेको छु’, उनी भन्छन्, ‘सरकार भनेको त सहाराविहीनहरूको हो नि ! तर, यहाँ त्यस्तो देखिएको छैन।’

थाकेर आएका बेला बच्चाहरूले बाबा भनेर बोलाउँदा उनलाई आनन्द महसुस हुन्छ। भन्छन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो खुसी यही हो।’ बच्चा जन्माएर फाल्नेहरूप्रति उनको चित्त दुखाइ छ। यस्ता घटना बढेकामा उनी चिन्तित छन्। समाज मानवताविहीन बन्दै गएको उनको ठम्याइ छ। अवैध सम्बन्ध लुकाउन र धेरै छोरी जन्मिएपछि बालिका फाल्ने गरेको उनको बुझाइ छ।

१९ बच्चाको उद्धार

उनले यो अवधिमा १९ बच्चाको उद्धार गरे। एक बच्चा निःसन्तान दम्पतीलाई दिए। घाइते र बिरामी पाँच बालबालिकालाई उनले बचाउन सकेनन्। ‘फोहोरमा फालेको बच्चा उठाएर अस्पताल लगी भर्ना गरें’, उनी भन्छन्, ‘कति त्यही मरे। कति आ श्रममा ल्याउँदा बिते।’ यस्तो घटनाले उनको मन भतभती पोल्छ। ‘तर, निर्दयीहरू आफ्नै बच्चा फाल्छन्। उनीहरूको मन किन रोएन ? ’, उनी प्रश्न गर्छन्, ‘आ श्रममा बेवारिस बच्चा नआइदेओस् भन्ने कामना गर्छु।’

पहिलो सन्तान देसना

उनी २०६६ साउन २९ का दिन बिहान ५ बजे मर्निङ वाकमा निस्किएका थिए। जनकपुर–८ ज्ञानकुपनजिकै कुकुर भुकिरहेको थियो। ह्युमपाइपको नालीमा सालनालसहितको नवजात शिशु रोइरहेकी थिइन्। ‘मलाई माया लाग्यो, ह्युमपाइपबाट बच्चालाई उठाएँ। काखमा राखें’, उनी सुनाउँछन्, ‘बेवारिस बच्चा पालौंला भन्ने योजना थिएन। बालिकाप्रति स्नेह जाग्यो। बच्चा बेहोस थियो। बाँच्छ कि भनेर उठाएर अस्पताल पुर्‍याएँ।’

बच्चा निको भयो। उनले छठियार (न्वारान) गरी बालिकाको नाम देसना आलोक राखे। उनले आफ्नो नागरिकताका आधारमा जन्मदर्ता बनाइदिए। ती शिशु १० वर्षकी भइन्। देसना कक्षा २ मा पढ्दै छिन्। उनले देसनालाई पहिलो सन्तानका रूपमा अँगालेका छन्। उनले त्यसअघिदेखि गरिब परिवारका बच्चालाई निःशुल्क पढाउँथे। जब देसनालाई छोरीका रूपमा स्वीकार गरे तब उनको परिचय अभिभावकका रूपमा फेरियो।

जनकपुरमा सन्त सत्यनारायण आलोकले सञ्चालन गरेको आश्रममा रहेका बालबालिका।

त्यस्तै, ११ साउन २०६७ को राति ११ बज्दै थियो। आलोकको मोबाइलको घण्टी बज्यो। फोनमा कसैले भन्यो, ‘जनकपुरको रंगभूमि मैदानमा बच्चा जन्माएर फालिएको छ, आउनुस् लिन।’ उनी साइकल चढेर त्यहाँ पुगे। सालनालसहित फालिएको शिशु काखमा च्यापेर उनी जनकपुर अञ्चल अस्पताल पुगे। बच्चाको उपचारपछि उनी घरतिर लागे। छठियारपश्चात् दोस्रो सन्तानका रूपमा बालिकाको नाम साधना आलोक राखियो। उनी नौ वर्षकी भइन्। कक्षा २ मा पढ्दै छिन्। ‘जब मलाई बेवारिस बच्चा उद्धारका लागि फोन आउन थाल्यो तब लाग्यो कि ठूलो समाजसेवा भनेको मानव सेवा हो’, उनी भन्छन्।

तेस्रो बालिका आराधनालाई १० माघ २०६७ मा भमरपुरा चोकमा नालीको हिलोबाट उद्धार गरिएको थियो। हेपाटाइटिसबाट पीडित बालिकालाई ओरेक नेपालले उद्धार गरी उनको जिम्मा लगाएको थियो। उनले लामो समय उपचार गराए। आश्रय दिएका बालिकाको संख्या बढ्दै गएपछि उनी आ श्रम खोल्ने निधोमा पुगे। उनले २०६७ मै सदगुरु कविर अनाथ बाल वात्सल्य नामको आ श्रम खोले।

उनको आ श्रममा चौथो सन्तानका रूपमा वन्दना आइन्। उनलाई धनुषाको वीरेन्द्र बजार छघरियास्थित खेतको आलीबाट २२ असार २०६८ मा उद्धार गरिएको थियो। उनका अनुसार मानसिक सन्तुलन गुमाएकी एक महिला वीरेन्द्र बजारमा मागेर जीवन चलाउँथिन्। ती महिला बलात्कारबाट गर्भवती भइन्। सुत्केरी हुने बेला छघरियाको एक घरमा पुगेकी थिइन्। त्यहाँबाट लखेटेपछि भाग्दै गर्दा खेतको आलीमा उनले छोरीलाई जन्म दिएकी थिइन्। तिनै शिशु कक्षा १ मा पढ्दै छिन्।

त्यस्तै, जनकपुरको ज्ञानकुपनजिकै बाँसघरीबाट २ पुस २०६८ मा एक शिशुको उद्धार गरियो। उनको आ श्रममा पाँचौं सन्तानका रूपमा भित्रिएका शिशुको नाम चिराग आलोक राखियो। छैटौं सन्तानका रूपमा उनले महोत्तरीको जलेश्वरबाट कर्ण आलोकलाई उद्धार गरे। कर्णलाई सर्लाहीको बरहथवास्थित एजुकेसन होमले पढाइरहेको छ। पोखरीको डिलमा फालिएकी शिशुलाई उनले सातौं सन्तानका रूपमा आ श्रममा भिœयाए। उनको नाम राखियो, प्रवीणा। १० मंसिर २०७२ देखि आलोकको सहारामा हुर्किंदै गरेकी उनी नर्सरीमा पढ्दै छिन्।

यस्तै, महोत्तरीको बर्दिबासस्थित रातु खोला किनारमा सालनालसहितको शिशु देखेपछि स्थानीयले खबर गरे। ४५ किलोमिटर टाढाबाट उद्धार गरी बालिकालाई उनले अँगीकार गरे। करुणा नाम राखिएकी बच्ची उनका आठौं सन्तान हुन्। उनी स्कुल जान थालेकी छन्। नवौं सन्तान सान्त्वना आलोक छिन्। उनलाई जनकपुरस्थित रंगभूमि मैदानबाट २९ चैत २०७३ को मध्यरातमा उद्धार गरिएको थियो।

सोनालाई २९ चैत २०७४ मा आ श्रमकै आँगनमा राति निर्दयीले छाडेर गए। उनी आलोककी दसौं सन्तानका रूपमा हुर्किंदै छिन्। हीरा र रूपा आलोक वर्षदिनका भए। हीरालाई रंगभूमि मैदानबाट र रूपालाई महोत्तरीको सोनमातराहीस्थित खेतबाट उद्धार गरिएको थियो। १३ औं सदस्य सराहना आलोकलाई जनकपुरबाटै उद्धार गरिएको थियो। उनी पाँच महिनाकी भएकी छन्।

बिजलपुराको त्यो ठिटो

अंग्रेजी बोल्ने र कविता लेख्ने रहरले उनलाई गाउँबाट जनकपुर सहरमा ल्याइपुर्‍यायो। उनले महोत्तरीको बिजलपुराबाट २०४८ सालमा एसएलसी पास गरेका थिए। त्यसपछि उनी एउटा बाकसमा लुगा, अलिकति चामल र पाँच रुपैयाँ बोकेर पढ्न हिँडेका थिए।

साँझ घर–घरमा गएर ट्युसन पढाउने, बिहान पढ्न क्याम्पस जाने उनको दैनिकी बन्यो। गरिब परिवारका उनी आफ्नै खुट्टामा उभिन चाहन्थे। पढाइसँगै कतिपय साथीभाइ सरकारी जागिरतिर लागे। कतिपयले विदेश गएर धन कमाए। घरजम गरे। बुवाआमा बने। तर, उनी जनकपुरका निजी स्कुल र कलेज चहार्दै बेसहारा बालबालिकालाई दुनियाँ देखाउन लागिपरे। विवाह गर्न भुले। सरकारी जागिरतिर उनको मन गएन। बालप्रेमले गर्दा विद्यार्थी भिसामा विदेश पढ्न जान नसकेको उनी सुनाउँछन्।

कविर दर्शनको प्रभाव

उनले २०५५ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अंग्रेजीमा स्नातकोत्तर गरे। उनी कविर दर्शनबाट प्रभावित छन्। उनले यही दर्शनमै पीएचडीका लागि प्रस्ताव पेस गरे।

त्यसपछि उनी कविर दर्शन अध्ययन गर्न भारतको इलहावादस्थित कविर पारक गए। त्यहाँ मानवीय सहयोग देखेपछि उनी आफ्नै देशमा सेवा गर्ने सोचका साथ फर्किए। ‘मानवका लागि केही कल्याणकारी काम गर्नुपर्छ भन्ने थियो तर कसरी गर्ने भन्ने अन्योल थियो’, उनी भन्छन्, ‘त्योे अन्योल पहिलो सन्तान देसनाले तोडिदिइन्। त्यसपछि म सत्संग र समाजसेवामा लागें।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.