उदयपुर गोल्डकपको उपाधि एपीएफलाई
उदयपुर : छैठौं संस्करणको उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। थरुहट रंगशाला गाइघाटमा शनिबार भएको फाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीलाई १–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो।
उपाधिसँगै एपीएफले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको रुपन्देहीले तीन लाख रुपैयाँ पायो। विजेतालाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार प्रदान गरे।
यसैगरी उपविजेतालाई पूर्व राज्यमन्त्री मञ्जुकुमारी चौधरी र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुरस्कार प्रदान गरे।
दोस्रो हाफमा एपीएफका श्याम नेपालीले गरेको गोल नै फाइनलको निर्णायक गोल बनेको थियो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा निकै आक्रामक खेल खेलेका थिए। पहिलो हाफमा रुपन्देहीलाई दवावमा राखेको एपीएफले दोस्रो हाफमा त्यो लयलाई कायम राख्न नसके पनि गोल गर्न भने सफल भयो।
उपाधि विजेता एपीएफका खेलाडी। फोटोः अन्नपूर्ण
गोलकर्ता श्याम नै खेलको म्यान दफ दी म्याच पनि घोषित भए। उनले सात हजार नगद प्राप्त गरे। उदयपुर गोल्डकपको छैठौं संस्करणसम्म सधै सहभागिता रहेको एपीएफले यो पहिलो पटक उपाधि जितेको हो।
दर्शकले खचाखच भरिएको रंगशालामा रुपन्देहीले अन्तिमसम्म गोल गर्ने अवसर पाए पनि सफलता हात पार्न सकेन। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका राजेन्द्र रावल घोषित भए। उनले ५० हजार नगद पुरस्कार प्राप्त गरे। खेलको सर्वाधिक गोलकर्ता रुपन्देहीका फोफना घोषित भए।
तीन गोल गरेका उनले २० हजार नगद प्राप्त गरे। यस्तै उत्कृष्ट खेलाडी एपीएफका नवीन लामा, उत्कृष्ट गोलरक्षक एपीएफकै अमृत चौधरी र उत्कृष्ट डिफेन्डर रुपन्देहीका पेपे ट्राउरे घोषित भए। प्रतियोगिताको उदीयमान खेलाडी आयोजक उदयपुरका सुदीप श्रेष्ठ घोषित भए। उत्कृष्ट सबैले १५ हजार नगद पुरस्कार प्राप्त गरे।