सुर्खेतसँग जोडिँदै दुनै
डोल्पाः प्रदेश राजधानी वीरेन्द्रनगरबाट हवाई बाहेक अन्य विकल्प नभएको डाेल्पा यसैवर्ष सडकमार्गमार्फत पनि जोडिने भएको छ। कर्णाली करिडोरअन्तर्गत छिन्चु–जाजरकोट, डोल्पा–दुनै सडकखण्ड अन्तिम चरणमा पुगेको छ। सडक निर्माणमा खटिएको नेपाली सेनाले यही असार मसान्तसम्म सुर्खेतसँग डोल्पा सडक सञ्जालमा जोडिने बताएको छ।
छिन्चु–जाजरकोट, डोल्पा–दुनै सडक खण्डको कुल लम्बाई एक सय १७ दशमलव सात किलोमिटर छ। आर्थिक वर्ष ०७५/०७६ भित्र डोल्पा सदरमुकामसम्मको सडक निमार्णको जिम्मा पाएको सेनाले तोकिएकै
समयमा काम सम्पन्न हुने जनाएको छ। सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीका अनुसार असार मसान्तसम्म सडक उद्घाटन हुनेछ। यो सडक खण्डको झण्डै आधा दर्जन स्थानमा स्थानीयले नै सडक उद्घाटन गरेका छन्। सोही अनुसार डोल्पाको त्रिपूरासुन्दरी नगरपालिकामा पर्ने सुपानीसम्मको सडक गत मंसिरमा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे। मन्त्रीको उद्घाटनपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि प्रदेश राजधानीसँग सिधै सवारी आउजाउ हुन सकेका थिएनन्।
नेपाली सेनाले जिम्मा लिएको सुँपानीबाट दुनै सम्मको सडक स्तरोन्नती गर्ने काम पनि अन्तिम चरणमा पुगेको कर्णेल पहाडीले बताए। ‘अब छिट्टै सडक हस्तान्तरण गर्दैछौ’ उनले भने, ‘यो नेपाली सेनाको सबैभन्दा ठूलो उपलब्धी हो।’ कडा चट्टान र भिरपाखा छिचोल्दै सेनाले झण्डै १२ वर्षको संघर्षपछि डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको छ।
सडक निर्माणको काम पुरा भए पनि बीचबीचमा पुलहरु नबनेपछि सदरमुकामसम्म सिधै सवारी आवतजावत गर्न सकेका छैनन्। यो सडक निर्माण सम्पन्न गरेसँगै दुनैबाट तिब्बतको मरिम्ला जोड्ने सडक पनि सेनालाई नै जिम्मा दिनुपर्ने नागरिक कर्णालीका नागरिकले दवाव दिँदै आएका छन्। तिब्बत जोड्ने सडक निर्माण कार्य सेनालाई दिन सरकारसँग पहल भइरहेको सँस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढाले बताए।