खेतमा विद्युतीय सिँचाइ

खेतमा विद्युतीय सिँचाइ

विराटनगर : मोरङको सुनवर्षी नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन विद्युतीय सिँचाइ प्रणालीको तयारी गरेको छ। अधिकांश स्थानीयको मुख्य पेसा नै कृषि भएकाले नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन विद्युतीय सिँचाइको व्यवस्था गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ।

सिँचाइको पर्याप्त व्यवस्था नभएकाले किसानले मेहनेतअनुसार आयआर्जन गर्न नसकेको र कृषि पेसाबाट विस्थापित हुने क्रम बढेकाले प्रत्येक वडामा विद्युतीय पोल जडान गरेर सिँचाइको व्यवस्था गर्ने नगर प्रमुख कालीप्रसाद दासले बताए। कृषि परियोजनाका लागि दुई आर्थिक वर्षमा नगरपालिकाले करिब २ करोड बजेट विनयोजित गरेर खेतसम्म विद्युत् जडान गर्ने काम सुरु गरेको उनको भनाइ छ।

प्रमुख दासले खेतमा विद्युतीय सिँचाइको व्यवस्था गरेर बाह्रै महिना मौसमअनुसार खेती गर्ने वातावरण बनाएको बताए। हाल ५ सय पोल खरिद गरेर ११ वटा ट्रान्सफर्मर जडान गरी हाते ट्र्याक्टर र हेन्ड पम्प उपलब्ध गराउने योजना नगरको छ। नगरपालिकाको सहुलियतमा किसानलाई कृषि सामग्री दिने नगर प्रमुखको भनाइ छ। नगरभित्रका अधिकांश नागरिक कृषक पेसामा आबद्ध भएकाले नगरपालिकालाई कृषिको नमुना नगरपालिका बनाउन यस्तो योजना अघि बढाएको हो।

कुल खेतीयोग्य जमिनको करिब ८० प्रतिशत भागमा सिँचाइ संरचना निर्माण गरिएको भए पनि १० वर्षभित्र बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य पूरा गर्न कठिन नरहेको नगरपालिकाको भनाइ छ। एउटा नदीको पानी अर्कोमा झार्ने र नदीमा बाँध बनाएर सिँचाइ पुर्‍याउने सम्भावना नरहेकाले विद्युतीय सिँचाइको व्यवस्था गरेर तरकारीसहित वर्षे बाली लगाएर किसान आत्मनिर्भर हुने नगरपालिकाको विश्वास छ।

नगर प्रमुख दासका अनुसार नगरको कुल खेतीयोग्य जमिनको ८० प्रतिशत भागमा सिँचाइ संरचना निर्माण गरी बाह्रै महिना पानी पुर्‍याए आर्थिक रूपमा समेत नगरबासी अब्बल हुनेछन्। यसका लागि स्यालो र डिप ट्युबवेलको पानी बिजुली र सोलरबाट तानेर सिँचाइ पुर्‍याउने कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। हाल कुल खेतीयोग्य जमिनको करिब १ हजार बिघामा मात्र विद्युतीय सिँचाइ पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.