पोखरामा अन्डरग्राउन्ड पार्किङ बनाए कर छुट
पोखरा : पोखरा महानगर क्षेत्रस्थित अन्डरग्राउन्डमा पार्किङसहित नक्सापास गर्दा दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था र भूकम्प पीडित परिवारले नक्सापास गर्दा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेवलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।
पोखरा महानगरको नयाँ बजेटमा यस्तो उल्लेख गरिएको हो । ‘पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरे ५० प्रतिशत छुट दिइनेछ’, उपमेयर मञ्जुदेवी गुरुङले भनिन्, ‘पूर्ण रुपमा पार्किङ भवन बनाएमा सतप्रतिशत राजस्व छुट दिइनेछ ।’
आकाशे पुल निर्माण, महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सबवे संरचना निर्माण, अध्ययन डिजाइनको कार्यलाई अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको उपमेयरले सुनाइन् । ‘मुख्य सहरी क्षेत्र तथा बजार क्षेत्रमा सिसी क्यामेरा जडानको आवश्यक व्यवस्थाको लागि २ करोड रकम व्यवस्था गरेकी छु’, उनले भनिन्, ‘ सडकका बीचमा रहेका बिजुलीको पोल स्थानान्तरण गर्न आवश्यक प्रबन्ध मिलाएकी छु ।’ सेती नदीको गल्छीलाई साहसिक पर्यटन पूर्वाधार र पातलो छाँगोमा सिसाको पुल निर्माण गर्ने योजनासहितको बजेट उपमेयर गुरुङले सुनाइन् ।