सहिदमाथि पक्षपात गरेको भन्दै प्रदेश २ मा सरकारविरुद्ध संघर्षको चेतावनी
राजविराज : प्रदेश २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीले संघर्षको चेतावनी दिएको छ ।
राजविराजमा शनिबार पत्रकार सम्मेलन गरी सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीले भेदभावपूर्ण व्यवहार नरोके संघर्षको सामनाका लागि तयार रहन चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीकी अध्यक्ष शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी रीता चौधरीले प्रदेश २ सरकारबाट मधेस आन्दोलनका सहिद र घाइते परिवारलाई मात्र सेवा सुविधा दिई जनआन्दोलन र माओवादी जनयुद्धका सहिदको उपेक्षा गरिरहेकोले आन्दोलनको विकल्प नभएको बताइन् ।
पछिल्लो पटक प्रदेश २ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई लक्षित गरी दुधालु गाई–भैंसी वितरण गरेको तर अरु आन्दोलनका सहिदका परिवारलाई विभेद गरेको उनको आरोप छ ।
सहिद परिवारका सदस्य शम्भुनाथ नगरपालिका ३ का कुलानन्द विश्वकर्माले प्रदेश सरकारको त्रुटिपूर्ण कार्यविधि सच्याई सम्पूर्ण सहिद र घाइते परिवारलाई सम्मानजनक र समान व्यवहार गर्न माग गरे ।
प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको कार्यविधिको निवेदनको ढाँचामा नै ‘मधेस आन्दोलनका सहिद परिवारलाई लक्षित गरी उन्नत नश्लको दुधालु गाई वा भैंसी उपलब्ध गराउने कार्यक्रममा सहभागी हुनका लागि इच्छुक रहेकाले यो निवेदन पेश गरेको छु’ उल्लेख भएकाले जनआन्दोलन र माओवादी जनयुद्धमा सहिद भएकाहरूका परिवार निवेदन दिनबाट वञ्चित रहेको विश्वकर्माले बताए ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा देश र जनताका लागि सहिद हुनेहरू कुनै अमुक पार्टीको नहुने तर्क गर्दै सहिद देशका लागि हुने भएकाले प्रदेश सरकारको पक्षपातपूर्ण व्यवहारले सहिदको अपमान भएको उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विगतको सबै आन्दोलन र संघर्षको योगदान रहेपनि सहिदप्रति पूर्वाग्रही भएर प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद र घाइते परिवारलाई मात्र सेवा सुविधा दिई विभेद गरेको सहिद परिवारका सदस्य डाकनेश्वरी नगरपालिका १० का राजेशकुमार रामले आरोप लगाए ।
प्रदेश २ सरकारले सुरुवातदेखि नै गरिरहेको पक्षपातपूर्ण निर्णय र व्यवहार नसच्याए प्रदेशका आठै जिल्लामा मोर्चा बनाई संघर्ष गर्ने अध्यक्ष चौधरीले चेतावनी दिइन् । आइतबार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस आन्दोलनका क्रममा सहिद भएका र सख्त घाइते भएका परिवारलाई दुधालु भैंसी र गोठ सुधारका लागि ३० हजार प्रदान गर्न सुरु गरेको छ । प्रदेश २ का कृषि मन्त्री शैलेन्द्रप्रसाद साहले गत आइतबार राजविराज ९ मलेठमा मधेस आन्दोलनका क्रममा भारदहमा सहिद भएका राजीव राउतकी श्रीमती नीलम राउतलाई भैंसी हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गरेका थिए ।
आइतबार मलेठमा २० जनालाई र सोमबार भारदहमा १४ जनालाई भैंसी वितरण गरिएको छ । सप्तरी जिल्लामा १८ सहिद र १६ जना सख्त घाइतेका परिवारलाई भैंसी वितरण गर्ने योजना रहेको जानकारी दिँदै मन्त्री साहले सिरहामा चार, सर्लाहीमा सात, महोत्तरीमा नौ, धनुषामा तीन, रौतहटमा पाँच, बारामा पाँच र पर्सामा सात सहिद परिवारलाई भैंसी वितरणको कार्यक्रम चालु आर्थिक वर्षमा रहेको बताए ।
यसैगरी सिरहामा १४, सर्लाहीमा ९, महोत्तरीमा दुई, धनुषामा पाँच, रौतहटमा चार, बारामा चार र पर्सामा १० सख्त घाइते परिवारलाई पनि भैंसी वितरण गरिने मन्त्री साहले जानकारी दिए । वितरण गरिएको भैंसी तीन वर्षसम्म बेच्न नपाइने र अरुलाई उपहार वा पेवा दिन नपाइने गरी सम्झौता गर्ने गरिएको छ ।
मधेस आन्दोलनका सहिद परिवारलाई प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको निर्णयबाट एक परिवार एक रोजगारको सन्दर्भमा हरेक सहिद परिवारलाई नियुक्ति पत्र दिई सकिएको र व्यवस्थापन मिलाउने क्रममा रहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले मधेस आन्दोलनको सहिदका बालबालिकाको अध्ययनका लागि विशेष छात्रवृत्ति योजना ल्याएको र क्रमैसँग मधेस आन्दोलनका घाइते परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको उनले जानकारी दिए ।