पशुपालनमा युवा

पशुपालनमा युवा

जनकपुरधाम : धनुषा र महोत्तरीका युवा पशुपालनतर्फ आकर्षित भएका छन्। विदेशबाट फर्किएका र स्वदेशमै बेरोजगार बनेका युवा कृषि फार्म खोलेर सुगुरबंगुर, राँगा, गाईभैंसी, माछा, कुखुरापालनमा व्यस्त भएका हुन्। महोत्तरी र धनुषा सबैभन्दा बढी युवा बिदेसिने जिल्लाको सूचीमा पर्छ।

पशुपालन पेसाबाट राम्रो आम्दानीसँगै मान मर्यादा पाउने भएकाले युवा पशुपालनमा हौसिएका हुन्। लक्का जवान युवाले आफ्ना पौरखी हातलाई दिनरात पशुहरूको स्याहारसुसारमा लगाइरहेका छन्।

विदेशबाट फर्किएर राँगापालन

१७ कठ्ठा जमिन भाडामा लिएर धनुषाको बटेश्वर–२ का चार युवा राँगापालनमा होमिएका छन्। बटेश्वर पशुपालन फार्म स्थापना गरेर स्थानीय होमबहादुर लामा, रमेशकुमार लामा, अगम लामा र डम्बरबहादुर लामाले सामूहिक राँगापालन गरिरहेका छन्। होमहादुर र रमेश विदेशबाट फर्किएका युवा हुन्।

१२ लाखको लगानीमा फार्म खोलिएको छ। फार्ममा हाल २९ वटा राँगा छन्। असारभित्र एक सय वटा पुर्‍याउने लक्ष्य लिइएको छ। स्थानीय जातका राँगा पालिएको छ। युवा दिनभरि आफैं खटिएर राँगालाई आहार खुवाउने, गोबर सोहोर्ने, पानी खुवाउने, चराउने गर्छन्।

स्वदेशमै केही गरौं भन्ने सोचले गर्दा राँगा फर्मको आवधारणा आएको होमबहादुर लामाले बताए। ‘पाखुरामा बल र शरीरमा रगत रहेसम्म मात्र विदेशमा हाम्रो श्रम बिक्छ, बुढेसकाल लागेपछि फर्केर फेरि स्वदेशमै आउनुपर्छ’, उनले भने, ‘अर्काको देशमा पसिना बगाउनुभन्दा विदेश जान लाग्ने रकमले आफ्नै देशमै स–साना उद्यम गर्न सकिन्छ।’ युवाले सामूहिक रूपमा लगानी गर्ने हो भने स्वदेशमै रोजगारी उपलब्ध हुने उनको कथन छ।

राँगाको आहारका लागि ८ कठ्ठामा घाँस खेती गरिएको छ। सिँचाइको प्रबन्ध नहुँदा घाँस सुकेको छ। राँगालाई आहार जुटाउन समस्या परेको छ। स्थानीय सरकारले एउटा इनार भए पनि उपलब्ध गराइदिएर पशुपालनमा सहयोग पुग्ने उनीहरूको आशा छ। स्थानीय बजारमा राँगाको मासुको माग उच्च छ। स्वदेशमा राँगा उत्पादन नभएर बजारको माग विदेशी मासुबाट धान्ने गरिएको उनीहरूको भनाइ छ।

माछाले फेरियो जिन्दगी

धनुषाको क्षीरेश्वनाथ नगरपालिका–५, संखुवा महेन्द्रनगरका रामकेवल मुखियाको दैनिकी माछा र हाँसको स्याहारमा बित्छ। मनकामना माछापालन केन्द्र नाम दिएर उनले फार्म खोलेका छन्। फार्मले अहिले राम्रो प्रगति गरेको छ। ६ वर्षको अन्तरालमा फार्मको नामबाट महोत्तरी र धनुषाका ग्रामीण भेगमा एक सय पोखरीमा माछापालन गरिएको छ।

माछापालनसँगै पोखरीमा उनले गत वर्षदेखि व्यावसायिक हाँसपालन पनि गर्न सुरु गरेका थिए। उनी भन्छन्, ‘पहिले माछा मात्र पालिन्थ्यो अहिले सोही दानापानीमा हाँस पनि पाल्न थालिएको छ।’ हाँसलाई पनि पोखरी चाहिने र माछाको दिसा र फालेको आहाराले हाँसलाई पनि दाना हुने भएपछि एउटै खर्चमा दुईखाले आम्दानी भएको रामकेवलले बताए।

माछा र हाँस पालेर एक सिजनमा उनले ७ देखि ८ लाख रुपैयाँ नाफा गर्छन्। माछापोखरी खन्दा निस्किएको माटोले किनारमा ढिस्को निकालेर हाँसको खोर निर्माण गरिएको छ।

सुगुरबंगुर पालेर आम्दानी

महोत्तरीको बर्दिबास–१ का ४८ वर्षीय विष्णुबहादुर विश्वकर्मा सुगुरबंगुरपालनमा व्यस्त छन्। सुगुरबंगुर पालेर उनले वार्षिक अढाइ लाख कमाउँछन्। उनको फार्ममा हाल १५ माउ र १३ वटा सुगुरबंगुरका पाठापाठी छन्। यसैको आम्दानीले दुई छोरी र एक छोराको पढाइ खर्च उठाएका छन्।

खोरमा पालेको सुगुरका पाठापाठी स्याहार्दै बर्दिबासका विष्णुबहादुर विश्वकर्मा।

छोरी रुजाले जनता माध्यमिक विद्यालय गौरीडाँडामा कृषि विज्ञान अध्ययन गरिरहेकी छन्। पानी खोल्सी नजिकैको ९ धुर ऐलानी जग्गामा विष्णुको सानो झुप्रो छ। २० वर्ष गाउँकै पञ्चधुरा आधारभूत विद्यालयमा उनले शिक्षण पेसा गरेका थिए।

पीसीएफ कोटा खारेज भएपछि उनी बेरोजगार बने। त्यसपछि उनी सुगुरबंगुरपालनतिर लागे। बर्दिबासका होटलमा फालिएका खाना बटुलेर उनले सुगुरबंगुरको आहार जुटाउँछन्। ‘सानो पुँजी छ। आम्दानी राम्रै छ’, विष्णुले भने, ‘पाँच जना परिवार पालिएका छौं।’ बजार माग उच्च रहेकाले उनी सुगुरबंगुरपालनलाई अझै बढाउने सोचमा छन्।

पशुपालनले मालिक बनायो

विष्णुका छिमेकी जागेन्द्र श्रेष्ठ पनि पशुपालनमा रमाइरहेका छन्। भब्सी खोलाको एक बिघा नदी उकास जग्गामा उनले पञ्चकन्या कृषि पशुपक्षी फार्म खोले। त्यसमा २१ वटा राँगा, एक भैंसी, पाँचवटा गाई, एक हजार लेज कुकुराका चल्ला हुर्काइरहेका छन्।

दश लाख लगानी भएको जागेन्द्र बताउँछन्। कुमार जोगी, उमेश मण्डल र सुजाता मण्डलले फार्ममा रोजगारी पाएका छन्। ‘कृषि पेसामा रमाइलो छ’, उनले भने, ‘कृषि कर्जा लिए ब्याज पनि कम लाग्छ, काम गर्दा आत्म सम्मान पनि पाइन्छ।’ गाडी ड्राइभरको काम गरेका उनले भने, ‘ड्राइभर जिन्दगीले अर्काको नोकर मात्र भइयो। अब पशुपालनले धनको मालिक बनाउँछ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.