अनुगमन टोली पुग्दा व्यापारीको भगाभाग
सिरहा : बजारमा अखाद्य बस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लहानले अनुगमन थालेको छ। बुधवार स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीलगायतको टोलीले सिरहाको मिर्चैया बजार अनुगमन गरेका छन्।
बजारमा ३/४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका छन्। अनुगमन भइरहेको खबर पुग्नेबितिकै बजारका अधिकांश किराना, औषधी, मासु र होटल व्यापारीले पसल बन्द गरेर भागे।
व्यवसाय दर्ता, नवीकरण, सरसफाई, नापतौलको ढक तराजु, म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरेका छन्। सोही अनुगमन टोलीलाई ओम शान्ति मेडिकोमा औषधि, एवन बेकरी एण्ड आइसक्रिम पार्लरमा खाद्यय वस्तु, बहुराष्ट्रिय कम्पनीको पेयपदार्थ, मसाला पाउडर र सहदेव होटलमा बियर म्याद सकिएको फेला परेका छन्। म्याद सकिएको वस्तुलाई स्थानीय प्रशासन, नगरपालिकाका प्रमुख, संचारकर्मीसहित रोहवरमा नष्ट गरिएको छ। मासु पसलबाट फेला परेका कम तौलका ढक जफत गरेका छन्।
बजार अनुगमन टोली पुगेपछि बन्द गरिएका पसलका सटर। फोटोः शम्भु यादव/अन्नपूर्ण
अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता नभएका भेटिएको इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल नारायण भण्डारीले बताए। त्यस्ता व्यापारीलाई कानुनी प्रक्रिया पुरा गर्न म्याद दिएको उनले बताए। बुधवार डेढ दर्जन व्यापारीको पसल अनुगमन गरिएको उनले जानकारी गराए।
‘दर्ता, नवीकरण, मूल्यसूचि र सरसफाई नरहेको फर्म भेटिएका छन्,’ घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत दीपेन्द्र कुमार यादवले भने, ‘त्यस्ता व्यवसायीलाई कानुनी प्रक्रियामा आउन १५ दिनको म्याद दिएका छौँ।’
अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको उनले बताए। उपभोक्ताको हक अधिकार र स्वस्थ्य व्यवसायका लागि अनुगमन थालिएको प्रमुख यादवले बताए। बजार अनुगमन निरन्तर गर्ने उनले सुनाए।
म्याद गुज्रिएका वस्तु नष्ट गर्दै।
मिर्चैया बजारको ८० प्रतिशत व्यापारीले व्यवसायिक कर नतिर्ने गरेको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताए। उनका अनुसार बजारमा पटक पटक कर तिर्न सूचना जारी गरिएको छ। ‘बारम्बार व्यवसायीलाई कर तिर्न आह्वान गरेका छौँ,’ मेयर यादवले भने,‘तर, उनीहरु केही सुनुवाई गरिरहेको छैन्।’