रुचिको रोजाइ
एसईईपछिको पढाइबारे जति विद्यार्थीलाई चिन्ता हुन्छ, त्योभन्दा बढी अभिभावकहरूलाई हुँदो रहेछ। उनीहरू छोराछोरीलाई आफू अनुकूल करियर बनाएको देख्न चाहन्छन्। पहिले एसएलसी परीक्षामा टपटेन प्रणाली हुँदा टपटेनमा पर्ने प्राय:ले डाक्टर, इन्जिनियर पढ्ने विचार राख्ने गरेका थिए। तर अहिले समय फेरिएको छ। एसईईपछिको पढाइमा धेरै नयाँनयाँ विषय देखिएको छ।
यो आलेख म आफ्नो केही व्यक्तिगत अनुभव बाँड्दै अघि बढाउन चाहन्छु। २०४३ सालमा कक्षा ९ मा प्रवेश गर्दा दुईटा विषय ऐच्छिक थिए। एउटा गणित तथा स्वास्थ्य अर्को भूगोल र अर्थशास्त्र। मलाई गणित साह्रै गाह्रो विषय लाग्ने हुँदा भूगोल, अर्थशास्त्रको किताब किनेर ल्याएँ तर ठूल्दाइले जबर्जस्ती फिर्ता गर्न लगाए। उनको भनाइ थियो, ‘त्यो जाबो गणित त म तिमीलाई गाइड गर्दिहाल्छु नि।’ यसरी उनलाई जाबो लागेको मेरो भित्री मनदेखि अरुचि रहेको ऐच्छिक गणितको साइन ए, कस ए को सूत्रले जेलिएर मैले बल्लतल्ल एसएलसीमा ऐच्छिक गणितलाई गुडबाई गर्न सकेको थिएँ। एसएलसीपछि बल्ल हिसाबबाट छुटकारा पाएको थिएँ। एसएलसीपछि मेरो रुचिको विषय नेपाली रमाइरमाइ पढेँ। नेपालीलाई मेजर विषय बनाउँदै एमए ज्वाइन गरेँ। एमएको कक्षा नियमित नलिए पनि निकै सन्तोषजनक नम्बर आएको छ। यही असारको दोस्रो साता नेपाली विषयअन्तर्गत लोकसाहित्य विधामा विद्यावारिधि सकाउँदा मेरो रुचिको विषय जोडिएको छ।
अध्ययनको विषय छनोटमा समस्या भोगिसकेको म छोराछोरीलाई त्यो थोपर्न चाहँदनिथेँ। नेपालीमा विद्यावारिधि गरे पनि मैले अध्यापन पेसा अँगालिनँ। पत्रकारिता मेरो रोजाइको पेसा रह्यो। मेरो चाहना थियो, एसएलसी पछि मेरो कुनै छोरीले मेरो पेसा आबद्ध विषय पत्रकारिता पढिदिऊन्। तर, मैले कुनै दबाब दिइनँ। माइली छोरी बुनु थारूले एसएलसीपछि पत्रकारिता ज्वाइन गरिन्। आफ्नो कलेजमा आईए, बीए दुवैमा टप गरिन्। हाल पत्रकारिता गरिरहेकी उनलाई लाग्यो पत्रकारिता पढ्न होइन, गर्ने विषय पो रहेछ। त्यसैले एमएमा उनको रोजाइ एन्थ्रोपोलोजी भएको छ।
पहिले एलएलसीमा असफल भएपछि धेरै किशोरकिशोरीले आत्महत्या गरेको दु:खद् खबर सुन्नु पथ्र्यो। यसपालि एसईईको रिजल्टपछि त्यस्तो अनहोनी खबर सुन्नु परेको छैन। पाँच वर्ष पहिले मेरी कान्छी छोरी भूमिका थारूले एसएलसीमा आफूले चाहेको जस्तो नम्बर नआएपछि निकै निराश थिइन्। उनको जिकिर थियो, अब म पढ्दिनँ। नागरिकता बनाइदिनोस्, कुनै सानोतिनो जागिर खोजिदिनोस्। म अब जागिर खान्छुँ।
छोरीको कुराले म आश्चर्यचकित भएँ। सम्झाएँ उनलाई। आफूले सोचेको जस्तो सबै भइदिए यो संसार कहाँबाट कहाँ हुन्थ्यो। तिमीले फस्र्ट डिभिजन ल्याए पनि थोरै भन्दैछौं। मान्छे थर्ड डिभिजनमा पनि पास भएर रमाएका छन्। त्यसैले निराश नहोऊ। बरु अब आफूलाई सबैभन्दा सजिलो लाग्ने विषय रोजेर पढ, जसमा पढेको महसुसै नै नहोस्।
छोरीले पढ्ने मन बनाइन्, फाइन आर्ट। साहित्यको पारखी मलाई छोरीको रोजाइलाई निकै खुसी तुल्यायो। मैले बालकथा लेख्ने, उनले त्यसमा स्केच कोरिदिए गजब ‘कम्बिनेसन’ मिल्ने लाग्यो। तर छोरीको आमालाई कुनै छोरीलाई डाक्टर नभए नर्ससम्म त पढिदिए हुन्थ्यो भन्ने थियो। फाइन आर्ट त न्युरोडमा चित्र बनाएर बेच्ने अपांगता भएकाहरूले पढ्ने विषय पो भनेर उनले खिल्ली पनि उडाइन्।
तर छोरीले आफ्नो रोजाइ परिवर्तन गरिनन्। फाइन आर्टमा आफ्नो कलेज टप गरिन्। अहिले उनको रुचि फेरिएको छ। स्नातकमा म्युजिक पढ्दैछिन्। पत्रकारिता नपढे पनि दिदी, बाबाको देखासिकीमा टेलिभिजनमा एंकर छिन्। उनको रोजाइमा मैले कुनै हस्तक्षेप गरेको छैन।
नेपाली सिनेमाका अहिलेका सदाबहार नायक विपिन कार्की उर्फ भष्मे डन एसएलसीपछि बा आमाको मन राखिदिन गरेको पढाइले आफूलाई डुबाएकोमा अझै पछुतो पनि मान्छन्। उनका अभिभावकले उनलाई सीएमए कोर्स पढ्न दबाब दिए। धरानमा एक वर्ष सीएमए कोर्स पढे पनि। तर रुचि नभइनभई पढेको, त्यसमाथि सीएम गरेपछि कक्षाको कुनै तह नबढ्ने थाहा पाएपछि उनलाई दिग्दार लाग्यो। आफ्ना लागि यो पढाइ होइन भन्ने लागेपछि उनी परिवारमा विद्रोह गरी रुचिको विषयको पढाइको लागि गृह क्षेत्र विराटनगरबाट काठमाडौं उक्लिए।
काठमाडौंमा उक्लिएपछि नायक विपिन साथीहरूको लहलहैमा आरआरमा पत्रकारिता पढ्न थाले। तर त्यो पनि आफ्नो रुचिको विषय नलागेपछि बीचमै हाफेर ऐच्छिक नेपाली विषय लिएर पढ्न थाले। नेपाली विषयमा रस बस्यो। कथा, नाटक, उपन्यासको प्रसंग आएपछि उनलाई लाग्यो, ‘हो मैले रोजेको विषय यही हो।’ विपिन भन्छन्, ‘अहिले रंगकर्म, फिल्मका लागि कथा र पटकथा बनाउँदा मैले पढेको विषय काम लागेको छ।’
धेरैको जिन्दगी हेर्दा पढाइ एउटा तर करियर अर्को लिएको देखिन्छ। यसले आफूले पढेको सर्टिफिकेट केही काम लागेन भनेर जिन्दगी भर पछुतो मानेको पनि देखिन्छ। जिटु मोटरसाइकल वर्कसप दाङ, लमहीका प्रोप्राइटर गोहराज चौधरी एसईर्ईपछि आफ्नो छोरालाई अटोमोबाइल कोर्स पढाउन चाहन्छन्। बिदाको समयमा छोराले उनलाई अहिले वर्कसपमा सघाइरहेको छ। त्यसैले अटोमोबाइलमा उसको रुचि बढ्दै गएको छ। गोहराज भन्छन्, ‘यो रोग लागेको भनेर खुट्याएझैं अहिले अटोमोबाइलको कम्प्युटर कोर्सले गाडीको कुन पाटोमा के समस्या छ भनेर तुरुन्तै देखाउँछ। अहिले गाडी खोलखाल गरेर के बिग्रेको हुन सक्ने भनेर ठम्याउँदा धेरै समय नष्ट हुन्छ। त्यसैले छोरालाई अटोमोबाइलको कम्प्युटर कोर्स पढाउने विचार गरेको छु।’
गैरआवासीय नेपाली महासंघ (एनआरएन) का केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका विचारमा रमाउँदै पढ्न र पढेको विद्याले जीविकोपार्जनमा सघाउन सक्नु पर्छ। अहिले नेपालको एसईईपछिको कोर्स हेर्दा प्लस टु पढेर तुरुन्त काम पाइने अवस्था छैन। जबकि सीपमूलक कोर्स पढे काम गर्दै थप पढाइ अघि बढाउन सकिन्छ। थापा आफूले खाद्य विज्ञान पढेको विषयले नाइजेरिया जस्तो देशमा आकर्षक कम्पनीको म्यानेजर तहसम्म पुग्न सकेको बताउँछन्। यसरी थापा अहिले पनि यहाँको कोर्स डिजाइनमै समस्या देख्छन्।
यस वर्ष नायिका करिश्मा मानन्धर र नेकपा सचेतक तथा सांसद शान्ता चौधरीले एसईईमा सफलता चुमेपछि थप सेलेब्रेटी भए। शान्ता चौधरी संसद्मा कानुन बनाउनुपर्ने अवस्थाले कानुन विषय पढ्ने विषय सार्वजनिक गरेकी छिन्। १८ वर्ष अर्काको घरमा कमलरी बसेर राजनीतिमा छिरेकी शान्ता आफ्नो पढाइको प्राथमिकतामा प्रस्ट छिन्। राजनीतिले उनलाई खारेको छ। तर किशोरवय उमेरमा एसईई गर्ने सबैले आफ्नो रुचि खुट्ट्याउन समय लगाउन सक्छन्। जसरी नायक विपिन कार्कीले एक दुई वर्ष अलमल गरेर आफ्नो रुचिको विषय पत्तो लगाए। त्यसरी नै छोराछोरीले आफूले पढ्न मन लागेको विषय बीचमै हापे अभिभावकले धेरै टाउको नदुखाऊँ। आफ्नो क्षमताअनुसार उनीहरूले रोजेको विषय पढ्न स्वतन्त्र छाडौं। ४८ वसन्त पार गरेको मेरो अनुभवले पनि यही भन्छ।