नर्सरी व्यवसायीलाई भ्याइ–नभ्याइ
सिरहा : सिरहाका नर्सरी व्यवसायी जेठ र असारमा व्यस्त हुन्छन्। यो नयाँ बोटबिरुवा रोप्ने सिजन हो। वर्षायाममा बोटबिरुवा लगाउँदा सजिलै सर्छ। त्यसैले यतिबेला फलफूलका बिरुवाको माग बढेको छ। फलफूलका बिरुवा बिक्री गर्न सिरहाका नर्सरी व्यवसायीलाई भ्याइ–नभ्याइ छ।
अहिले जिल्लाका विभिन्न नर्सरीबाट दैनिक हजारभन्दा बढी बिरुवा बिक्री हुने गरेको छ। सिरहाका नर्सरीमा आँप, मसला, लिची, कटहर, नरियल, सुपारी, अनार, अम्बा, कागतीलगायत फलपूmलका बिरुवा उत्पादन हुन्छन्। यहाँ आँपका बिरुवाको माग बढी हुने गरेको धनगढीमाई नगरपालिकाका नर्सरी व्यवसायी श्रदेव चौधरीले बताए। आँपको बिरुवा मात्रै दैनिक ५ हजारभन्दा बढी बिक्री भइरहेको उनले सुनाए। उनकाअनुसार बम्बै, मालदह, गुलाबखास, अम्रपाली, कलकतियालगायत जातको आँपको बिरुवाको माग छ।
जिल्लामा उत्पादित फलपूmलका बिरुवा सप्तरी, सुनसरी, धनुषा, मोरङलगायत भारतको बिहारसम्म पनि बिक्री भइरहेको व्यवसायी बताउँछन््। सिरहाकै पहिलो नर्सरी व्यवसायीका रूपमा चिनिएको श्रीदेव नर्सरी सञ्चालक श्रीदेव चौधरीले आफ्नै ५ बिघा जग्गामा नर्सरी व्यवसाय सञ्चालन गरेका छन्। ‘यहाँको आँप मुलुकभरमै प्रसिद्ध रहेकाले यो समयमा आँपका बोटको बिक्री अन्य समयभन्दा पाँच गुणा बढी हुन्छ’, उनले भने,‘यसपटक बिरुवाको माग ह्वातै बढ्दा कामदार थपे पनि भ्याइ–नभ्याइ छ।’ चौधरीले आफ्नो ५ बिघा जग्गामा आँप, मसला, लिची, कटहर, नरियल, सुपारी, अनार, अम्बा, कागतीलगायतका बिरुवा तयार गरि २४ वर्षदेखि बिक्री गर्दै आएका छन्। चौधरीले नर्सरी व्यवसायबाट भएको आम्दानीले नै पक्की घर र छोराछोरीलाई शिक्षादिक्षा दिलाउन सफल भएका छन्।
सिरहाका नर्सरीमा आँप, मसला, लिची, कटहर, नरिवल, सुपारी, अनार, अम्बा, कागतीलगायत फलपूmलका बिरुवा उत्पादन हुन्छ।
चौधरीको मात्रै होइन्, जिल्लामा नर्सरी व्यवसाय गर्नेको प्रगति यस्तै छ। सिरहामा ५० भन्दा बढी व्यवसायीले नर्सरी सञ्चालन गरेका छन्। प्रत्येक नर्सरीमा बिक्री गर्न बिरुवा तयार पार्न भ्याइभ्याइ छ। प्रायः जुन वर्ष आँप बढी फल छ त्यो वर्ष बिरुवाको माग पनि बढ्ने गरेको नर्सरी व्यवसायी बताउँछन्। यसवर्ष आँप नफले पनि बिरुवाको माग घटेको छैन। आँपका बिरुवा रोप्ने समय मुख्यतयाः जेठ, असार र साउन हो।
नर्सरी व्यवसायीले आँपको प्रतिबिरुवा ३ सयदेखि ५ सय, लिची ५० रुपैयाँदेखि डेढ सय र नरिवल सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन्। सिरहाको जिरोमाइल, धनगढी, गोलबजार, चोहर्बा, बन्दीपुर, लहान, सुखिपुर, मिर्चैयालगायत ठाउँमा नर्सरी व्यवसाय फष्टाएका छन्। यहाँ ५ हजार हेक्टर जग्गामा व्यावसायिक फलफूलको उत्पादन भइरहेका छन्। सिँचाइ सुविधा नभएको जग्गामा किसानले बिरुवा लगाउने गरेका छन्।