विपन्न दलित परिवारलाई निःशुल्क सोलार

कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले विपन्न दलित परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ। वैकल्पिक उर्जा प्रवद्र्वन केन्द्रको पूर्ण अनुदानमा गाँउपालिकाका ९ वटै वडाका विपन्न दलित परिवारलाई सोलार सेट वितरण गरिएको हो।
गाउँपालिकाको ९ वटै वडाका ५∕५ जनाका दरले ४५ जना र बढी जनसंख्या भएका वडाबाट थप १० गरी ५५ दलित परिवारलाई प्रतिपरिवार एक सेटका दरले ५५ वाटको ५५ सेट सोलार वितरण गरिएको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन्। विपन्न दलित परिवारहरुलाई टुकी, दियालो र लोस्टाको प्रयोगबाट मुक्त गर्न अभियानको सुरुवात गरिएको उनको भनाई छ।
गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकाका सबै नागरिलाई उज्यालो प्रदान गर्ने बताए। उनले विद्युत पहुँच नपुगेको पचालझरना गाउँपालिकालाई सोलार प्रविधिबाट उज्यालो गाउँपालिका बनाउने लक्ष्य हेको बताए। यही अभियानअन्तर्गत गाउँपालिकाको वडा नं. १ देखि ५ सम्मका दलित परिवारलाई नै लक्षित गरी ३०० सुधारिएको चुलो समेत वितरण गरिएको छ।
गाउँमा अरुको घरमा सोलार देखेका तर आर्थिक अवस्थाका कारण किन्न नसक्ने अवस्थामा नरहेका स्थानीयवासी बलवीरे दमाई सोलार प्यानल लिएपछि खुसी देखिए। ‘घरमा उज्यालो नहुँदा नानी बाबुले पढ्न, लेख्न पाएनन्। अँध्यारोमा आगोको साहारामा बसियो। अब समस्या रहेन’, उनले भने।
प्रतिक्रिया दिनुहोस !
