हेलिकप्टर पाइलट तालिम अब कम्पनीबाटै
काठमाडौं : हेलिकप्टर उडाउने पाइलटको अभाव भएपछि सम्बन्धित वायुसेवा कम्पनीले नै पाइलट तालिम दिन थालेका छन् ।
वायुसेवा कम्पनीमा पाइलट अभाव हुन नदिन, आफ्नो कम्पनी चलाउन आफैँले तालिम दिन थालेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए ।
उनका अनुसार वायुसेवा कम्पनी बढेको बढ्यै छन्, भएका पाइलट अवकाश पाउने, विस्थापित हुने र दुर्घटनाका कारण घटेकाले हेलिकप्टर उडानमा समस्या हुन थालेको छ ।
इन्जिनियरिङ र अन्य प्रशासनिक कर्मचारी अभाव नभए पनि पाइलट भने दक्ष, तालिम प्राप्त हुनुपर्ने र उत्पादन गर्न पनि समय लाग्ने हुन्छ । यसका निम्ति ५ वर्षसम्म सेवा गर्ने सर्तमा तालिममा पठाउन थालेको शर्माले बताए ।
एभरेस्ट हेलीका प्रमुख कार्यकारी अधिकृत रहेको कँडेलले हेलिकप्टरका निम्ति २ जनालाई तालिममा पठाएको र अर्को एक जना पठाउने तयारी गरिरहेको बताए । उनका अनुसार हाल ५ जना पाइलटको निम्ति तालिम तय भएको छ ।
सिम्रिक एयरले ३ जना क्यानडा पठाउने तयारी गर्दै छ भने हेली एभरेस्टले एक फिलिपिन्स र एक अमेरिका पठाइसकेको छ । अब एक जनालाई पाइलट अध्ययनमा पठाउने तयारी रहेको हेली एभरेस्टले जानकारी दिएको छ । अल्टिच्युड एयरले पनि एक जना पाइलट तालिमको निम्ति पठाउने तयारी गरेको सोसाइटीले जानकारी दिएको छ ।
पाइलट तालिम लिन चाहने व्यक्तिको विवरण संकलन गरेर पछिल्लो किस्ता वायुसेवा कम्पनीले तिरिदिने सर्तमा पठाइएको हो । कम्तीमा १७ देखि २० लाख रुपैयाँ वायुसेवाले दिने र पाइलटले तालिम सकेपछि सोही वायुसेवामा हेलिकप्टर उडाउनुपर्ने सर्त राखिएको छ । शर्माका अनुसार हेली एभरेस्टले रोजगारीको ग्यारेन्टी गर्ने र हेलिकप्टर उद्योगकै निम्ति नयाँ जनशक्ति तयार हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।
सोसाइटीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति स्वीकृति गराएर तालिममा पठाएको उल्लेख छ । विदेशबाट लिइने न्यूनतम १५० घण्टाको तालिमपछि प्राधिकरणबाट अनिवार्य रूपमा पाइलट लाइसेन्सको परीक्षमा उत्तीर्ण हुनुपर्छ ।
निजी क्षेत्रले धमाधम जहाज थपिरहेका कारण पाइलट अभाव भएको उल्लेख छ । जहाज संख्याको तुलनामा पाइलट उत्पादन ज्यादै कम छ । जहाजको तुलनामा पाइलट उत्पादन अत्यन्त कम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
पाइलट उत्पादन नहुने भएकाले विदेशबाटै तालिम लिएर आउनुपर्छ । हाल नियमित उडानका पंखाजडित जहाज (फिक्स विङस)लाई क्याप्टेन र चार्टर उडान गर्ने हेलिकप्टरलाई सीपीएल अभाव हुन थालेको छ । पाइलट अभावका कारण निजी वायुसेवालाई जहाज उडाउन समस्या भएको सोसाइटीको भनाइ छ ।
विदेशबाट कम्तीमा २ सय घन्टा तालिम लिएर आउने सीपीएल पाइलट पछिल्लो २÷३ वर्षयता न्यून संख्यामा मात्रै छन् । २ वर्षअघिसम्म विदेशबाट २ सय घन्टाको तालिम लिएर आएका कमर्सियल पाइलट लाइसेन्स (सीपीएल)लिने बेरोजगारको समस्या बढेको थियो । पछिल्लो समय अध्ययन गर्न कम गएका कारण उत्पादन नै नभएको प्राधिकरणको भनाइ छ ।
पछिल्लो समय सरकारी र निजी दुवैले कम्पनीले जहाज थपेका कारण पुराना सबै चालक खपत भएका छन् । नयाँको उत्पादन नहुँदा एउटा कम्पनीबाट अर्कोमा तानातान हुन थालेको छ । नेपालमा पाइलट नपाउने समस्या भएकाले अन्तर्राष्ट्रिय पाइलट प्रशिक्षण केन्द्रमा सीधै सम्पर्क गर्नुपर्ने अवस्था छ ।