चार दिनदेखि जुफाल विमानस्थल बन्द, औषधि नेपालगञ्जमै थन्कियो
दुनै,डोल्पा : जुफाल विमानस्थल चार दिनदेखि खुलेको छैन।मौसममा खराबि आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको हो। खराब मौसमका कारणले जहाजले उडान भर्न नसकेपछि जिल्ला अस्पताल डोल्पामा आउने औषधि समेत नेपालगञ्ज बिमानस्थलमा नै थन्किएको छ।
दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन्। औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डक्टर सिजन रावलले जानकारी दिए।
'हरेक दिन बिरामी थपिरहेका छन्, भुँइमा राखेका छौं, बिरामी तर औषधिको पिरलो भइरहेको छ,' डक्टर रावलले भने। यदि औषधि सकियो भने अन्य कुनैपनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौं,' रावलले थपे।
यता जिल्ला अस्पतालमा बिरामी बढिरहेका छन्। मौजात औषधि सकिदै गएको अस्पतालले जनाएको छ। बिमानस्थलमा चार दिनदेखि बाग्लो हुस्सुले ढाकेको र धावनमार्ग नदेखिनुका साथै रातदिन पानी परेपछि नेपालगञ्ज डोल्पा जहाज अवरुद्ध हुँदा जुफाल विमानस्थल बन्द भएको नागरिक उड्यन कार्यालय जुफालले जानकारी दिएको छ।
बादलले बिमानस्थल मात्रै नभएर डोल्पाको ८० प्रतिशत भू-भाग ढपक्कै छोपेको छ। दैनिक उडानको आसमा बसेका यात्रुहरु समेत मर्कामा परेका छन्। मौसममा खराबी आएपछि नेपालगञ्जबाट उडान भर्दै आएका तारा,गोमा,नेपाल एयरलाइन्सलगायतका सरकारी तथा नीजि बिमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेसन इन्चार्ज पूर्णजँग शाहीले जानकारी दिए। चार दिनदेखि जहाज नउडेपछि यात्रुहरु पैदल मार्गबाट यात्रा गर्न थालेका छन्।
अझैं पनि मौसमा सुधार आउने सम्भावना नरहेकाले शुक्रबार पनि उडान हुने सम्भावना न्युन रहेको तारा एयर जुफालका कर्मचारी देवेन्द्र शाहीले बताए।