कमला नदीको बाढीले जोखिम बढाउँदै
सिरहा : सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीको बाढीले वरिपरिको वस्तीमा जोखिम बढाउँदै गएको छ । नदीको बाँधमाथिबाट पानी गाउँगाउँमा पस्न थालेको छ । हजारौँ घर डुबानमा परेका छन् ।
शनिबार बिहानै बाढी मापन केन्द्रले कमला नदी धनुषा तितरीया बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएको छ । वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ । ‘आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानु हुन अनुरोध छ,’बाढी मापन केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
कमला नदीको बाढीले सिरहा नगरपालिका ६ र १२ का बसपिटा, सारश्वर गाउँमा ६ सयभन्दा बढी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । डुबानमा परेकालाई उद्धारमा सशस्त्र, नेपाल प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयवासी खटेका छन् । यसैगरी कल्याणपुर नगरपालिका वडा १२ र ६ मा पनि कमला नदीको बाढी गाउँमा पस्न थालेको वडा अध्यक्ष मोतिबुल राइनले जानकारी गराए । ‘नदीमा बाढीको बहाव धेरै भएकोले बाँधको माथिबाट गाउँमा पानी आउन थालेको छ,’ उनले भने,‘सयौँ घर र हजारौँ बिघा जग्गा डुबानमा परेको छ ।’
अबिरल वर्षाका कारण व्यवस्थित ढल निकास नभएका बजारहरु पानीले जलमग्न भएका छन् । केही सरकारी कार्यालय पनि डुबानमा परेको छ । गागन नदीको बाढीले दक्षिणवर्ती औरही गाउँपालिकामा केही घर डुबानमा परेको छ । बलान नदीले लहान नगरपालिका २३ र सखुवानन्कारकट्टि गाउँपालिकामा जग्गा कटान गरेको छ। डुबानमा परेकालाई उद्धार गर्न ठाउँठाउँमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरहामा १० स्थानीय तहका ४२ वटा वडा बाढीको अतिजोखिम र ५२ वटा वडा मध्यम जोखिममा रहेको छ । अतिजोखिम रहेका वडाहरु बढी कमला नदीले प्रभावित हुने गरेका छन् ।