डोल्पामा बाढीको कहर : एकको मृत्यु,१० बेपत्ता, ३ घर बगे (नामसहित)
दुनै डोल्पा : डोल्पाको मुड्केचुला गाउँपालिका १ को काशिल खोलामा शनिबार दिउँसो आएको बाढीले १ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। सदरमुकाम दुनैबाट करिब ४५ कोष टाढापर्ने कालिकाको काशिल खोलाको बाढीमा परेर ४३ वर्षीय धर्मराज बोहोरा च्यापिएर मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ।
बेपत्ता हुनेमा वडा नं १ की १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा, १२ वर्षीया बृहष्पति बोहोरा, १३ वर्षीया किसुना सार्की, २३ वर्षीय पञ्चे सार्की र २३ वर्षीया साउनी बिक रहेको प्रहरीले जनाएको छ।
यस्तै रंगी बोहोरा,कालिबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिएका छन्।
कालिबहादुर बोहोरा सिँचाइ आयोजना १५ लाख रुपैयाँ लिएर गाउँतर्फ जाँदै गरेको अवस्थामा बाढीमा परेर बेपत्ता भएको बताइएको छ। बाढीले वडा नं १ बस्ने जगबहादुर बोहोरा, रत्नी बोहोरा र धर्मराज बोहोराको घर बगाएको छ।शनिबार दिउँसो २ बजेतिर आएको बाढीमा घट्ट पिस्न आएका बालबालिकाहरु बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
सदरमुकाम दुनैबाट पनि प्रजिअ मुकेशकुमार केशरी र प्रहरी नायव उपरीक्षक अभदेश बिष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको ३५जनाको टोली शनिबार बेलुकीनै घटनास्थलतर्फ हिँडेर आइतबार बिहान पुगिसकेका छन्।
राहत तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग संयुक्त रुपमा पहल भइरहेको प्रदेश सभा सांसद वीरबहादुर शाही र बदमीकुमारी बोहोराले जानकारी दिए।जिल्लामा मौसम प्रतिकुल नभएकाले हेलिकप्टर समयमै आउने संभावना न्युन छ।