बाढीले सप्तरीमा एक दर्जनभन्दा बढी घर भत्किए, ८ सय डुबानमा
राजविराज : लगातारको वर्षाले खाँडो, महुली, जिता र कोशी नदीमा आएको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएका छन्। खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किदा गाउँपालिकाको वडा नम्बर १ जलमग्न भएको छ। त्यहाँका करिब आठ सय घर डुबानमा परेका छन्। भने करिब एक दर्जन बढी घर भत्किएको विपद् जोखिम न्युनीकरण अधिकृत राजेशकुमार झाले बताए ।
बाढीका कारण वडा नम्बर ४ कोइलाडी, वडा नम्बर ५ को. बर्साइनका बासिन्दा समेत प्रभावित भएका हुन्। खाँडो नदीमा अत्यधिक बाढीको भेल रहेकाले कटान भएको बाँध मर्मत सम्भार गर्न नसकिएको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले बताए।
वडा नम्बर २ लौनियाँमा भत्किन लागेको बाँधलाई वडाध्यक्ष खगेन्द्र मण्डलको अगुवाईमा युवाले जोगाएका छन्। गाउँपालिकाले दिएको बोरा र जालीबाट मर्मत गरी बाँध भत्किनबाट उनीहरुले जोगाएका हुन्।
यसैगरी वडा नम्बर ३ सकरपुरामा भत्किन लागेको खाँडो नदीको बाँधलाई स्थानीय युवाहरुले बाँध मर्मत गरी भत्किनबाट जोगाएको दामोदर मुखियाले बताए। उनीहरुलाई गाउँपालिकाले तीन हजार बोरा र जाली उपलब्ध गराएको थियो।