बाढीबाट जोगिन धुरीमा चढेकी महिलाको लडेर मृत्यु
राजविराज : सप्तकोसी नगरपालिका–७ बनिगामाको बाढीमा डुबेर एक महिलाको मृत्यु भएको छ। डुबानबाट जोगिन घरको धुरीमा चढेकी श्यामकुमारी चौधरीको धुरीबाट लडेर मृत्यु भएको हो।
बाढीबाट जोगिन छतमा बसेका ४ बालबालिकालाई भने जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरी बल समेतको टोलीले सकुशल उद्दार गरेको छ। त्रियुगा नदीको बाढी बस्तीमा पस्दा बनिगामाका करिब ३०० परिवार विस्थापित भएको नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले बताए।
अबिरल बर्षाको कारण त्रियुगा खोलामा आएको बाढीले खोलाको बाँधनाघि सप्तकोसी नगरपालिका–३मा रहेका ५० घर र वडा–७ का ४० घरमा दुई फिट पानी जमेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितको प्रहरी टोली उद्दारका लागि सो क्षेत्रमा पुगेको छ।
सप्तरीको सप्तकोसी नगरपालिकाको हेड बाँधदेखि तल त्रियुगा पुल मुनिको नयाँ निर्माण गरिएको बालुवाको बाँध ठाउँ–ठाउँमा चिरा परी फुट्ने अबस्थामा पुगेको छ। सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा हेड बाँधको पारुहाङ चोक क्षेत्रका करिब १०० घरमा बाढी पसेको छ। त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरको नयाँ बजार सप्तकोसीको बनिगामा लगायत सिद्धिपुर, सखुवनी, बोची गाउँ पुरै डुबानमा परेको स्थानीय खगेन्द्र कार्कीले बताए।
अमाहा, जुटपानी, बाँदर खोपी लगायतका खहरे खोलामा आएको बाढीले खोरिया टोलका करिब ५० घर डुबानमा परेका छन्। सप्तरी र उदयपुरको सीमामा पर्ने त्रियुगा नदीको बाँध फुटेको छ। निरन्तर वर्षा भइरहेकोले नदीमा पानीको बहाबले त्रियुगा नदीको सप्तरीतर्फको बाँध समेत फुट्ने जोखिम बढेको स्थानीय धर्मबहादुर खत्रीले बताए।
बाँध फुटेमा सप्तकोसी क्षेत्रका सयौं घर डुबानमा पर्ने सम्भावना बढेपछि सो क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सर्न थालेका छन्। वर्षा जारी रहेकाले आवागमनमा कठिनाई भएकाले उनीहरुले घरका समानहरु निकाल्न पाएका छैनन। पहाडमा समेत बर्षा भइरहेकोले उदयपुरको चुरे क्षेत्रअन्तर्गत रौता पोखरी हुँदै आउने त्रियुगा नदीमा पानीको बहाब बढेको छ।