ज्वाइँले गरे सासूको हत्या
सन्धिखर्क : अर्घाखाँचीको सितगंगा नगरपालिकामा मदिरा पिएर मातिएका ज्वाइँले आफ्नै सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्। दाङ जिल्ला राप्ति गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासू ४३ वर्षीय इन्द्रा कुमालको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।
माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए। झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्सा कोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए।
उक्त विषयमा सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेशबहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ। प्रहरीले अभियुक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।