चुरे दोहनले बढी क्षति

चुरे दोहनले बढी क्षति

सिरहा : चुरे दोहन र अनियन्त्रित उत्खनन्का कारण कमला नदीमा आएको बाढीले यो वर्ष बढी क्षति पुर्‍यायो। चुरेमा दिनदिनै रूख विरुवा फडानी भइरहेकाले वर्षाको पानी ‘होल्ड’ हुँदैन। बाढीमा बगाएर ल्याएका बालुवाले कमला नदीको सतह उकासिँदै गएको छ। तटबन्धको उचाई अपर्याप्त भएको छ। कमलाको तटबन्धमा रहेको निर्माणाधीन ‘एन्टी फल्ड स्वीलिस’बाट पनि गाउँगाउँमा बाढीको पानी पसेको थियो।

कमला नदी नियन्त्रण आयोजना जनकपुरका आयोजना प्रमुख मनोहरकुमार साहका अनुसार अहिले मौसममा भएको फेरबदलको प्रभाव छोटो समयमै अत्याधिक र तीव्र वर्षा हुने गरेको छ। ‘पहिला पहिला झरी लाग्थ्यो। सात दिनसम्म झरी लागेर पानी चुरेबाट होल्ड गरेर आउथ्यो’, उनले भने, ‘अहिलेमाथि जंगल बिनास हुँदै गइरहेको छ। अव्यवस्थित तरिकाले निर्माणका काम भएका छन्। जसको कारणले एकछिनमै वर्षाको पानी तल बगेर विपद्को रुप लिन्छ।’

चुरेमा पानी होल्ड गर्ने क्षमता बनाउन नसकेसम्म यस्तो समस्या देखा परिरहने उनले बताए। यो वर्ष बाँधको क्षमता भन्दा बढी पानी बहाब भएकोले ठाउँठाउँमा बाँधमा क्षति पुगेको उनले जानकारी दिए। ‘कमला नदीमा यो वर्ष प्रतिसेकेन्ड ५ हजार ९१४ घनमिटर पानीको बहाब थियो। जबकी बाँधको ४ हजार घनमिटर प्रतिसेकेन्ड पानी बहाब थेग्ने क्षमता छ’, उनले भने, ‘अवैज्ञानिक उत्खननले तटबन्ध र भौतिक संरचानासमेत जोखिममा पर्दै गएको छ।’ भारतको जयनगरमा रहेका कमला ब्यारेजको क्षमता पनि अपर्याप्त देखिएको उनले सुनाए।

कमला नदीबाट हुने क्षति रोक्न चुरेमा वृक्षारोपण, अनियन्त्रित उत्खननमा रोक र बाँध भएर गुड्ने अत्यधिक क्षमताको बहाबमा रोक लगाउनु पर्ने आयोजना प्रमुख साहले सुझाए।

बाढीको कारण स्वीलिस पनि

सिरहा नगरपालिका वडा नं ६ र १२ र कल्याणपुर नगरपालिका वडा नं १२ र ३ मा रहेको निर्माणाधिन एन्टी फल्ड स्वीलिसबाट कमलाको बाढी गाउँगाउँमा पसेको हो। स्वीलिसमा गेट (फाटक) लागेको छैन।

समय अभावले स्वीलिसमा गेट लगाउन नसकेको आयोजना प्रमुख साहले बताए। ‘जहाँ जहाँ कमलमा स–साना नदी वा खोल्सा जोडिएको छ। त्यहाँ स्वीलिस निर्माण गरिएका छन्’, उनले भने, ‘कमलामा बढी पानी भएको बेला गेट बन्द गर्ने र बाहिर पानी बढी भएको बेला कमलामा पसाउन स्वीलिस बनाउँदैछौं।’

बाँधको डिजाइन गलत

आव २०६४/६५ देखि कमला नदीको सिरहापट्टी पूर्वी तटबन्ध र धनुषापट्टि पश्चिमी तटबन्ध निर्माणको काम थालिएको छ। आव ०७५/७६ मा काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर, पुरा भएन। ‘१५ वर्ष अगाडि गरिएको डिजाइन अनुसार अहिले काम भइरहेको छ’, आयोजना प्रमुख साहले भने, ‘अब त्यो डिजाइन फेर्नुपर्छ।’

डिजाइन गर्दा ४ हजार घनमिटर पानी प्रतिसेकेन्ड पास भनिएको छ। यो वर्ष कमला नदीमा आएको बाढी मापन गर्दा ५ हजार ९१४ घनमिटर पानी प्रतिसेकेन्ड पास भएको छ। डिजाइन भन्दा डेढ गुणा बढी पानी पास भएको हुनाले बाँधमा क्षति पुगेको उनले बताए। ‘भारतको जयनगरस्थित कमला ब्यारेजमा बाढीको पानी पास गर्न नसकेर २ मिटरमाथिबाट बगेको थियो’, उनले भने, ‘ब्यारेजमा पानी ठोक्किएर फर्किएपछि नेपालतिर ३ किलोमिटरको रेन्जमा तटबन्धको ठाउँठाउँमा क्षति गरेको छ।’

नेपाल र भारत सरकारको ३ अर्ब ५० करोड लगानीमा कमलामा तटबन्ध निर्माण भइरहेको छ। आयोजना प्रमुख साहका अनुसार दुई जिल्ला गरी ६८ किलोमिटरमा सिरहातिर ३४ किलोमिटर र धनुषामा ३३ किलोमिटर तटबन्ध निर्माण भएको छ। अहिले गरिएको सर्वेमा ६२ किलोमिटरमा बाँधमा ७ सय मिटरमा बाढीले क्षति भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.