पर्यटक क्षेत्र चिनाउन 'डोल्पो भ्रमण वर्ष-२०२०' हुने
दुनै,डोल्पा : डोल्पो महोत्सव भदौमा हुने भएको छ। डोल्पो भ्रमण वर्ष २०२० को लक्ष्य राखेर डोल्पो महोत्सव आयोजना गर्न लागिएको हो। विश्वकै अग्लो मानववस्ती रहेको डोल्पा बुद्ध गाउँपालिकाको धो उपत्यकामा पहिलो पटक डोल्पो महोत्सवको आयोजना गरी डोल्पा भ्रमण वर्ष २०२० को सन्देश दिन लागिएको हो।
भदौ २४ गते देखि २८ गतेसम्म हुने डोल्पो महोत्सव भव्यरुपमा सफल पार्न विभिन्न ११ वटा उपसमिति गठन गरेर जिल्लाबासी एकजुट भएको महोत्सव आयोजक मुल समारोह समितिका अध्यक्ष ग्याल्बो भोटे थापाले जानकारी दिए।
डोल्पालाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउनुका साथै नेपाल भ्रमण वर्ष २०२० र कर्णाली भ्रमण वर्ष २०२० का साथै डोल्पा भ्रमण वर्ष २०२० का रुपमा डोल्पो महोत्सव गर्न लागिएको समेत आयोजकको दावी छ।
नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने लक्ष्यका साथ सरकारद्वारा घोषित समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानको साझेदार बन्न डोल्पो महोत्सव २०७६ आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
डोल्पाको पर्यटनलाई टेवा पुर्याउन डोल्पो क्षेत्रको वर्तमान समस्याको उजागर गरी दिगो विकास गर्न र डोल्पाको पयर्टकीय क्षेत्रलाई विश्वसामु चिनाउन डोल्पो महोत्सवको आयोजना गरिउको प्रचारप्रसार समितिका संयोजक बबिकिशोर गुरुङले जानकारी दिए।
महोत्सवमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र दिगो विकासमा डोल्पालाई जोड्ने लक्ष्य रहेको मुल आयोजक समितिले जानकारी दिएको छ। संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको विशेष आर्थिक सहयोगमा डोल्पो महोत्सव मनाउन लागिएको अध्यक्ष ग्याल्बो भोटे थापाले जानकारी दिए।
प्रचार प्रशारका लागि लाग्ने खर्च कर्णाली प्रदेश उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले खर्च गर्ने मन्त्री नन्दसिंह बुढाले बताए। महोत्सवमा लामाबाट गुरु पूजा, वातावरण संरक्षणसम्बन्धी प्रवचन,घोडा दौड,लामा मुखोडा नृत्य, डोल्पो विकासबारे बौद्धिक व्यक्तिको छलफललगायतका दर्जनौ कार्यक्रम तय गरिएको छ। महोत्सवमा धो उपत्यकामा रहेको क्रिष्टल माउण्टेन विद्यालयको रजत जयन्ती समेत मनाइने भएको छ।