चौंरीफर्म पुन: स्थापना हुँदै
डोल्पा : राजनीतिक खिचातानीका कारण बन्द भएको चौंरीफर्म स्रोत केन्द्र पुनस्र्थापना हुने भएको छ। जिल्लामा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न २०४५ सालमा चौंरीफर्म स्थापना गरिएको थियो। तर २०५५ सालमा बन्द गरिएको उक्त चौंरीफर्म पुनःस्थापना गर्न लागिएको हो।
स्थानीय किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले चौंरीफर्म स्रोत केन्द्र स्थापना गर्न लागिएको हो। चौंरी प्रजनन्, चौंरीको दूध, चीज तथा ऊन उत्पादन गरी रोजगारी सिर्जन गर्न घोडाखोरमा चौंरीफर्म स्थापना गर्न लागिएको छ। बन्द भएको चौंरीफर्मलाई पुनस्र्थापना गर्न संघीय सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक करोड लागतमास्रोत केन्द्र स्थापना हुने भएको हो।
त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ११ मा पर्ने घोडाखोरमा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ डोल्पामार्फत निमार्ण सुरु गरिएको छ। उक्त स्रोत केन्द्रले चौंरीका साँडे, दूध, दूधबाट चीज तथा ऊन उत्पादन गर्ने लक्ष्य छ। यसले स्थानीयलाई रोजगारी मिल्ने पशु चिकित्सक चन्द्रलाल धरलाले बताए। स्थानीय समुदायमार्फत सञ्चालन गर्ने गरी चौंरीफर्म स्रोत केन्दको निमार्ण सुरु गरिएको हो। डोल्पामा चौंरीपालन व्यवसाय राम्रो भएकाले चौंरीपालन प्रवद्र्धनका लागि यो फर्म स्थापना गर्न लागिएको हो।
स्थापनाका लागि काम सुरु भएकोमा वडा सदस्य मनराज पुनले खुशी व्यक्ति गरे। लामो समयदेखि गुमेको चौंरीफर्म पुनस्थापित हुँदा आफूहरूको खुसी फर्किएको स्थानीय गौरीलाल घर्तीले बताए। चौंरीफर्म स्रोत केन्द्र स्थापना समितिका अध्यक्ष देवी घर्तीले विगतको जस्तै बन्द नहुने गरी अब दीर्घकालीन रूपमा स्थायी स्रोत केन्द्रका लागि कर्मचारीको व्यवस्था गर्नुपर्ने बताइन्। पहिलो चरणमा घोडाखोरमा चौंरीको खोरस्थापना तथा घेराबार निमार्ण र स्रोत भवन निर्माण सुरु गरिएको छ। यो स्रोत केन्द्रले चौंरी उत्पादनपछि छिमेकी जिल्ला जुम्ला, मुगु र हुम्लाका चौंरीपालन व्यवसायीलाई समेत राहत पुग्नेछ।