स्थानीयले पाएनन् चामल
उदयपुर : हेलिकप्टरबाट चामल लगायतका उपभोग्य सामग्री आउँछ र बाँडफाँड गरेर चुलोमा खाना पकाउँला भन्ने लिम्चुङ्गवासीको सपना बिहिबार पनि पुरा हुन सकेन। हेलिकप्टरमा खाद्यान्न आउँछ भनेर चामल लिन आएका अधिकांश स्थानीय रित्तो हात घर फर्केका छन्।
चामल लिनकै लागि ५ वटा वडामध्ये वडा नम्बर ४ बाहेकका सबैबाट भेला भएको गाउँपालिका–३ की चुडामाया खत्रीले बताइन्। ‘एक सातादेखि घरमा खाने केही छैन, कतिबेला चामल आउँछ र खाउँला भनेको त्यो पनि आएन, अब के गर्ने होला ? ’ बिहीबार बिहानैदेखि हेलिकप्टरले चामल ओसार्ने र बाँड्ने खबरले लिम्चुङ्गबुङ्गवासी उत्साहित थिए। खबर पाएसँगै गाउँपालिका केन्द्र लाइन लाग्न पुगेका स्थानीय अन्नतः साँझ रित्तो हात घर फर्किएका छन्।
चामल पाउने आशमा गाउँपालिका केन्द्र पुगेका सर्वसाधारण शुक्रबार चामल पाउने भनेपछि घर नफर्की आफन्तकोमा बास बसेका छन्। मौसमका खराब भएपछि लिम्चुङ्गबुङ्गका लागि खाद्यान्न लिएर आएको हेलिकप्टर ताप्लि गाउँपालिका पुग्यो। खाद्यान्न संकटको सामना गरिरहेको गाउँपालिकाा बिहिबार दुई/दुईपटकका दरले खाद्यान्न ढुवानी गर्ने योजना बनाइएको थियो।
सोही योजनाअनुसार बिराटनगर विमानस्थलबाट खाद्यान्न लिएर साढे १२ बजे उडेको नेपाली सेनाको हेलिकप्टरले लिम्चुङ्गबुङ्गमा खाद्यान्न झार्न दुईपटक प्रयास गरे पनि सम्भव नभएपछि एक घण्टा लगाएर ताप्लिमा झारेर फर्किएको थियो। आकाशमा बाक्लो हुस्सु लागेका कारण चालकले उक्त गाउँपालिकामा अवतरण गराउन कठिनाई भएको जानकारी गराएपछि सिधै ताप्लि लगिएको हो।
‘पहिलो दुई ट्रिप लिम्चुङ्गबुङ्गमा लैजाने र त्यसपछि ताप्लि लैजाने योजना थियो,’ हेलीकोप्टरमा सवारत उदयपुरका प्रदेश सांसद नारायण बुर्जामगरले भने, ‘दुवैपटक बाक्लो हुस्सु नखुलेपछि ताप्लि लगिएको हो, आजको प्रयास असफल भयो, शुक्ररबा पुनः प्रयास गर्छौं।’ प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले दुवै गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको थियो।
दुई गाउँपालिकाका लागि ७ सय क्वीन्टल चामल, ७० क्वीन्टल दाल, ७० क्वीन्टल नुन, ७ हजार लिटर खाने तेल उपलब्ध गराउने र ढुवानीका लागि संघीय सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए। बाढिपहिरोले ग्रामीण सडक क्षतिग्रस्त बनाएपछि लिम्चुङ्गबुङ्ग गाउँपालिकाले संकटग्रस्त क्षेत्र घोषण गरी खाद्यान्न संकट समाधानका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गरेको थियो।
प्रदेश सरकारले खाद्यान्न र संघले ढुवानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्। दुई गाउँपालिका लागि १५ हजार ६२ किलो चामल, एक हजार ५ सय ५ किलो दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत् व्यावस्थापन समितिले सिफारिस गरेको थियो।
चारपटकमा सबै खाद्यान्न ढुवानी नहुने देखिएपछि थप समस्या देखापरेको छ। गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर चारपटक मात्र ढुवानी गर्ने गरी उपलब्ध गराएपछि थप ढुवानीका लागि समस्या देखिएको सांसद नारायण बुर्जामगरले बताए। उनले भने, ‘गृहमन्त्रालयले चारपटकका लागि हेलिकप्टर दिएको हो, त्यसमध्ये दुईपटक प्रयोग भइसक्यो, बाँकी दुई पटक सम्भव भएसम्म शुक्रबार बिहान प्रयास गर्छौ, त्यसपछिको समस्याका लागि पुनः छलफल गरेर निकास निकाल्छौ।’
मुख्यमन्त्री शेरधन राईले भौतिक योजना मन्त्रालयलाई तत्काल सडक सूचारुका लागि निर्देशन दिइसकेको बताए। १४ हजार ५ सय ६२ ताप्लि र ११ हजार ९ सय ६२ लिम्चुङ्गबुङ्गमा गरी कुल २६ हजार ५ सय २४ जनसंख्या रहेको दुवै गाउँपालिकामा प्रदेश सरकारले उपलब्ध गराएको खाद्यान्न सात दिनसम्म पुग्ने अनुमान गरिएको छ।