८० लाखका बाख्रा वितरण
सन्धिखर्क : पाणिनी गाउँपालिकालाई बोयर हबको रूपमा विकास गर्न बोयर जातका बोका र बाख्रा किसानलाई हस्तान्तरण गरिएको छ। प्रतिबाख्रा औसत तीन लाख लागतमा अस्ट्रेलियाबाट खरिद गरेर ल्याएका बोयर बाख्रा पाएपछि कृषक अत्यन्तै हर्षित भएका छन्।
गाउँपालिकाभित्रका किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोयर जातका बोका र बाख्रा वितरण गरिएको हो। अस्ट्रेलियाबाट शतप्रतिशत बोयर जातका बाख्रा खरिद गरेर ल्याई स्रोत केन्द्रको रूपमा स्थापना गर्ने स्थानीय तह पाणिनी गाउँपालिका नेपालमै पहिलो हुन सफल भएको छ।
अस्ट्रेलियाबाट ८० लाखको लागतमा १६ पाठी र ८ वटा बोका खरिद गरेर ल्याई शतप्रतिशत बोयर बोका र बाख्रा कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए। बोयर बाख्रा हस्तान्तरण गर्दै गौतमले अबको ५ वर्षभित्र गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए।
पाणिनी गाउँपालिकाले तीन ठाउँमा बोयर बाख्रको श्रोत केन्द्र स्थापना गरेको छ। वाड नम्बर २ को पोखराथोक, ५ को मैदान र ७ को अडगुरीमा बोयर बाख्राको स्रोत केन्द्र स्थापना गरिएको हो। ती स्रोत केन्द्रमा पाठी र बोका प्रदान गरिएको छ। स्रोत केन्द्र स्थापना नभएका वडामा एक एक वटा बोयर बोका कृषकलाई दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले बताए।
बोयर जातका बाख्राको स्रोत केन्द्र र बाख्राका लागि कार्यविधि बनाएर बाख्रा ल्याइएको हो। बाख्राको दाना, औषधिमुलो सबै गाउँपालिकाले गर्ने व्यवस्था गरिएको छ। जसका लागि औषधोपचार गर्न प्राविधिकलाई तालिम प्रदान गरिएको छ।
गाउँपालिकाले आयआर्जनको माध्यमबाट बेरोजगार युवालाई स्वरोजगार बनाउन बोयर बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले जानकारी दिइन्। अस्ट्रेलियाबाट शतप्रतिशत बोयर जातका बाख्रा खरिद गरेर ल्याई स्रोत केन्द्र रूपमा स्थापना गर्ने स्थानीय तहमध्ये पाणिनी गाउँपालिका पहिलो भएको छ। पाणिनी गाउँपालिकालाई बोयर हबको रूपमा विकास गर्न कृषकले प्रतिबद्धता व्यक्त गरेका छन्।