तरकारी र फलफूलको विषादी जाँचिदैन अचेल

तरकारी र फलफूलको विषादी जाँचिदैन अचेल

विराटनगर : सरकारले भारतसहित तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफूललको विषादी परीक्षण थाल्नासाथ प्रदेश १ सरकारले विराटनगरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्यायो।

प्रदेश सरकारले प्रयोगशाला सञ्चालन गर्दा सबैलाई लागेको थियो, अब जोगबनी नाका हुँदै आउने तरकारी र फलफूललको विषादी यहीं परीक्षण हुन्छ र बजार भित्रन्छ। तर, अहिले विराटनगरस्थित प्रयोगशालाका कर्मचारी कामविहीन भएका छन्। प्रयोगशाला सञ्चालनमा आएपछि विराटनगर भन्सार हुँदै जोगबनीबाट नेपाल भित्रिने तरकारी तथा फलफूललको परीक्षण एकपटक पनि भएको छैन।

प्रयोगशालाका कर्मचारी विराटनगरका बजारमा गएर बिक्रीका लागि राखिएको तरकारी र फलफूललको नमुना ल्याउँछन् र परीक्षण गरेर औपचारिकता पूरा गर्छन्। कामै नहुँदा बिहान एकछिन खोलेर बन्द गर्ने गरेको प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बराल बताउँछन्। ‘कहिलेकाहीं सुनसरीको भन्टाबारी नाकाबाट नमुना आउँछ, नत्र हामी विराटनगरकै बजारमा गएर नमुना संकलन गरी परीक्षण गर्छौं’, जोगबनीको आएकै छैन,’ बरालले भने।

प्रदेश १ का लागि संघीय सरकारले तीन वर्षअघि झापाको बिर्तामोडमा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका कर्मचारीलाई भने भ्याइ–नभ्याइ छ। ‘सुनसरी र काँकडभिट्टा नाकाबाट नमुना परीक्षणका लागि आउनेको लाइन हुन्छ। दैनिक ३०/३५ वटा सम्म नमुना परीक्षण गर्नुपर्ने हुँदा बस्न, खाजा खान र आराम गर्न फुर्सद हुँदैन,’ बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन्।

सर्वोच्च अदालतको आदेशपछि असार २७ गतेबाटै झापाको काँकडभिट्टा र सुनसरीको भन्टाबारीबाट भित्रिने तरकारी तथा फलफूललको विषादी मापन पुनः सुरु गरिँदा नमुना परीक्षणका लागि बिर्तामोडमा व्यापारीको दैनिक भीड बढ्ने गरेको छ। नमुना परीक्षणका लागि आउनेलाई सकेसम्म एकै दिनमा नत्र भोलिपल्ट बिहानसम्ममा नमुना परीक्षणको पत्र दिने गरेको प्राविधिक सहायक आचार्य बताउँछिन्।

काँकडभिट्टा भन्सारबाट ठूलो परिमाणमा तरकारी र फलफूलल भित्रने हुँदा बिर्तामोडको प्रयोगशालामा भीड बढेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए। ‘तरकारीका सवारीसाधन भन्सार ‘यार्ड’ मा नभई यात्रु शाखामा राखिने गरेको छ। यात्रु शाखाबाट भन्सारको पत्रसहित प्रयोगशालामा तरकारी तथा फलफूलका नमुना पठाइने गरिएको छ,’ अधिकृत अर्यालले भने।

भन्सारले टेरेन सर्वोच्चको आदेश

‘विषादी मापन नरोक्नू’ भन्ने सर्वोच्च अदालतको दोस्रो आदेश मेची भन्सार र सुनसरी भन्सारले कार्यान्वयन गरे पनि विराटनगर भन्सारले बेवास्ता गरेको छ। सर्वोच्चको आदेशपछि मेची भन्सार कार्यालय हुँदै काँकडभिट्टा नाका र सुनसरी भन्सार हुँदै भन्टाबारी नाकाबाट आयात हुने तरकारी तथा फलफूललको विषादी मापन गत असार २७ बाट पुनः सुरु हुँदा विराटनगर भन्सारले बिनाजाँच दैनिक सैयौं ट्रक नेपाल भित्र्याइरहेको छ।

सरकारले भन्सारलाई पुनः विषादी मापन गरेर मात्रै आयात गर्न पत्राचार नगरेकाले विषादी मापन नगरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीले बताए। ‘अरु भन्सारले कुन आधारमा विषादी परीक्षण गराएर मात्रै भित्र्याएका हुन् थाहा भएन, तर, हामीले सरकारको पत्र नआई रोक्न मिल्दैन,’ उनले भने।

काँकडभिट्टा र सुनसरी भन्सार प्रमुखले भने सर्वोच्चले आदेश दिनासाथ भन्सार पनि सरकारी निकाय भएकाले आफ्नै कर्तव्य ठानी परीक्षण गराएर मात्रै नेपाल प्रवेश गर्न दिएको बताएका छन्। तर, विराटनगर भन्सारका कर्मचारी भने पत्रको बहाना बनाएर विषादी युक्त तरकारी नेपाल पठाउनमा आफंै लागिपरेको देखिन्छ। सर्वोच्चले भन्सारलाई नभई सरकारलाई आदेश दिएको र सरकारले भन्सारलाई पत्र नपठाएसम्म तरकारी तथा फलफूलल बोकेका ट्रक नरोक्ने प्रमुख भन्सार अधिकृत अधिकारीको तर्क छ। ‘पत्र आए सोहीअनुसार हुन्छ, नत्र रोक्न मिल्दैन,’ भन्सार प्रमुख अधिकारी भन्छन्।

भारतबाट तरकारी तथा फलफूलल आयात गर्ने नेपाली तथा भारतीय व्यापारीको दबाब र प्रभावका कारण विराटनगर भन्सारले परीक्षण नगरी नेपाल भिœयाएको काँकडभिट्टा र सुनसरी नाकाबाट आयात गर्ने व्यापारी बताउँछन्। ‘पहिले विषादी मापन गर्दा धेरै दिन ट्रक रोकिए, त्यो नाकाबाट भारतीय ठूला व्यापारीले नै तरकारी र फलफूलल भिœयाउँछन्। उनीहरुको प्रभाव र दबाब पनि भन्सारमा ठूलै हुन्छ,’ सुनसरीका व्यापारी उद्धव यादव बताउँछन्। अन्य भन्सारले विषादी मापन गरेर मात्रै पठाउने र विराटनगरले नगरी खुलेआम पठाउनु आश्चर्यजनक भएको उनले बताए।

सर्वोच्चको पहिलो आदेश आउनसाथ भन्सार कार्यालयकै सक्रियतामा विषादी मापन गरेरमात्रै नेपाल भित्र्याउन थालेको सुनसरी भन्सार कार्यालयका प्रमुख प्रमोद दासले बताए। ‘सर्वोच्चले आदेश दिएको सबैलाई थाहा छ। पहिले गरेकै कामलाई निरन्तरता दिनू भन्ने आदेश भएकाले हामीले नाकाबाट आउने तरकारी तथा फलफूललको परीक्षण गरेर मात्र आयात गरेका हौं,’ प्रमुख दासले भने। भन्सार पनि सरकारी कार्यालय भएकैले पत्र नपर्खी काम गरेको दासको भनाइ छ।

सुनसरी भन्सार कार्यालय हुँदै भन्टाबारी नाकाबाट दैनिक ८ देखि १० वटा तरकारी तथा फलफूलल बोकेको ट्रक नेपाल भित्रने र तिनीहरूको नमुना बिर्तामोड लगेर परीक्षण गर्ने गरिएको सुनसरी भन्सार कार्यालयका प्रमुख प्रमोद दासले बताए। ‘धेरै आउने काँकडभिट्टा र विराटनगर हो, यहाँबाट दैनिक ८/१० ट्रक आउँछ। हामीले सर्वोच्चले आदेश दिनासाथ नमुना परीक्षणपछि मात्र भित्र्याउन सुरु गरेका छौं,’ दासले भने।

विराटनगरमा हालै सुरु भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा दैनिक ८० वटासम्म नमुना परीक्षण गर्न सक्षम रहे पनि सरकारको आदेश नआएको भन्दै विराटनगर भन्सारले नमुना संकलन गर्न पठाएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.