आहा रारा फुटबलको बचत १७ वर्षकै कम
पोखरा : चर्चित आहा रारा गोल्डकपको १७ औं शृंखलामा डेढ लाख रुपैयाँ बचत भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ। यो त्यसअघिका शृंखलाको दाँजोमा निकै कम बचत हो।
देशकै चर्चित फुटबल प्रतियोगिताका आजसम्मकै शृंखलामा गएको वर्ष सबैभन्दा कम आम्दानी र बचत भएको क्लब अध्यक्ष थापा सुनाउँछन्। एक त रंगशाला निर्माणाधीन थियो भने अर्कोतर्फ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहारालाई समय बेलामा उपलब्ध गराएको थिएन। प्रतियोगिता गर्ने नगर्ने धरमरका बीच आयोजना भएको थियो।
पहिलापहिला पोखरामा आहा रारा गोल्डकपमात्रै अन्तर्राष्ट्रिय स्तरको फुटबल हुन्थ्यो भने गतवर्ष एन्फा कास्कीले समेत अर्काे प्रतियोगिता गर्दा दर्शक बाँडिएका थिए।
फुटबल प्रतियोगिताको आम्दानीबाट सहारा क्लबले कठिन र विपन्न परिस्थितिको परिवारका बालकहरुलाई पढाउँदै र फुटबल सिकाउँदै आएको छ। क्लबले फुटबल एकेडेमीका लागि १ करोड २० लाख रुपैयाँको अक्षयकोशसमेत निर्माण गरेको छ। त्यसलाई बढाएर २ करोड रुपैयाँ पुर्याउने क्लबको लक्ष्य हो। एकेडेमीमा २८ बालक छन्।
क्लबका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सहसंयोजक राजु लालचनले १७ औं शृंखलाको आहा रारा गोल्डकपमा ७० लाख ७८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिए। खर्च भने ६९ लाख २९ हजार रुपैयाँ भएको थियो। १५ लाख ५० हजार रुपैयाँ आम्दानी थियो भने ब्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार रुपैयाँ संकलन भएको तुलाचनले बताए।
मुख्य प्रायोजक आहा रारा तयारी चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिले १३ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराएको थियो। राखेप र गोर्खा ब्रुअरीले ४-४ लाख, हिमाअस एजुकेसन कन्सल्टेन्सील ४ लाख रुपैयाँ दिएका थिए।