निगमको जापान उडान भदौ १२ मा
काठमाडौं : नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान निर्धारित तालिका अनुसार भदौ १२ मै गर्ने भएको छ। यसअघि असार १९ गतेलाई तय गरेको निगमको काठमाडौं–ओसा दुईतर्फी उडान यात्रु अभावकै कारण रद्द गरिएको थियो। जापानका लागि तय भइसकेको उडान नाफा/घाटा जे भए पनि अब नरोकिने निगमका प्रवक्ता गणेशबहादुर चन्दले शनिबार अन्नपूर्णलाई जानकारी दिए।
उनका अनुसार सुरुको उडानमा नाफा गर्न सकिँदैन। उडान गर्दै जाँदा यात्रुको विश्वास बढ्ने र नाफा पनि हुने भएकाले भदौ १२ देखि तय भएको ओसाका उडानमा निगमले नाफा–घाटा नहेर्ने भएको छ। ‘घाटा हुन्छ भनेर उडान रोक्दै जाने हो भने यात्रुको विश्वसनियता गुम्छ। एकैपटक २७४ सिटको वाइडबडी जहाज भरिन्छ भन्ने पनि हुँदैन। त्यसैले उडान गर्दै जाने छौं’, चन्दले भने।
हालसम्म जापानको ओसाका उडानमा करिब २० प्रतिशत टिकट बुकिङ आएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए। उनले भने, ‘यो भनेको अहिलेसम्म करिब ५५/६० जनाले मात्रै काठमाडौंबाट जापान जान टिकेट काटेका छन्। उडान समय आउन अझै करिब एक महिना नै बाँकी भएकाले त्यो बेलासम्म पर्याप्त यात्रु आउने विश्वास निगमको छ।
मिश्रका अनुसार उद्घाटन उडानको दिन मात्रै पूर्णक्षमतामा यात्रु आउनुपर्छ र आउन् भन्ने होइन्। त्यसपछि पनि निगमले निरन्तर उडान गरिहने भएकाले यात्रुले आफ्नो अनुकूलको समय निर्धारण गरेर टिकेट दिन सक्छन्। निगमले सातामा तीनवटा उडान गर्दै छ।
भदौ १२ भन्दा पछाडि यात्रुको राम्रो माग आउन सक्ने बुझाइ पनि उनको छ। काठमाडौंबाट जाने कम हुँदा जापानबाट फर्कने बढी पनि हुन सक्छन्। पहिलो दिनको उडानको निम्ति भन्दा अहिलेसम्म जापान जाने भन्दा जापानबाट फर्कने यात्रुको टिकट बुकिङ राम्रो रहेको पनि मिश्र बताउँछन्।
नारित उडानपछि थप सहज
निगमले जापानको अर्को सहर नारितमा पनि नियमित उडान अनुमति मागेको छ। यो विमानस्थलमा हुने नियमति उडानपछि जापानिज पर्यटकको संख्या बढ्ने भएको छ। निगले ओसाका उडानबाट विश्वास बढाउँदै जाने र नारितामा उडान सुरु गरेपछि थप विश्वसनिय हुने बुझाइ मिश्रको छ।
निगमले ओसाकामा नियमित उडान गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै नारितामा पनि दुई टा चार्टर उडानको माग आएको सहप्रवक्ता मिश्रले बताए। उनले भने, ‘नारितामा चार्टर उडान गर्न दुईवटाको माग आयो। सोही मागअनुसार निमगले सेप्टेम्बर २६ र अक्टोरब २ का लागि दुईवटा चार्टर उडान नारितामा गर्ने भएको छ। दुवै उडान काठमाडौंबाट गएको भोलिपल्ट मात्रै फर्कनेछ। यसका लागि निगमे सुमेघ टुर्स एन्ड ट्राभलसँग सम्झौता पनि गरेको छ।
निगमले एयरवसको ए३३०–२०० नामक वाइडबडीबाट गर्ने यो चार्टर उडानको समय १४ घण्टा ३० मिनेटको हुनेछ। यो समय दुईतर्फी उडानका लागि हो। निगमले यो विमानस्थल नियमति उडानको मागसमेत गरेको छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको र जापानबाट नियमित उडान अनुमतिको स्वीकृति भने आइसकेको छैन।
व्यवसायी असन्तुष्ट
हवाई टिकट काटेबापत ट्राभल कम्पनीले लिने सेवा शुल्क नउठाउने भन्ने सरकारी निर्णयप्रति व्यवसायी असन्तुष्ट भएका छन्। सरकारले गत असार १३ गते सर्कुलर गरेको अन्तर्राष्ट्रिय उडानका वायुसेवाको टिकट काट्दा व्यवसायीले लिँदै आएको सेवा शुल्क नलिनु भन्ने निर्णयलाई व्यवसायीले अव्यावहारिक भनेका छन्।
सोसाइटी अफ टुर एन्ड ट्राभल एजेन्ट्स (सोट्टो) नेपालका अध्यक्ष मधुसूदन उपाध्यायका अनुसार ‘हवाई कम्पनीले ट्राभल एजेन्सीलाई कमिसन दिन छोडेको धेरै समय भइसक्यो। अहिले व्यवसायीले शून्य प्रतिशतमा केबल सीमित सेवा शुल्क मात्रै लिएर टिकेटिङ व्यवसया गरेका छन्।’ उपाध्यायका अनुसार व्यवसायीले न्युनतम दुई सय रुपैयाँ सेवा शुल्क लिएर दिइरहेको सेवामा अब शुल्क नै नलिइ कसरी व्यवसाय गर्ने भनेर प्रश्न गरेका छन्।
पर्यटन मन्त्रालयले सचिव स्तरको निर्णयबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जनरल सेल्स एजेन्ट्स (जीएसए)ले हवाई टिकटमा अतिरिक्त शुल्क लिएकाले त्यसलाई हटाउने निर्णय गत असार १२ गते गरेको थियो। उक्त निर्णयअनुसार अतिरिक्त शुल्क उठाउने जीएसए तथा ट्राभल एजेन्टलाई कानुन बमोजिम काराबाही हुनेसम्मको चेतावनी दिएर विभिन्न पर्यटकीय संस्थामा पत्र पठाएको छ।
सरकारको यो निर्णयले व्यवसायीलाई चिढ्याउने र कार्यान्वयन नै गर्न नसकिने खालको रहेको एरोलिना ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका अनुसार जीएसए कम्पनीले तीनदेखि चार प्रतिशत शुल्क लिएर काम गरिरहेका छन्। यसबाहेक ट्राभल कम्पनीले कुनै कमिसन वा शुल्क पाउँदैन।
‘यस अघि सन् २००८ सम्ममा सबै टिकटिङ व्यवसायीले नौ प्रतिशतसम्म कमिसन पाउँथे। अहिले कुनै कमिसन बिना नै काम गर्नुपरेको छ’, खड्काले भने,‘व्यवसायीले आफूखुसी टिकटअनुसार दुई सयदेखि दुई हजार रुपैयाँसम्म यात्रु सेवा शुल्क लिएर काम गरेका छन्। अब यो शुल्क बिना त कसरी व्यवसाय चल्छ ?’