स्याङ्जामा बोलबम : कालीको जल तिलिचोमा
स्याङजा : स्याङजाको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न वालिङ बोलबम समितिले कालीगण्डकीको जल लगेर संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा मिसाउने भएको छ। शान्तिका लागि भन्दै बोलबम समितिले डेढ दशकदेखि धार्मिक यात्रा सुरु गर्दै आएको छ। हरेक वर्ष साउन महिनामा नेपालका विभिन्न धार्मिकस्थलमा कालिगण्डकीको जल चढाउने गरिन्छ।
सोही अभियानलाई निरन्तरता दिँदै समितिले धार्मिक प्रर्बद्धनका लागि मनाङको तिलिचो तालमा बोलबम यात्री आइतबार बिहान ७ बजेतिर त्यसतर्फ प्रस्थान गरेका छन्। सहभागी बोलबम यात्रीलाई वालिङ नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, प्रवक्ता केदार काफ्ले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, पतंजली समितिका पण्डित नेत्र पराजुलीलगायत नगरबासीले यात्राको शुभकामनासहित बिदाइ गरे।
२०२० लाई सरकारले पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेसँगै वालिङ बोलबमले पनि यस पटक धार्मिक पर्यटनमा प्रर्बद्धन गर्ने उदेश्यले धार्मिक यात्रा तय गरेको बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिए।
बिहानबाट सुरु भएको यात्रा सोमबार लम्जुङ्को इशानेश्वर महादेव मन्दिरमा कालीगण्डकीको जल चढाएर अघि बढ्ने बताइएको छ। त्यसपछि तिलिचो तालमा जल मिसाएर फर्कने कार्यक्रम छ। यात्रामा एउटै गेरु रङको पोशाक लगाएका ९३ जना बोलबम यात्री यात्रामा सहभागी रहेको समितिका सचिव अशोक तिवारीले बताए।
उनका अनुसार समितिले एक साताको यात्रा तय गरेको छ । १९ गतेदेखि यात्रा सुरु गरेर २० गते इशानेश्वर महादेवको पुजागरी बेसीशहरमा बास बस्ने, 22 गेत मनाङको खाङ्सार बेस क्याम्प र २३ गते तिलिचो ताल पुगेर फर्कने समय तालिका रहेको छ।
२०६१ सालबाट बोलबम समितिले हरेक साउन महिनामा मुलुकका विभिन्न धार्मिक तीर्थस्थल पुगेका छन्। मुक्तिनाथबाट पहिलो यात्रा सुरु गरेको समितिको यो १४ औं संस्करणको यात्रा हो।चौधौं संस्करणमा आउँदा समितिले पूर्वमेचीदेखि महाकालीसम्मका १४ वटै भिन्दाभिन्दै तीर्थस्थलमा पुगेका छन्।