लेकसाइड रातभर खुल्दा शान्ति बिथोलियो भन्दै रिट

लेकसाइड रातभर खुल्दा शान्ति बिथोलियो भन्दै रिट

पोखरा : पर्यटकीय सहर पोखराको बैदामका स्थानीयले फेवताल किनार (लेकसाइड) का डान्सबार, क्लब लगायत रात्रिकालीन व्यवसाय आचारसंहिताबिना राति अबेरसम्म खुल्दा शान्ति सुरक्षा खल्बलिएको भन्दै रिट दायर गरेका छन्। 

पर्यटन विकासका लागि पोखराको लेकसाइड २४ सै घण्टा खोल्नेबारे बहस चलिरहेको बेला स्थानीयले राति ९ बजे देखि ४ बजेसम्म अहिले सञ्चालनमा आएका डान्सबार, क्लब, दोहोरी साँझ लगायत यस्ता रात्रिकालीन व्यवसायबाट ध्वनि प्रदूषण, होहल्ला भएको भन्दै त्यसविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका हुन्।

स्थनीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र, होटल व्यवसायी समेत ४२ जनाले राति अबेर सम्म सञ्चालन हुने डान्स बार, क्याबिन, क्लब, दोहोरी साँझ,  लगायतका पर्यटन व्यवसायका कारण शान्ति सुरक्षा खलबलीएको भन्दै गण्डकी प्रदेश सरकार, मुख्मन्त्रीको कार्यालय, स्थानीय प्रशासन लगायतलाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट दायर गरेका हुन्।

रिटमा राति ९ बजे पछि बिहान ४ बजेसम्म पनि रेस्टुरेन्ट र डान्स क्लबमा होहल्ला हुने गरेकाले शान्तिसुरक्षामा जोखिम बढेको, होटलमा बस्ने पाहुना र स्थानीयलाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्ता व्यवसाय व्यवसाय राति बन्द गराउन अन्तरिम आदेश माग्दै रिट दायर गरिएको हो।

यसरी रिट दायर गर्नेमा पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचन र पूर्वअध्यक्ष गोविन्दराज पहारी पनि छन्। उनीहरुले संस्थागत नभएर स्थानीय बासिन्दाको हैसियतमा सहभागिता जनाएको बताएका छन्।

लेकसाइडलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने पक्षमा आफू रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए। ‘आचारसंहिता बनाएर शान्ति सुरक्षा कायम हुने गरी त्यस अनुसार अघि बढ्नुपर्छ’, उनले भने, ‘शान्ति सुरक्षाका लागि राति ९ बजे देखि आचार संहिता लागु हुने गरी अघि बढ्नुपर्छ।’

यो रिट पर्यटन व्यवसायकै हितमा रहेको पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष समेत रहेका स्थानीय गोविन्दराज पहारीले बताए। पर्यटकीय क्षेत्र लेकसाइडमा झै-झगडा भएर विश्व पर्यटन बजारमा नराम्रो सन्देश जानु अघि सचेत रहेर आचारसंहिता बनाएर अघि बढ्नुपर्ने उनले सुनाए।

पछिल्लो समयमा डान्सबारहरुले अदालतबाट धमाधम अन्तरिम आदेश ल्याएर कुनै आचारसंहिताबिना रातभर सञ्चालन हुने क्रम बढ्दा ध्वनि प्रदूषण बढेको, शान्ति सुरक्षा नभएको उनले बताए।

रेस्टुरेन्ट एन्ड बार एसोसिसन अफ नेपाल (रेबान) पोखराका महासचिव गणेशबहादुर थापाले पर्यटन राजधानी पोखरामा आउने पर्यटकलाई २४ सै घण्टा सेवा सुबिधा दिने गरी सञ्चालन गर्न पाउनुपर्ने बताए। अन्नपूर्ण पदायात्रा क्षेत्रमा गएर राति फर्कने, देशका बिभिन्न ठाउँबाट राति अबेर आउने पर्यटकलाई सेवा सुविधा दिन नसक्ने हो भने पर्यटन उद्योग अघि बढ्न नसक्ने उनले बताए।

पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई महिना सम्पन्न भएर सञ्चालनमा आउने गरी काम अघि बढेको छ। यसपछि विमानस्थल राति पनि सञ्चालनमा आउने छ। त्यसपछि रातमा आउने पर्यटकलाई पनि सेवा सुविधा दिन र मनोरञ्जन दिन पनि अहिलेबाटै २४ सै घण्टा व्यवसायी सञ्चालन गर्नुको विकल्प नरहेको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। यसका लागि अहिले नै रात्रिकालीन व्यवसाय निर्देशिका र मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गरिनुपर्ने उनले बताए। 

लेकसाइडमा राति सञ्चालन हुने व्यवसायलाई मर्यादिन बनाउन, शान्ति सुरक्षा कायम गर्न पहल गर्न स्थानीय प्रहरी प्रशासन र मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउँदा पनि समस्या समाधान नभएपछि अदालत जानुपरेको सामुलायिक सेवा केन्द्र बैदामकी अध्यक्ष मीना भट्टराईले बताइन्।

रिट निवेदनमा रात्रिकालीन व्यवसायमा प्रयोग हुने संगीतको ध्वनि प्रदूषण नियन्त्रण गर्नु पर्ने, चर्को रंगीबिरंगी बत्ती व्यावसायिक प्रतिष्ठान बाहिर जान रोक्नुपर्ने, सडकमा होहल्ला, झैझगडा गर्ने, ध्वनि प्रदूषणमा रोक लगाउनु पर्ने, अवान्छित गतिविधि अनुगमनका लागि स्थायी समिति व्यवस्था गर्न र बेलुका ८ बजेदेखि अनुगमन थाल्नुपर्ने लगायतका माग रहेका छन्।

व्यवसायीविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई सोमबार बोलाएको छ। अदालतले अवान्छिन र गैरकानुनी क्रियाकलाप हुन नदिने लगायत शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेश पनि दिएको छ।

गण्डकी प्रदेश सरकारले पर्यटनलाई नै समृद्धिको मुख्य आधार मनेर विकासका योजना अघि सारेको छ। त्यसै अनुसार सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषण गरेर मनाइरहेको छ।

सन् २०२२ मा २० लाख पर्यटक प्रदेशमा भित्र्याउने योजनाका साथ अघि बढेको समयमा आएका पर्यटकले नै सेवा नपाउने गरी पर्यटकीय क्षेत्रलाई ९ बजे नै बन्द गर्ने गरी विरोध आउनु उचित नभएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.