त्रिशूली थ्री ‘ए’को दोश्रो युनिटबाट विद्युत उत्पादन सुरु
नुवाकोट : माथिल्लो त्रिशूली थ्री ‘ए’जलविद्युत आयोजनाको दोश्रो युनिटबाट विद्युत उत्पादन सुरु भएको छ।
आउँदो भदौको दोश्रो सातापछि व्यवसायिक विद्युत उत्पादन सुचारु गर्ने लक्ष्य रहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।
उनका अनुसार आयोजनाको दोश्रो युनिटको ७२ घण्टे परीक्षण उत्पादन शुक्रबारदेखि सुरु भएको हो। पहिलो युनिटबाट एक महिना अघि नियमित विद्युत् उत्पादन सुरु भइसकेको छ।
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोडेर आयोजनाको उपकरण तथा प्रशारण लाइनको स्थितिका सम्बन्धमा परीक्षण भइरहेको आयोजना प्रमुख जोशीले बताए।
‘७२ घण्टे परीक्षण उत्पादनका क्रममा आयोजनाको टनेल, टर्बाइनजस्ता पूर्वाधार र उपकरणको परीक्षण भइरहेको छ’, उनले भने।
आयोजनाको विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ सबस्टेसनमा जोडिएको छ । आयोजनाको विद्युत गृह नुवाकोटको सदरमुकाम विदुरदेखि २५ किलोमिटर दुरीमा पर्छ।
दोस्रो युनिट असार दोस्रो साता सम्पन्न गर्ने लक्ष्य भए पनि उपकरण तथा संरचना निर्माणमा विविध ढिलाइका कारण एक महिना पछाडि धकेलिएको आयोजना प्रमुखको भनाइ छ।
आयोजना सञ्चालनमा आएसँगै जलाशययुक्त कुलेखानी आयोजनामा दबाब कम पर्ने नेपाल विद्युत् प्राधिकरणको विश्वास छ ।
उक्त आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गरिएको हो । आयोजनाले सुक्खायाममा समेत ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ।
कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) सँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।
चार वर्षभित्र अर्थात् २०७१ साल जेठ १७ भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। विद्युत गृह भूमिगत बनाउने वा सतही भन्ने विवाद, क्षमता बढाउने निर्णयलगायत विषयले आयोजना निर्माणमा ढिलाई भएको थियो।