चितुवाको खोरमा चोरीको काठ
बुटवल : बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी)मा रहेको चितुवाको खोरमा चोरीको काठ फेला परेको छ। डिभिजन वन कार्यालयको स्वीकृतिबिना रुख काटेर लुकाइएको अवस्थामा काठ फेला परेको हो।
डिभिजन वन कार्यालय रूपन्देहीका सहायक वन अधिकृत रवीन्द्र अधिकारीले २८ थान टिकका मुढा भेटिएको बताए। वन्यजन्तु कर्नरभित्र रहेको काठ कस्ले राख्यो भन्ने पहिचान नभएको उनले बताए।
चितुवा खेलिरहने स्थानमै काठ भेटिएको हो। यो काठको मूल्य करिब तीन लाख रहेको अुनमान गरिएको छ। मणिमुकुन्द सेन उद्यानका पदाधिकारी र बुटवल सामुदायिक वनका पदाधिकारीको मिलोमत्तोमा काठ चोरिएको स्थानीय उपभोक्ताले दाबी गरेका छन्।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइँटेलले काठ चोरीको विषयमा अनविज्ञता प्रकट गरे। ‘ढलेका काठ सामुदायिक वनलाई व्यवस्थापन गर्न भनेका थियौं, तर चितुवाको खोरमा कसरी काठ पुग्यो जानकारी छैन’, उनले भने। उनले खोरको रेखदेख गर्ने कर्मचारीलाई निगरानी र सोधपुछ गरिएको बताए।
सामुदायिक वनका उपभोक्ताहरूले खोरमा लुकाइएको केही काठ विक्री भएको दाबी गरेका छन्। बुटवल सामुदायिक वनभित्र रहेको फूलबारीमा चिडियाखाना रहेको छ। सोही क्षेत्रमा काठ लुकाइएको भेटिएको हो। बुटवल सामुदायिक वनका निवर्तमान अध्यक्ष माधव प्रधानले काठ चोरी गरेर विक्री गरिएको आरोप लगाए। बुटवल सामुदायिक वनमा नेतृत्वको विषयमा विवाद छ।