रुइसेमा पर्यटकीय पूर्वाधार
बेनी : रघुगंगा गाउँपालिका–२ स्थित रुइसेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार तयार पारिएको छ। सरकारी निकाय र समुदायको पहलमा रुइसेमा भ्यू टावर, वनभोजस्थल, पदमार्ग, सडक, तालिमहल, खानेपानीलगायत पूर्वाधार निर्माण भएको हो।
समुद्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित रुइसेबाट हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ। गाउँपालिकाले रुइसेमा तीनतले ३५ फिट अग्लो भ्यू टावर निर्माण गरेको वडाध्यक्ष रिम कटुवालले जानकारी दिए। उनका अनुसार भ्यू टावर बनाउन गाउँपालिकाले पछिल्लो दुई आर्थिक वर्षमा ३० लाख रुपैयाँ लगानी गरेको छ। ‘पर्यटकलाई आकर्षित गर्न भ्यू टावर बनाएका हौं’, वडाध्यक्ष कटुवालले भने, ‘पूर्वाधार निर्माणसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ।’
फलामको भर्याङबाट उक्लिन मिल्ने भ्यू टावरको दोस्रो र तेस्रो तलामा विश्राम गरेर वरपरका दृष्यावलोकन गर्न सकिन्छ। यसै वर्ष गाउँपालिकाको २० लाख रुपैयाँ लगानीमा रुइसेमै विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न डेढ सय जना क्षमताको भवन निर्माण भएको छ।
भ्यू टावर परिसरमा गत वर्ष सिजल गाउँदेखि सडक पुर्याइएको थियो। दग्नामको जंगलको मुहानबाट खानेपानी ल्याइएको छ। वनभोज खान जानेका लागि टहरा समेत बनाइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ। म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती र पहाडी भूगोलको समेत अवलोकन गर्न सकिने रुइसे धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वार हो।
रुइसेमा भ्यू टावर, वनभोजस्थल, पदमार्ग, सडक, तालिमहल, खानेपानीलगायत पूर्वाधार निर्माण गरिएको छ।
बेनी–जोमसोम सडक सञ्चालन भएसँगै पुरानो पदमार्ग विस्थापित भएपछि म्याग्दीको गलेश्वरदेखि धौलागिरि हिमालको दक्षिणी मोहोडा हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो। नौ वर्षअघि पहिचान भएको यो पदमार्ग सञ्चालनका लागि पूर्वाधार तयार पारिएको स्थानीयबासी समेत रहेका जीसस प्रमुख देवेन्द्र केसीले बताए। ‘सडकले पुराना पदमार्ग विस्थापित भएको अवस्थामा यो पदमार्ग म्याग्दी हुँदै मुस्ताङ घुम्न जाने पर्यटकका लागि उपयुक्त छ’, केसीले भने।
रुइसेलाई पर्यटन मन्त्रालयले १०० वटा नेपालको नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तब्यको सूचीमा समेटेको थियो। गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँ सहयोगमा विभिन्न ठाउँमा पदमार्ग, वि श्रामस्थल र भ्यू प्वाइन्ट बनाएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर भण्डारीले बताए।
रुइसेको फेदीदेखि भ्यू टावरसम्मको उकालो बाटोमा २०० मिटर पक्की र ११५ मिटर ढुंगे सिढीसहितको पदमार्ग बनाइएको छ। यसैगरी चिमखोलाको छहरी देखि धौलागिरि हिमालको आधारशिविर जाने बाटोमा ८१२ मिटर माटो खनेर र २५० मिटर ढुंगाको सिढी निर्माण भएको गाउँपालिकाका इन्जिनियर उज्जल रिजालले बताए।
रुइसेदेखि एक घण्टा उकालो हिँडेपछि पुगिने भेडीओडारको विशाल ढुंगालाई चारैतिर घेराबार गरिएको छ। पर्यटक सुरक्षाका लागि दुई सय मिटर घेराबार र बीचमा जस्तापाताले छाएर विश्रामस्थल बनाइएको छ। रुइसे पुग्न म्याग्दीको गलेश्वरदेखि पैदल साढे दुई घण्टा र गाडीमा एक घण्टा यात्रा गर्नुपर्छ। रुइसे पुग्ने पर्यटकले ऐतिहासिक भगवति कोत मन्दिर, नौलीबराह ताल र भेडिओडारको पनि अवलोकन गर्न सक्छन्।