इतिहासविद् दासको अन्तिम संस्कार
राजविराज : इतिहासविद् हरिकान्त लाल दासको जन्मस्थान राजविराज नगरपालिका ९ स्थित गढियामा मंगलबार दाह संस्कार गरिएको छ। दासको पार्थिव शरीरमा उनका छोरा सन्दिपले मुखाग्नी दिए।
मुटु तथा मधुमेह रोगबाट ग्रसित दासको ७८ वर्षको उमेरमा सोमबार राजविराज नगरपालिका ८ स्थित निवासमा निधन भएको थियो। पिता जयनारायण लाल दास ‘बच्चाबाबु’ र आमा अनसुया देवीको कोखबाट विसं १९९८ कात्तिक २९ गते सप्तरीको गढीया गाउँमा जन्मेका इतिहासविद् दास परिवारसहित राजविराज ८ मा बसोवास गर्दथे।
दासका श्रीमती विद्यादेवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन्।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा ३६ वर्षसम्म इतिहास विषयको प्राध्यापन गरेका सहप्राध्यापक दास इतिहास तथा संस्कृति विभाग प्रमुख थिए।
श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा २०७४ बैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोध–सम्मानले सम्मानित दासलाई २०७४ पुस ११ गते १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका अवसरमा संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो।
त्रिभुवन विश्वविद्यालयबाट २०४८ सालमा सम्मानित दास युनिभर्सल पिस फेडरेसनबाट सन् २०१५ मा शान्तिदुत र मैथिली साहित्य परिषद्बाट २०६९ सालमा शिवदत्त स्मृति पुरस्कारलगायतबाट पुरस्कृत छन्।
२०५८ सालमा पहिलो कृति ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरू’ प्रकाशन गरेका दासको २०६० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरूः एक अध्ययन’ र २०६७ सालमा साझा प्रकाशनबाट ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू’ नामक पुस्तक प्रकाशित छन्।
ऐतिहासिक गढीहरुका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा दासको अध्ययन अनुसन्धान तथा शोधहरू पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा प्रकाशित छन्। कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा दासको ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ।
उनले भारतको पटना युनिभर्सिटीबाट बीए अनर्स तथा त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा एमए उत्तीर्ण गरेका थिए।
पाँच दाजुभाइमध्ये माइला दासले दाजुभाइबीच अंशवण्डा हुँदा बुवाले संग्रह गरेका पुस्तक सम्पत्तिको रुपमा लिएका थिए। पुस्तकलाई नै धन सम्पत्ति सम्झिने दासको घरमा सयौं वर्ष पुराना करिब चार हजार पुस्तक संग्रहीत छन्।
पछिल्लो समय घरमै रहेको पुस्तकालयमा पढेर उनी समय बिताउँथे। जिल्लाको इतिहास, संस्कृति र धार्मिक विषयमा मिहिन ढङ्गबाट अध्ययन अनुसन्धान गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति भएको मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव बताउँछन्।
मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको अध्यक्ष समेत रहिसकेका दासले नेपालको मिथिला भू–भागमा रहेका दर्जनौ ऐतिहासिक स्थल तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण सम्वर्द्धनमा सदैव जोड दिने गरेको चित्रगुप्त सेवा समितिका महासचिव सतिशकुमार दत्तले बताए।