बेनीमा पौडीको आकर्षण
बेनी : गर्मीयाम सुरु भएयता बेनीका किरण कार्कीको फुर्सदको समय स्विमिङ पुलमा पौडी खेलेर बित्ने गरेको छ । सरकारी कार्यालयमा काम गर्ने वारि बेनीका सुभाष भुसाल पनि बिदाको दिन स्विमिङ पुलमा पुग्ने गर्छन् । ‘बेनीको खाल्डोमा गर्मी छल्न मात्र नभएर पौडी खेल्न र शारीरिक स्मृतिका लागि पनि जान्छु,’ कार्कीले भने ‘पहिले पौडिन जानेको थिइन् । नियमित पौडी पोखरी जान थालेपछि सिकेको छु ।’
कार्की र भुसालजस्तै बेनी र आसपासका युवायुवती, प्रौढ र बालबालिकाहरू पछिल्लो समय पौडी खेलप्रति आकर्षित भएका छन् । यसअघि पौडी खेल्न कुश्मा र पोखरा पुग्ने गरेका उनीहरूलाई बजार नजिकै दुईवटा पौडी पोखरी सञ्चालन भएपछि सजिलो भएको छ । रघुगंगा गाउँपालिका–३ घुमाउने ताल र जलजला गाउँपालिकाको लामाखेतमा गत वैशाखदेखि पौडी पोखरी सञ्चालन भएको थियो । पौडी पोखरीको अभावमा म्याग्दी र कालीगण्डकीमा जोखिम मोलेर पौडी खेल्ने गर्दथे ।
नदीमा पौडी खेल्ने क्रममा बर्सेनि दुई÷तीन जनाको डुबेर र बगेर मृत्यु हुने गर्दथ्यो । पौडी पोखरी बनेपछि पौडी खेल्ने सिक्नेहरूको आकर्षण बढेको हो । घुमाउने तालको एचबीसी पौडीका सञ्चालक हरि चन्दले पौडी खेल्न सिक्न आउनेहरू बढ्दै गएको बताए । बेनीको प्रकाश माविका खेल शिक्षक प्रवीण श्रेष्ठले पौडी खेलप्रति रुचि भएकाहरूका लागि मात्र नभएर गर्मी छल्न, बिदा तथा फुर्सदको समय बिताउन पनि पौडी पोखरी भएपछि बजारवासीलाई सहज भएको बताए ।
शारीरिक व्यायाम र स्फुर्तिका लागि पौडी उपयोगी हुने श्रेष्ठले बताए । २८ मिटर लम्बाइ र १० मिटर चौडाइको डेढ सय जना क्षमताको पोखरीमा शनिबार र बिदाको समय भीड लाग्ने गर्छ । युवा तथा प्रौढ सिकारु बनलबालिकाहरूले पौडी खेल्न मिल्ने गरी एउटै पोखरीलाई दुई भागमा विभाजन गरिएको सञ्चालन चन्दले बताए । पाँच वर्ष दक्षिण कोरियामा रोजगारीका क्रममा बिताएका चन्दले करिब ६ रोपनी जग्गामा पौडी पोखरीसहित रिसोर्ट सञ्चालन गरेका हुन् । रिसोर्ट र पौडी पुलमा दुई करोड ४५ लाख रुपैयाँ लगानी भएको छ । १२ जना अन्य र परिवारका ६ जनाले रोजगारी पाएका छन् ।