झापामा पुसदेखि अत्याधुनिक क्यान्सर अस्पताल

झापामा पुसदेखि अत्याधुनिक क्यान्सर अस्पताल

विराटनगर : प्रदेश १ र २ का नागरिकलाई लक्षित गरी झापाको बिर्तामोडमा आगामी पुस महिनादेखि क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ। 

बीएण्डसी अस्पताल मातहतमा रहने सो पुर्वाञ्चल क्यान्सर अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुग्नुको साथै ३ वटा रेडिएसन मेसिन खरिद गरी जडानको प्रक्रियामा रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले बताए। ‘क्यान्सर अस्पताल सञ्चालनका लागि ४५ करोडका तीनवटा मेसिन जडान प्रकृयामा छन्, काम रातदिन नरोकी भइरहेको छ,’ उनले भने। 

दुई वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्माणको काम थालेको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ले पुस महिनादेखि क्यान्सर पीडितलाई सेवा दिन सुरुवात गर्ने डाक्टर यादवको दावी छ। 

अस्पताल सञ्चालनका लागि चार अर्ब लागत खर्च हुने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए। स्वास्थ्य मन्त्रालयबाट ३ सय शैया रहने गरी स्वीकृति पाएको अस्पतालले पहिलो चरणमा एक सय शैयाबाट सेवा सञ्चालन गर्न लागेको उनको भनाइ छ। ‘सुरुवातमा एकसय शैयाबाट सञ्चालन गर्छौँ, हाम्रो लक्ष नेपालका नागरिकले महंगोमा क्यान्सरको उपचार गर्न अन्य देश नजाऊन् भन्ने हो, अस्पताल सुरु भएपछि सबैभन्दा बढी प्रदेश १ र २ का क्यान्सर पीडित लाभदायी हुन्छन्, देशभरकाले उपचार पाऊन् भन्ने उदेश्यले धेरै लगानी गरी सामान खरिद गरिएको हो,’ निर्देशक प्रसाईले भने। 

आफूसमेत क्यान्सर पीडित भएर भारतमा उपचार गराउनु पर्ने बाध्यात्मक परिस्थिति रहेको र यस्तो समस्या अन्य नेपालीले नभोगुन् भनेर चाँडो काम भइरहेको उनले बताए। अस्पतालमा भौतिक संरचना निर्माणको काम डेढ वर्षअघिबाट सुरु भएको थियो।
अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरणहरू जडानको काम भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। 

उनले भने ‘अहिले हामीले ३ वटा रेडिएसन मेसिन भित्र्याइसकेका छौं, अब ३ महिना भित्रमा यो मेसिन जडान गर्छौँ।’ 
प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता रहँदै आएको छ। बिर्तामोडमा अस्पताल सञ्चालनमा आएपछि क्यान्सरको उपचारका लागि भारत जानुपर्ने प्रदेश एक र दुईका बिरामीले राहत महसुस गर्ने कार्यकारी निर्देशक प्रसाईको विश्वास छ। 

पुर्वाञ्चल क्यान्सर अस्पतालले विश्वका नाम चलेका अस्पतालले दिने सेवा नै दिने उनले बताए। पेटसिटी, गामा क्यामेरा, मामोग्राम,  न्याभिगेसन सिस्टम, क्याथ ल्याब, देक्सा स्कान, रेडियो सर्जरी सहितका १० वटा अत्याधुनिक मेसिन यस अस्पतालमा रहने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.