नुहाउन गएका शिक्षक ९ दिनदेखि बेखबर
स्याङ्जा : आमाको श्राद्धको अघिल्लो दिन नुहाउन हिँडेका कुलानन्द पाण्डे ९ दिनदेखि बेखबर छन्। कालीगण्डकी गाउँपालिका – ४ बिर्घा निवासी ५२ वर्षीय कुलानन्द पाण्डे साउन २२ गतेदेखि बेपत्ता भएका वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिए।
आमाको श्राद्ध तिथीको अघिल्लो दिन एकछाकी बस्ने भन्दै पाण्डे घरनजिकै रहेको कालीगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए। बिहानै नुहाउन गएका पाण्डे साँझसम्म घर नफर्केपछि परिवार सहित स्थानीयले खोजी सुरु गरे। खोजीकार्य भए पनि उनलाई हालस्म फेला पार्न सकिएको छैन।
उनले लगाएको कपडा, चप्पल र शुद्ध जल ल्याउनका लागि लगिएको बोतल भने अरुवाघाट किनारमा रहेको ढुंगामाथी फेला परेको छ। स्थानीय र प्रहरी टोलीले खोजी कार्य जारी छ। पोखराबाट झिकाइएको शसस्त्र प्रहरीको गोताखोर टोलीले समेत खोजीरहेको बिर्घा प्रहरी चौकी प्रमुख खड्ग मल्लले जानकारी दिए।
गोताखोरको टोलीले अरुवाघाटदेखि रिडी, रानिघाट हुँदै बारीचौरसम्मको कालीगण्डकी नदिमा खोजेको छ। पाण्डे स्थानीय जनता आधारभूत विद्यालयका स्थायी शिक्षक हुन्।