अरिंगाल
अरिंगालका गोला छन् जताततै
भित्तामा
दलिनमा — वा
छानो मुन्तिर गुज्मुजिएर गुँड बनाएर बसेका छन्,
परजीवी कोखमा राखेर विषमय छन्
संक्रमण र त्रास फैलाउन ढुकेर बसेका छन्।
होसियार वन नत्र तिमी पनि डसिन सक्छौ, थला पर्छौ
अरिंगालसँग अदृश्य शक्ति हुन्छ
गोली जस्तो विषालु खिल
सिउँडोबाट बन्दुक झैं निस्कन्छ र
प्रसारण गर्छ यन्त्रणाका घाउहरू।
जाइलाग्न खप्पिस यो जीवदेखि
धेरै हायलकायल भएका छन्
स्वस्थ मानिसहरू पनि यसको रिसाहा बानीदेखि
डराउँछन्, छेउमै पर्दैनन् — भाग्छन्
अरिंगाल एक्लै चर्दैनन् —हूलका हूल अरिंगालहरू
कहिलेकाहीँ भरिया अरिंगाल भएर
मालिकको आदेशमा निस्कन्छन् र ठुङ्न थाल्छन्
मैले कयौं भरिया अरिंगाल सुँड पसारेर
ठुङ्न उद्यत भएको देखेको छु — अर्थात्
भोकाएको/तिर्खाएको अरिंगाल देखेको छु।
यो पारिस्थिक प्रणालीमा अरिंगालहरू प्राकृतिक रूपमा
उदय हुन्छन् — अनि त्यसै गरी मर्छन् पनि
पर्यावरण सन्तुलनका खातिर होला
अहिले कसैकसैले अरिंगाल पालेको पनि सुन्छु
ती घरपालुवा अरिंगाल मैले देखेको छैन
तर ती पनि उत्तिकै संक्रामक भए
सम्झ्नुस्– तपाईंको खैरियत छैन,
मेरो हैसियत हुने छैन
हामी सबै अरिंगालका बन्दी हुनेछौं
हामी सबै अरिंगालका कैदी हुनेछौं।