चट्याङ लागेर ६१ भेडा मरे
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर ६१ भेडा मरेका छन्। सात कृषकले पालेका भेडा शुक्रबार राति साढे ११ बजे चट्याङ लागेर मरेका हुन्।
चट्याङले भेडा मर्दा करिव १० लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको कृषक राजेश तिलीजाले बताए। सबै भन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन्।
लालबिर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाईजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन्। सबै कृषकका भेडाहरुलाई गोठालाले एउटै खर्कमा राखेका थिए।
घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ। पाउद्धार गाउँदेखि खयर पुग्न करिव बाह्रघण्टा उकालो हिड्नुपर्छ। कृषकहरुले विमा कम्पनीले घुम्ति गोठामा पालेका भेडाको विमा गर्न नमानेको गुनासो गरेका छन्।