बालकथा : नयनको ठूलो परिवार
धेरै दिनपछि बुवा घर आउनुभयो। आमा, नयन र आशा खुसी भए।
रोबोट फर्सीबहादुरले नाच्दै भन्यो, ‘बाबा आउनुभयो।’
भोलिपल्ट नयन बुवासँग घुम्न जान तयार भयो।
फर्सीबहादुरले भन्यो, ‘घुम्न जाने ! घुम्न जाने !’
‘ल ठीक छ, आज म तिमीहरूलाई हाम्रो ठूलो परिवारका सबैसँग भेट गराउँछु’, बुवाले भन्नुभयो।
‘ल अब यात्रा सुरु गरौं। लौ आऊ त घरका सबै आएर लाइन लाग !’, बुवाले लाइन मिलाउँदै भन्नुभयो।
हामी सबैजना लाइनमा उभियौं।
त्यसपछि बुवाले भन्नुभयो, ‘हो यो हाम्रो परिवार हो। म बुवा कृष्णप्रसाद। यिनी आमा शुभद्रा। ऊ छोरो नयन। यिनी छोरी आशा। अनि ऊ हाम्रो फर्सीबहादुर– मेरो कथाको सुपर हिरो। लौ हेर तिमीहरूको घर वरिपरि रूखहरू छन्। कुनै रूख ठूला छन्। कुनै साना छन्। साना रूखबिरुवा हुन्। साना बालबालिका पनि बिरुवाजस्तै हुन्। अनि ठूला रूख हुर्किएका ठूला मान्छेजस्तै हुन्। अग्ला बोटबिरुवालाई रूख भनिन्छ। यी सबै उद्भिवहरू हुन्।’
‘बुवा, उद्भिव भनेको के हो? ’, नयनले सोध्यो।
‘उद्भिव भनेको जमिनमा उम्रने झारपात, वनस्पति र बोटबिरुवा हुन्’, बुवाले भन्नुभयो।
‘हेर, हाम्रो बगैंचामा अहिले फूल फुलेका छन्। पहिला यी साना बिरुवा मैले रोपेको थिएँ’, बुवाले औंलाले देखाउँदै भन्नुभयो।
‘हाम्रो हरिऔनको घरपछाडि नरिवलको रूख छ। म बच्चा हुँदादेखि नै त्यो रूख त्यहीँ छ। मेरो ठूलो दाइ पुरुषोत्तम सानो हुँदा पनि त्यो रूख थियो अरे। त्यो रूख कहिलेदेखि त्यहाँ छ मलाई थाहा छैन। मैले बुवालाई सोधेको थिएँ। उहाँले खै कहिले रोपेँ मलाई सम्झना छैन भन्नुभयो।
हो, हामी मान्छेका केटाकेटी ठूला हुँदै गएझैं रूखबिरुवा, जनावर र चराहरू पनि ठूला हुन्छन्।’
‘बुवा, किन हामी बढ्छौं? ’, आशाले सोधिन्।
‘राम्रो प्रश्न सोध्यौ नानी !’, बुवाले आशालाई ढाप मार्दै भन्नुभयो।
‘हामी मानिस रूखबिरुवा, जनावरहरू, फूलहरू सबै सजीव हुन्। त्यही भएर यी सबै बढ्छन्’, बुवाले भन्नुभयो।
‘सजीव भनेको के हो बुवा? ’, फर्सीबहादुरले बुवाको हात च्याप्प समातेर सोध्यो।
‘सजीव भनेका प्राण भएका प्राणी र वनस्पति हुन्। जसको जीवन हुन्छ। खाना खान्छन् र बढ्छन्’, बुवाले सम्झाउँदै भन्नुभयो।
‘ऐ त्यसो भए हामीले बढ्नलाई खाना खानुपर्ने रहेछ है बुवा? ’, नयनले भन्यो।
बुवाले ‘हो’ भनेर टाउको हल्लाउनुभयो।
नयनले फेरि सोध्यो, ‘बुवा जनावरले त खाएको देखिन्छ। जस्तै गाईले घास खान्छ। बाघले मासु खान्छ। तर फूलको बोट र रूखले के खान्छन्? यिनीहरू के खाएर बढ्छन्? ’
नयनको कुरा सुनेर बुवा फूलबारी छेउमा रहेको बेन्चमा थचक्क बस्नुभयो। हरिऔन बजारमा किनमेल गरिसकेर क्यानखोलातिर फर्किरहेका भोटे दाइहरू भारी बोकेर फटाफट हिँडिरहेका थिए। बुवा उनीहरूलाई हेर्दै एकछिन चुप लाग्नुभयो।
‘भन्नु न बुवा किन चुप लाग्नुभएको? ’ आशाले बुवाको हात समातेर भनी।
बुवाले नयन, आशा र फर्सीबहादुरलाई घरपछाडिको बगैंचामा लिएर जानुभयो। बुवाले फूल रूखबिरुवालाई देखाउँदै भन्नुभयो, ‘यी वनस्पति हुन्। वनस्पतिलाई ठूलो हुन माटो नभई हुँदैन। वनस्पतिलाई हुर्कन घाम नभई हुँदैन। वनस्पतिलाई अग्लो हुन र बढ्न पानी र हावा नभई हुँदैन।’
‘त्यसो भए वनस्पति रूखबिरुवाको खाना माटो, पानी र हावा हुन् बुवा? ’, फर्सीबहादुरले प्वाक्क सोध्यो।
‘हो, जसरी हामी मानिसलाई हुर्कन र बाँच्न ‘खाना’ चाहिन्छ। ‘घर’ चाहिन्छ। ‘हावा’ चाहिन्छ। त्यसरी नै वनस्पतिलाई बाँच्न माटो, हावा, पानी र घाम चाहिन्छ। यिनीहरूले जमिनबाट माटो खान्छन्। हावा हामीलेझैं श्वास फेर्छन्। त्यसपछि जहिले घाम लाग्छ, त्यति बेला हरिया पात यिनीहरूको खानेकुरा बन्छन्। यसरी वनस्पतिले आफ्नो खानेकुरा आफैं तयार गर्छन्’, बुवाले भन्नुभयो।
‘ए त्यसो भए मैले घरभित्र गमलामा रोपेको गुलाबको बोट घाम खान नपाएर बिरामी भएको रहेछ है बुवा? ’, आशाले भनिन्।
‘हो नानी, जसरी हामीलाई खाना बनाउन आगो र भाडा चाहिन्छ। त्यसरी नै घाम र हावा भएन भने बिरुवाले खाना बनाउन सक्दैनन्। अनि खाना नखाएर हामी बिरामी भएझैं बिरुवाहरू पनि घाम र हावा पाएनन् भने सुकेर बिरामी हुन्छन्।’
‘ओहो, त्यसो भए रूखको भान्साघर पात पो रहेछ है ! भनेपछि, ठूलो रूखको भान्साघर त निकै ठूलो पो हुँदो रहेछ है बुवा? ’, नयनले दुवै हात फैलाएर देखाउँदै सोध्यो।
‘हो बाबु, जसरी हाम्रो परिवारमा जति धेरै सदस्य हुन्छन्, हामीलाई त्यति नै धेरै खानेकुरा चाहिन्छ। त्यसरी नै ठूलो रूखलाई पनि त्यति नै धेरै खाना चाहिन्छ। त्यसैले रूख जति धेरै ठूलो हुन्छ। त्यसमा पात पनि त्यति नै धेरै हुन्छन्।’
एकछिन नयनले बारीमा हेरेर केही सोचेजस्तै गरी पक्क पर्यो। फेरि उसले तरकारी बारीको आलीमा उभिएर सोध्यो, ‘बुवा भुइँमुनि फल्ने तरकारीले आफ्नो खाना कसरी बनाउँछ? अनि कसरी खान्छन् बुवा?
‘आलुजस्ता भुइँमुनि फल्ने तरकारीले आफ्नो खानेकुरा जमिनमुनि नै बनाएर राख्छन्। बोटबिरुवा र तरकारीले पनि तिम्रो आमाले ढुकुटीमा अन्न जोगाएर जम्मा पारेर राखेजस्तै गरी खानेकुरा जम्मा पारेर खटाई–खटाई खाने गर्छन्। तिम्रो आमाले पनि खटाई–खटाई अन्न खर्च गर्छिन् नि !’, बुवाले हाँस्दै भन्नुभयो।
‘बुवा भोक लाग्यो, हामी के खाऔं? ’ तीनैजनाले एकै स्वरमा भने।
‘ऊ त्यो आँप टिपेर खाऊ’, बुवाले भन्नुभयो।
‘हेर नानीबाबुहरू, जसरी तिमीले भोक लागेर फल टिपेर खायौ। त्यसरी नै गाईभैंसीले घाँस खान्छन्। अरू शाकाहारी जनावरहरूले पनि हरियो पात र घाँस नै खान्छन्। तर मांसाहरी मासु खाने जनावरहरूले भने मासु खाने गर्छन्। जस्तै— मृगको मासु बाघ र चितुवाले खान्छन्। मृगहरू हरियो घाँस खाएर नै बाँच्छन्। त्यसैले मांसाहारी (मासु खाने प्राणी)लाई पनि बाँच्नका लागि उद्भिवहरू नै चाहिन्छन्।’
‘ए त्यसो भए रूखबिरुवा हरियाली भयो भने मात्र सबैले भोक लागेको बेला खान पाउने रहेछन् है बुवा? ’, नयनले सोध्यो।
‘हो बाबु ! ठीक भन्यौ। हामीले खाने अन्न, सागपात सबै त्यही हरियालीबाटै आउँछ। हरिया पात र हरिया घाँस खाएर नै शाकाहारी जनावरहरू बाँच्छन्। र, त्यो शाकाहारी जनावर खाएर नै मांसाहारी जनावरहरू बाँच्छन्। त्यसैले यो पृथ्वीमा सबै खुसी हुन हरियाली नै चाहिन्छ। यो सबै हाम्रो ठूलो परिवार हो’, बुवाले नानीबाबुहरूलाई हरिऔनको घरपछाडिको बगैंचामा घुमाउँदै भन्नुभयो।
‘हरियाली बचाउन हामीले के गर्नुपर्छ बुवा? ’, आशाले बगैंचाका हरिया बोटहरू हेर्दै सोधिन्।
‘अझ धेरै रूख रोप्नुपर्छ नानी। हामी मानिस पृथ्वीमा भएका प्राणीमध्ये सबैभन्दा बुद्धिमान् प्राणी हौं। पशुहरूले आफ्नो खाना काँचै खाने गर्छन्। अनि वनस्पतिहरूले पनि घाम, पानी र हावाको मद्दतले आफ्नो खाना आफैं बनाएर खाने गर्छन्। हामी मानिस खाना त पकाएर खान सक्छौं तर आफ्नो खाना आफैं बनाउन सक्दैनौं। सागपात, अन्न, वनस्पति र जनावरको मासु खान्छौं। त्यसैले हामीले आफ्नो खाना जोगाइराख्न पनि बढीभन्दा बढी हरियाली बढाउनुपर्छ।’
‘त्यसैले नयन, आशा र फर्सीबहादुरजस्ता सबै केटाकेटीले मनमा यो कुरा राखून्, रूखबिरुवा, अन्नपात र बालीहरूले वातावरण हरियाली बनाउँछन्। हरियाली हेर्दा सुन्दर हुन्छ। मनै लोभ्याउने हुन्छ।
आजैबाट हामी खेतमा धान, गहुँ, मकै रोपौं। करेसाबारीमा तरकारी फलाऔं। वरिपरि रूख रोपौं र जताततै हरियाली बढाऔं। हरियो पृथ्वी हामीले जिउँदै देख्न सक्ने स्वर्ग हो। यो स्वर्गलाई माया गरौं, अझ राम्रो बनाऔं’, बुवाले नयन, आशा र फर्सीबहादुरलाई पालैपालो माया गर्दै भन्नुभयो।
नयन, आशा र फर्सीबहादुर पनि खुसी हुँदै रमाउँदै माटोमा उफ्रिँदै खेल्न थाले।
(महादेव जनता मावि, हरिऔन, सर्लाहीमा २०४७ सालमा अध्ययनरत रहँदा पढेको कथालाई सम्झिएर कथाकारले आफ्नै शैलीमा पुनर्कथन गरेका हुन्। यसमा सम्पादन परामर्श डा. तीर्थबहादुर श्रेष्ठको रहेको छ।)