आयो पप्पी र पट्टु
कमलादेवी गौतम । काठमाडौं : राधा कार्की दुलालको बालकथा संग्रह ‘पप्पी र पट्टु’ पाठकसामु आएको छ। मकालु प्रकाशनले बजारमा ल्याएको यो कृतिमा १३ कथा छन्।
किताबमा विवेकको माया, रानी मौरीको जुक्ति, कमलको सपना, पछुतो, साहसी गायत्री, बुद्धिमती करुणा, रामेको सपना, सुरजको सावधानी, समझदारी, जीवा र बुनु, असल मान्छे, कोपिलाको प्रयास र शीर्ष कथा गरी १३ कथा छन्। यी कथाले बालबालिकामा मनोरञ्जनसँगै सिकाइलाई प्राथमिकता दिएका छन्। मनोविज्ञानलाई आधार बनाएर लेखिएका यी कथाले बालमस्तिष्कमा सकारात्मक सोचको विकास गर्नेछन्।
‘जो अरूको कुभलो चिताउँदैनन्, तिनीहरू आफू पनि बाँच्छन् र अरूलाई पनि बचाउँछन्।’ रानी मौरीको जुक्ति कथामा यस्तै सन्देश दिइएको छ। विवेकको जुक्तिमा भनिएको छ, ‘यो पैसाले औषधि किनेर खाने अनि निको भएर हामीसँगै स्कुल जाने है।’ एउटा बालकले अर्को बालकलाई आफ्नो खर्च कटाएर विद्यालय भर्ना गर्नेदेखि पढ्न प्रेरित गर्नेसम्मको काम गरेको देखाइएको छ। असल मान्छेमा टुहुरी बालिकालाई छोरी बनाएर सहयोग गरेको विषय समेटिएको छ।
ठूला मान्छेले पनि बालबालिकाको संसार बुझ्दैनन्। मान्छेमा संस्कृति, दया र मायाको भावना कम हुँदै गएको छ। हुर्किएर एउटा ठाउँमा पुगेपछि वा पैसा कमाएपछि धेरैले बाल्यकाल बिर्सन्छन्। यस्तै सन्दर्भ पनि कथामा भेटिन्छ। कथामा मिठासपन छ, कथावस्तु सलल बगेको छ। भाषा र शैली पनि मीठो छ। कथाहरू एकपटक पढेर चित्त बुझ्दैन। बालसाहित्यको पहिलो कृति भए पनि कार्कीले आफ्नो बाल्यकाल सम्झिएर सोहीअनुसार विषयलाई ढाल्ने प्रयास गरेकी छन्।
कथाहरूमा प्राणीहरूमा समेत मानवता रहेको देखाइएको छ भने तिनै पात्रमार्फत करुणा भाव व्यक्त गर्दै सहयोगी चरित्र दर्शाइएको छ। पात्रमार्फत मेहनती बन्नुपर्छ, मिचाहा प्रवृत्तिविरुद्ध जाग्नुपर्छ, न्याय र स्वतन्त्रताका लागि लड्नुपर्छ भन्ने विचार दिइएको छ। सकसपूर्ण जीवन यात्रामा कसरी आफूलाई अघि बढाउने भन्ने पनि पाठ सिकाइएको छ। जीवनमा अठोट र साहस आवश्यक हुन्छ र त्यसका लागि कसरी के गर्ने भन्ने पनि जानकारी कथामा दिइएको छ।
कथाहरूमा पात्र बढी संवाद गर्नु आवश्यक हुन्छ। यी कथामा पात्र कम बोलेका छन्। परिवेशलाई अझ परिस्कृत गरेर प्रस्तुत गरेको भए कथा अझ मीठा हुन्थे। कथा छोटा छन् त्यसैले पढ्न सहज हुन्छ तर एउटै संग्रहमा धेरै कथा राखिएकाले बालबालिकालाई बोझ अनुभव हुन सक्छ। तर बालबालिकाको मस्तिष्कमा मानवताको गहिरो संसारबारे समग्रतामा जानकारी गराउनु कृतिको मुख्य सन्देश हो। साथै सम्पूर्ण प्राणी जगत्सँग मान्छेलाई जोड्दै अनेक विषयको ज्ञान दिलाउनु लेखकको क्षमता देखिन्छ।