राति ११ बजे सिंहदरबार छिरेका थिए मृत भेटिएका कर्मचारी
काठमाडौं : सिंहदरबारमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरीले बताएको जानकारी दिए।
राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा करिब केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए।
'साँझ ५:२७ बजे निस्केर पुनः राति ११ बजे छिरेको सीसीटीभी फुटेजमा देखिएको छ', घटनास्थल निरीक्षण गरेर बाहिर निस्कने क्रममा सांसद केसीले प्रहरीलाई उद्धृत गर्दै पत्रकारसँग भने।
मृतक केसी भुईँमा डल्लो परेर लडेको अवस्थामा देखिएको केसीले बताए। टेबलमा केरा र बट्टाहरू देखिएको उनले बताएका छन्।
मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताएका छन्। फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।
आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँणेल पनि भर्खरै घटनास्थल पुगेका छन्। मृतक केसीकी श्रीमतीसहित परिवारका सदस्य पनि घटनास्थल आएका छन्। भर्खरै घटनास्थलमा एम्बुलेन्स आइपुगेको छ।
केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूल्यांकन महाशाखाको सभाहलमा मृत भेटिएका थिए। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।