सिम्रिक एयर १९औँ वर्षमा : चार महिनाभित्र दुई हेलिकप्टर थप्दै
काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक कम्पनी सिम्रिक एयर १९औं वर्षमा प्रवेश गरेको छ । सिम्रिकले आफ्नो यात्राको १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । यो कम्पनीले सफल यात्राको दौरान हेलिकप्टर सेवामा छुट्टै पहिचान बनाएको छ । सिम्रिकले हवाई उद्योगमा करिब दुई दशकको योगदान दिएको र यसको सेवाप्रतिको विश्वासले नै यसलाई स्थापित बनाउन सहयोग पुगिरहेको सिम्रिक एयरका महाप्रबन्धक प्रेम थापाले बताए ।
हेलिकप्टर सेवामा निरन्तरको योगदानले स्थापित कम्पनी बन्न सफल सिम्रिक एयरका मार्केटिङ प्रमुख योगेश सापकोटाले बताए । उनका अनुसार सिम्रिकले हाल पाँचवटा हेलिकप्टरमार्फत सेवा दिइरहेको छ । सिम्रिकसँग एएस ३५० बीथ्रीई नामका चारवटा र बेल ४०५ जीएक्सपी एक हेलिकप्टर छ । हेलिकप्टरमार्फत एयरले उद्दार, पर्यटकीय उडान, दृश्यावलोकन, सामान ढुवानीलगायत क्षेत्रमा योगदान पुर्याइरहेको छ ।
यसले थप सेवा विस्तारका लागि दुईवटा हेलिकप्टर ल्याउने भएको छ । डिसेम्बरभित्र दुईवटा हेलिकप्टर थप गर्ने कम्पनीले जनाएको छ । नयाँ किन्न लागेका दुई हेलिकप्टर बेल ५०५ हुन् । नयाँ दुई हेलिकप्टर थप गरेपछि यो कम्पनीका होलिकप्टर संख्या सात पुग्नेछ ।
सन् २०२० को नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी सिम्रिक एयरले हेलिकप्टर थप गर्न लागेको सापकोटाले जानकारी दिए । उनले भने, ‘सिम्रिक एयरले पर्यटन वर्षमा योगदान दिई सेवामा सहजता प्रदान गर्न हेलिकप्टर थप्ने भएको हो ।’ उनका अनुसार जहाज थप गर्दै जाने र हवाई सुरक्षामा ध्यान दिँदै सशक्त सेवा दिन सधैं प्रतिबद्ध रहेको उल्लेख छ ।
सिम्रिक एयरले १८ औं वार्षिकोत्सवसँगै सगरमाथा मापनको नेपाली टोलीसँग सहकार्य गर्न पाउँदा धन्यवाद दिएको छ । सगरमाथा मापन टोलीलाई हेली सेवा सिम्रिकले दिएको थियो ।
सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलका अनुसार पहिलो पटक नेपालले सर्वोच्च शिखरको उचाइ लिन खोजेको बताए । यसका लागि सिम्रिकले उच्च हिमाली क्षेत्रमा सर्वेक्षणका लागि मापन टोलीलाई साथ दिएको थियो । ६ जनाको टोलीले डेढ महिना लगाएर गरेको उचाइ मापन कार्य सकिएको छ । सगरमाथाको उचाइमा पुगेर टोली फर्किएको भए पनि गुरुत्वाकर्षण तथा जीपीएस तथ्यांक मात्रै संकलन भएको छ । यसको तथ्यांक प्रशोधनकै क्रममा रहेकाले सगरमाथाको उचाइका लागि भने टोलीलाई अझै केही महिना लाग्ने पनि उनले जानकारी दिए ।
मापन टोलीका अनुसार सगरमाथाको उचाइ नाप्ने काम शिखरमा पुगेर फर्किनासाथ हुने होइन । सगरमाथालाई सेन्टर बनाएर हिमाल, पहाड र तराई तीनै क्षेत्रको जमिनको संरचनाको सर्वेक्षण गर्नुपर्छ । त्यसपछि आएको तथ्यांकलाई प्रशोधन गरेर र आवश्यक प्राविधिक प्रक्रियापछि मात्रै सगरमाथाको उचाइ निकाल्न सकिने जानकारी डंगोलले दिए ।