टीकापुरको सद्‍भाव

टीकापुरको सद्‍भाव

थारू समुदायकै भएर होला, धेरैले मलाई प्रश्न गर्छन्, ‘थारूहरू सधैं किन आन्दोलित हुन्छन् ? ’ मेरो सरल जवाफ हुन्छ, ‘थारूहरू आन्दोलित भएका होइनन्। मात्र आफ्नो हक अधिकार मागेका हुन्।’

२०७२ भदौ ७ र ८ गते टीकापुरमा भएको दुःखद घटनाको स्मरणमा सोही मितिमा चार वर्षपछि ३ दिने बृहत् कार्यक्रम आयोजना हुन गइरहेको छ। थरुहटरथारूवान राष्ट्रिय सम्मेलन तयारी समितिले आयोजना गरेको यस कार्यक्रमलाई कतिपयले थारूहरू फेरि बौलाउन थालेको ढोल पिट्न थालेका छन्। सत्तापक्षीय थारू नेताहरू यो सम्मलेनको कुनै औचित्य नरहेको अभिव्यक्ति दिइरहेका छन्। आफ्ना कार्यकर्तालाई कार्यक्रममा नजान उर्दी जारी गरिरहेका छन्। आयोजकहरूले राजपाबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाइको मागलाई पनि मुख्य मुद्दा बनाएका छन्। तर सांसद रेशम स्वयम् कार्यक्रम नभए राम्रो भन्ने पक्षमा छन्। उनलाई लागेको होला, कार्यक्रम बिथोलिए, अनहोनी घटना भए मजस्ता निर्दोष अझ कति थारू जेल पर्ने हुन्। दोस्रो कार्यक्रम सफल भए त्यो क्षेत्रको अगुवाइ अरू कसैको हातमा जाला कि भन्ने पीर पनि होला। त्यसैले त कार्यक्रमको मुखैमा यो कार्यक्रमको कुनै औचित्य नभएको विज्ञप्तिमा उनका बाबु लालवीर चौधरीले पनि हस्ताक्षर गरेका छन्।

लालवीर चौधरी गएको प्रदेशसभा चुनावमा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार थिए तर राजपा उम्मेदवारबाट पराजित भए। लालवीर रानीकुलो जमरा सिँचाइ आयोजनाको उपभोक्ता समितिको अध्यक्ष भएर धेरै वर्ष अगुवाइ गरेका छन्। टीकापुरको दुःखद घटना भएको वर्ष दिनको छेको पारेर यसबारे पुस्तक लेखेर प्रकाशन गर्ने पंक्तिकारले योजना सुनाउँदा उनी निकै डराएका थिए। उनले भनेका थिए, ‘यस्तो मूर्खता नगरौं। टीकापुरको सद्भाव संग्लिएको छैन। तपाईंले लेख्ने किताब थारू समुदायकेन्द्रित हुनेछ, यसले आगोमा घिउ हाल्ने काम गर्ला।’ यो अभिव्यक्ति उनको सातो उडेको प्रमाण थियो। त्यसबेला सद्भाव बढाउन बृहत् अन्तक्रिया कार्यक्रम आयोजना गर्न दिइएको सुझाव पनि उनले निको मानेका थिएनन्।

त्यसो त टीकापुर घटनापछिको चार वर्षपछि भइरहेको यो सम्मेलनलाई थारूहरूको सिंगो छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस) केन्द्रले पनि निको मानेको छैन। चार वर्षअघि टीकापुर आन्दोलनको अगुवाइ गरेको थाकस केन्द्रीय अध्यक्ष धनीराम चौधरीले घटना भएकै बेलुकी बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘आन्दोलनमा घुसपैठ भयो। त्यसैले यो आन्दोलनमा भएको क्षतिको जिम्मा हामी लिँदैनौं।’ संयोगवश दोस्रो कार्यकालका लागि उनै धनीराम चौधरी फेरि थाकसको अध्यक्ष चुनिएका छन्। प्रशासनबाट टीकापुर घटनामा आरोपित उनी अझै पनि फरारको सूचीमा छन्। ‘अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ’ भने झैं चार वर्षअघिकै घटना भयो भने के गर्ने ? यही डरले कार्यक्रमको आयोजना हुनुहुन्न भन्ने अभिव्यक्ति दिन उनले केही पदाधिकारीलाई मनाएका छन्। तर थाकस कैलाली शाखालगायत पदाधिकारी खुलेर कार्यक्रमको दौडधूप गरिरहेका छन्।

थारूहरूले सरकारप्रति अपनत्व महसुस गरेको अनुभूति गर्न सकेनन् भने उनीहरूको पहिचानको लडाइँ दीर्घकालसम्म जान सक्छ।

टीकापुर आन्दोलनको सेफ ल्यान्डिङका लागि पनि यो कार्यक्रम हुन जरुरी थियो। बरु कार्यक्रम ढिलो भयो भन्ने मलाई लाग्छ। आयोजकहरूले कार्यक्रमलाई विद्रोह दिवसको संज्ञा दिएका छन्। विश्लेषक सीएन थारूको बुझाइमा भदौ ७ गते मेमोरी कमजोर हुनेका लागि दुर्घटना हो भने राष्ट्रिय मुक्ति आन्दोलन चाहने क्रान्तिकारी जनसमूहका लागि विद्रोह। सबै विद्रोहले लक्ष्य प्राप्त गरेको इतिहास छैन। त्यसैले त टीकापुरले प्रतिगमन सहेको छैन र भविष्यमा पनि सहने छैन भनेर पुनः एकपटक बोल्ने आँट गरेको हो। तर त्यसको पहल र समन्वय कसरी हुँदै छ भन्ने प्रश्नतर्फ ध्यान जानुपर्छ। त्योभन्दा ठूलो सरोकारको विषय कार्यक्रम आयोजकहरूको आफ्नै भूमिका के हो किटान गर्नु जरुरी छ।

टीकापुर घटनापछि थरुहट पहिचानको आन्दोलन थिलथिलो भएको छ। थरुहट तराई पार्टी खोलेर थरुहट आन्दोलनमा लाग्ने गंगा सत्गौवा थारूहरू नेकपाको सांसद भएर आन्दोलनको ब्याज खाइरहेका छन्। थरुहट तराई पार्टीका वरिष्ठ नेता गोपाल दहित आफ्नै संस्थाले खोलेको युनिक बैंकको सिईओ भएर ब्याजमा रकम लगाइरहेका छन्। टीकापुर घटनालगत्तै मन्त्री बन्ने सौभाग्य पाएका रामजनम चौधरीहरू आफ्नै गाउँ कैलालीको झवहीमा होटल खोलेर रमाइरहेका छन्। मुर्झाएको छ त केवल टीकापुर। यही टीकापुरले मुर्झाएको शिर उठाउन सके बल्ल समग्र थारू पहिचानले अपनत्व महसुुस गर्न सक्ला।

थारू नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी भन्छन्, ‘थारूहरूले चार वर्ष पहिले टीकापुरमा गरेको आन्दोलन पहाडी समुदायको विरुद्धमा थिएन। पछि हुने आन्दोलन पनि उनीहरूको विरुद्धमा हुँदैन। थारू कुनै जातजातिको विरुद्धमा कहिल्यै आन्दोलन गरेनन्, गर्दैनन्।’ उनको बुझाइमा अहिलेको कार्यक्रमले त्यस क्षेत्रको वासिन्दालाई मलमको काम गर्नेछ। त्यसैले, दुःखद टीकापुर घटना भएको चार वर्षपछि भइरहेको बृहत् कार्यक्रमले त्यहाँका स्थानीय थारू समुदाय जति उत्साहित छ, त्योभन्दा बढी उत्साहित छ गैरथारू समुदाय। किनकि घटनापछि टीकापुरको व्यापार व्यासाय अझै पनि फस्टाउन सकेको छैन। एकअर्कालाई शंकाको दृष्टिले हेर्ने नजर अझै पनि छ। कार्यक्रमको पूर्वसन्ध्यामा गैरथारू समुदाय र थारू समुदायले सँगसँगै मिलेर टीकापुर बजारको सरसफाइ गरेका छन्। यो तुष मेटाउन गैरथारू समुदायले कार्यक्रममा उपस्थित थारू पाहुनालाई स्वागत गर्दै पुष्पगुच्छा दिने, पानी ख्वाउनेदेखि बसोवासको समेत व्यवस्था गरेका छन्। निश्चय नै, यस कदमले टीकापुरको सद्भाव संग्लिन केही हदसम्म मद्दत गर्ला। तर यही एक कार्यक्रमले टीकापुरले वास्तविक न्याय पाउने भन्ने देखिन्न।

टीकापुरले वास्तविक न्याय पाउने तब पाउने देखिन्छ, जब यस घटनालाई राजनीतिक रूपले हेरिनेछ। ‘कैलाली, कञ्चनपुरलाई थरुहट जिल्लाबाट अलग नगरियोस्। थरुहट राज्य कायम गर’ भन्ने नारा लेख्न मात्रै उद्यत् रहेका आन्दोलनकारीहरूलाई बिथोलिएपछि टीकापुर घटना भएको थियो। जसमा आठ प्रहरी र एक नबालक मारिएका थिए। यसलाई आपराधिक घटना मानेर रेशम चौधरीलगायतलाई जन्मकैदको सजाय सुनाइएको छ। जबकि उनी घटनामा संग्लग्न भएको ठोस कुनै प्रमाण प्रहरीसँग छैन। ४२ महिना जेल जीवन बिताएर आएका नेता लक्ष्मण थारू निर्दोष भएको सावित गराउन रिट लिएर अदालतको चक्कर काटिरहेका छन्। थाकस अध्यक्ष धनीराम चौधरी लुकेर जीवन गुजारिरहेका छन्। उता घटनाको दोस्रो दिन थारूहरूका घरमा छानीछानी आगजनी गर्नेहरूलाई कुनै कारबाही गरिएको छैन। आखिर यो काखापाखा किन ? यो भेदभावले राष्ट्र हाम्रो हो तर राज्य हाम्रो होइन भन्ने आम थारू समुदायको बुझाइ छ।

टीकापुर घटनाको दुई दिनलगत्तै तत्कालीन नेकपा वैद्य समूहले घटनाको जिम्मेवारी विज्ञप्ति निकालेर लिएको थियो। त्यसैले, थारूहरू आफूहरू निर्दोष भएको जिकिर गरिरहेका छन्। तर आयोजकको नाताले घुसपैठ भए पनि नैतिक जिम्मेवारी आयोजककै हो। छुट्टै मधेसको वकालत गर्ने सीके राउतलाई सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गर्न सक्छ भने टीकापुर घटनालाई पनि राजनीतिक रूपले सेफ ल्यान्डिङ गर्न सक्छ। थारूहरूले कहिल्यै नेपालसँग टुक्रिएको छुट्टै थरुहटको माग गरेका छैनन्। आफ्नो क्लस्टर छिन्नभिन्न नगर्न माग मात्रै अघि सारेका छन्।

थारूहरूले सरकारप्रति अपनत्व महसुस गरेको अनुभूति गर्न सकेनन् भने उनीहरूको पहिचानको लडाइँ दीर्घकालसम्म जान सक्छ। यो राष्ट्रका लागि पनि हितकारी हुने छैन। टीकापुर दुःखद घटना भएको चार वर्षपछि त्यहाँ भइरहेको सम्मेलनले देशप्रति थारूहरूको अगाध माया छ भन्ने सन्देश दिन सकोस्। आपसी विश्वासको वातावरण तयार होस्। टीकापुरका स्थानीयलाई ढिलै भए पनि मलम लगाओस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.